ठूलै लक्ष्यमा युवा टोली

कमल खत्री
उमेर समूहमा नेपाली फुटबलबाट धेरै आशा गर्न सकिन्छ। राष्ट्रिय यु–१६ टोलीका कप्तान विमल घर्तीमगर बेल्जियमको एन्डरलेक एकेडेमीसँग आबद्ध हुनुले नेपाली युवा फुटबलको सम्भावना प्रमाणित गर्छ। उनै विमलको कप्तानीमा गत वर्ष युवा टोलीले एएफसी यु–१६ च्याम्पियनसिपको छनोट चरण पार गरेको थियो। भदौको अन्तबाट थाइल्यान्डमा हुने प्रतियोगितालाई छनोट हुने नेपाल दक्षिण एसियाको एक्लो प्रतिनिधि राष्ट्र हो।
युथ टोली अहिले थाइल्यान्ड यात्रालाई युद्धस्तरको तयारीमा जुटेको छ। तर विमल टोलीसँग छैनन्। उनी आफ्नो क्लब प्रशिक्षण तथा उमेर समूहका प्रतियोगिता खेल्न एन्डरलेकमा छन्। 
उनीसहितको नेपाली टोली भर्खरै दक्षिण कोरियामा दुई साता विशेष प्रशिक्षण तथा अभ्यास खेल खेलेर फर्किएको हो। फेरि टोली एएफसी यु–१६ को विशेष तयारीलाई आज बुधबार बेल्जियम उड्दैछ। 
टोलीका प्रशिक्षक बालगोपाल महर्जन यसपालि युवा टोलीको तयारीबाट निकै आशावादी छन्। भन्छन्, ‘अर्को वर्ष हुने यु–१७ विश्वकपलाई छनोट हुनु हाम्रो लक्ष्य हो।'
भदौ २१ बाट एएफसी यु–१६ च्याम्पियनसिपको सेमिफाइनल पुग्ने चार टोली एसियाको प्रतिनिधित्व गर्दै अर्को वर्ष यु–१७ विश्वकप खेल्न पुग्ने छन्। त्यसैले पनि नेपाल एएफसीको अन्तिम चारमा पर्ने अभियानमा छ। 
टोलीका व्यवस्थापक दिनेश व्यञ्जनकारले बेल्जियम भ्रमणको तयारी पूरा भएको नागरिकलाई बताए। ‘सबै प्रक्रिया सकिसकेको छ। जाने दिनको पनि टुंगो भइसक्यो, सम्भवत बुधबार जान्छौं होला,' उनले भने, ‘त्यहाँ गएर हाम्रो टोलीले विशेष खालको अभ्यास गर्नुका साथै स्थानीय टोलीसँग केही अभ्यास खेल खेल्नेछ।'
प्रशिक्षक महर्जनले तयारी उत्कृष्ट ढंगले अगाडि बढिरहेको बताउँदै भने, ‘कोरिया भ्रमणबाट खेलाडीको मनोबल बढेको छ। त्यहाँ हामीले थुप्रै पक्ष सुधार्नुपर्ने कमजोरी थाहा पायौं। प्रशिक्षणमा खेलाडीले गरेको मिहिनेत र लगावका कारण हामी एएफसी यु–१६ को सेमिफाइनल पुग्नेमा विश्वस्त छौं।' 
दक्षिण कोरिया यात्राका बेला घाइते स्ट्राइकर अञ्जन विष्ट खेलमा फर्किसकेको महर्जनले बताए। युवा टोलीले कोरियामा कोरिया यु–१७ टोली र दुई स्कुल टोलीसँग मैत्री खेल खेलेको थियो। प्रशिक्षक महर्जन विमलजस्ता खेलाडी हुनुले टोलीको मनोबल बढेको बताउँछन्। ‘विमल युवा टोलीका कप्तानमात्र नभई राष्ट्रिय टोलीका स्ट्राइकर पनि हुन्। एएफसी च्याम्पियनसिपअघि विमलले पाइरहेको वैदेशिक प्रशिक्षणले हामीलाई फाइदा पुग्नेछ,' प्रशिक्षक महर्जनले भने, ‘उनले विदेशमा राम्रो क्लबमा प्रशिक्षण गर्ने र खेल्ने मौका पाएका छन्। त्यसैले उनको अनुभव र खेल्ने क्षमतामा सुधार हुन्छ। बेल्जियममा प्राप्त अनुभवले उनलाई टोलीको नेतृत्व गर्न तथा आफैले राम्रो प्रदर्शन गर्न सहयोग गर्नेछ।'
असोज ४ सम्म थाइल्यान्डको राजधानी बंैककमा हुने एएफसी च्याम्पियनसिपअन्तर्गत समूह ‘सी' मा रहेको नेपालले साविक विजेता उज्वेकिस्तानसहित पूर्वविजेता उत्तर कोरिया र कुवेतसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। नेपालको पहिलो खेल उज्वेकिस्तानसँग छ। उज्वेक टोलीले दुई वर्षअघि इरानमा जापानलाई पेनाल्टी सुटआउटमा ३–१ ले हराउँदै उपाधि जितेको थियो।
नेपालले भदौ २४ मा कुवेतसँग दोस्रो तथा दुई दिनपछि उत्तर कोरियासँग अन्तिम खेल खेल्नेछ। उत्तर कोरिया चार वर्षअघिको च्याम्पियन टोली हो। 
असोजमा काठमाडौंमा सम्पन्न समूह ‘सी' को छनोट चरणमा विजेता बन्दै नेपाल एएफसी यु–१६ च्याम्पियनसिपलाई छानिएको हो। नेपालले समूह चरणमा २ जित र १ बराबरी खेल्दै ७ अंक जोडेको थियो। घरेलु भूमि दशरथ रंगशालामा बहराइनलाई २–० तथा तुर्कमिनिस्तानलाई ४–० ले हराएको नेपाली टोलीले इराकसँग २–२ को बराबरी खेलेको थियो। 

Comments

Popular Posts