नेपाल एसीसी U-16 च्याम्पियन, क्यानले जनही २० हजार दिने
मलेसियालाई ३२ रनले पराजित गर्दै नेपाल पहिलो पटक एसीसी U-16 प्रिमियर लिग क्रिकेटको च्याम्पियन बनेको छ । नेपालले यसअघि सन् २०१० र २०१२ को एसीसी U-16 इलाइट कपको उपविजेतामा चित्त बुझाएको थियो । यो जीतसँगै टेस्ट राष्ट्र सहभागी नभएको एसीसीद्वारा आयोजीत सबै उमेर समूहको प्रतियोगिता जित्ने नेपाल एक मात्र टोली बनेको छ । टस हारेर व्याटिङ गरेको नेपालले प्रस्तुत गरेको १ सय ६२ रनको लक्ष्य पछ्याएको मलेसिया ३६ ओभर २ बलमा १ सय २९ रन बनाउँदै अलआउट भयो । नेपालका जितेन्द्र सिंह ठकुरीले २ तथा रिजन ढकाल, आशिष पोखरेल, अनिल खरेल र सुमित महर्जनले १/१ विकेट लिए । मलेसियाका ३ ब्याट्स्म्यान रनआउट भए । अघिल्ला खेलमा आक्रामक प्रदर्शन गर्दै आएका मलेसियाका विरनद्वप सिंह आज ५ रनमा रनआउट भए । मुहम्मद हरिसले ३४ रन जोड्नु बाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । यसअघि शुरुवाती इनिङ कमजोर देखिएपनि मध्यक्रमका व्याट्सम्यानले नेपाललाई सम्मानजनक योगफल दिलाएका हुन् । नेपालले पछिल्लो २० ओभरमा १ सय ५ रन जोडेको थियो । ३० ओभरमा ६ विकेट गुमाएर ९३ रन मात्र रहेको स्थितिलाई पवन शर्राफले उकासे । शर्राफले ४४ तथा रवि चन्दले ३४ रनको योगदान दिए । शर्राफ म्यान अफ द म्याच घोषित भए । नेपालका जितेन्द्र सिंह ठकुरी बलर अफ द टुर्नामेन्ट र अनिल खरेल मस्ट प्रमिसिङ्ग प्लेयर भए । मलेसियाका विरनद्विप सिंह व्याट्स्म्यान अफ द टुर्नामेन्ट भए । यसैबीच नेपाल क्रिकेट संघ क्यानले नेपाली टोलीका सबै सदस्यलाई २० हजार रुपैँया प्रोत्साहन स्वरुप प्रदान गर्ने घोषणा गरेको छ । टोली मलेसियन ऐयरलाइनबाट भोली स्वेदश फर्किँदैछ ।
Comments
Post a Comment