महिला क्रिकेटरलाई वैदेशिक प्रशिक्षणको अवसर

नेपाली महिला क्रिकेट टोलीका तीनजना खेलाडीले भारतमा प्रशिक्षण लिने अवसर पाउने भएका छन्। सोनु खड्का, सरस्वती चौधरी, सीता राना मगरले भारतको हैदराबादमा करिब तीन साता लामो प्रशिक्षण लिने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।
एसियाली क्रिकेट काउन्सिल (एसीसी) को महिला विकास कार्यक्रमअन्तर्गत नेपाली महिला क्रिकेटले यो अवसर पाएका हुन्। प्रशिक्षण अगस्त २ देखि २० तारिखसम्म सञ्‍चालन हुनेछ। प्रशिक्षणमा नेपालका अतिरिक्त चीन, थाइल्यान्ड र हङकङका खेलाडी पनि सहभागी हुनेछन्।
विभिन्‍न राष्ट्रका राम्रा खेलाडीलाई एसीसी आफैंले मनोनयन गरी यो प्रशिक्षणमा सहभागी गराउन लागेको क्यानले जनाएको छ। उनीहरूलाई एसीसीका अनुभवी प्रशिक्षकहरूले प्रशिक्षण दिनेछन्। प्रशिक्षणमा सहभागी हुन नेपालका तीनैजना खेलाडी शुक्रबार साँझ त्यसतर्फ प्रस्थान गर्दै छन्।
यसअघि नेपालका रुबिना क्षेत्री र रोशनी बोहराले पनि यही कार्यक्रमअन्तर्गत श्रीलंकामा केही साता प्रशिक्षण लिएका थिए। १७ औं एसियाली खेलकुद (एसियाड) का लागि सरस्वती, सीता र सोनु तीनैजना राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा परेका छन्। यी तीनैजना खेलाडी बलिङ र ब्याटिङ दुबै राम्रोसँग गर्न सक्छन्। करिब डेढ महिनापछि हुने एसियाडका लागि क्रिकेट टोलीको बन्द प्रशिक्षण भने सुरु भइसकेको छैन।
घरेलु क्रिकेटमा सरस्वती क्षेत्र नम्बर सात जनकपुरधामबाट खेल्छिन् भने सीता र सोनु सशस्त्र प्रहरी बलको एपीएफ क्लबमा आबद्ध छन्। नेपालले सन् २००७ देखि अन्तर्राष्ट्रिय महिला क्रिकेट खेल्न थालेयता सीता नियमित रूपमा टोलीमा रहँदै आएकी छन्। सोनु त्यसको केही समयपछि यु-१९ हुँदै राष्ट्रिय टोलीमा परेकी हुन्। सरस्वती भने सन् २०१२ मा आयोजित एसीसी यु-१९ च्याम्पियन्ससिप हुँदा राष्ट्रिय टोलीमा प्रवेश गरेकी हुन्।
नेपाली महिला क्रिकेटले तीनपटक एसीसी यु-१९ च्याम्पियनसिप जिते पनि सिनियर अन्तर्राष्ट्रिय प्रतियोगितामा भने उपाधि जित्‍न सकेको छैन। सन् २००७ मा आयोजना भएको एसीसी च्याम्पियनसिपमा नेपाल फाइनलमा पुगेको थियो। त्यसयता सिनियर महिला क्रिकेटमा नेपालको प्रदर्शन खस्कँदै गएको छ। गत फेब्रुअरीमा भएको एसीसी प्रिमियर लिगमा सहभागी ६ टोलीमध्ये नेपाल चौथो भएको थियो।

Comments

Popular Posts