लिभरपुलसँग हार्‍यो म्यान सिटी

इन्टरनेसनल च्याम्पियन्स कप फुटबलको बुधबार राति भएको खेलमा इङलिस प्रिमियर लिग क्लब लिभरपुलले आफ्नै राष्ट्रको म्यानचेस्टर सिटीलाई टाइब्रेकरमा ५-३ गोलले पराजित गरेको छ। निर्धारित समयको खेल २-२ गोलको बराबरीमा सकिएपछि हारजितको निर्णय पेनाल्टी सुटआउटबाट निकालिएको थियो।

पेनाल्टी सुटआउटमा म्यान सिटीका अलेक्जेन्डर कोलारोभ, याया टुरे र जिसस नाभासले गोल गर्न सकेनन्। म्यान सिटीका सुरुका तीनवटा पेनाल्टी प्रहार असफल भएपछि चौथो प्रहार गर्न आएका केलेची इहिनेचोले भने गोल गरे। लिभरपुलका लागि सुरुआती प्रहार गरेका ड्यानियल स्टुरिज चुके, तर त्यसपछि इम्रे कान, जोर्डन हेन्डर्सन र लुकास लेइभाले गोल गरे। लुकासले गरेको चौथो प्रहार गोल भएपछि लिभरपुलको जित निश्चित भएको थियो।
यसअघि निर्धारित समयको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा भने म्यान सिटीले सुरुआती अग्रता लियो। स्टेभन जोभेटिकले ५३ औं मिनेटमा गोल गरेका थिए। हेन्डर्सनले ५९ औं मिनेटमा खेल बराबरीमा ल्याएका थिए। ६८ औं मिनेटमा जोभेटिकले पुन: गोल गरेपछि म्यान सिटीले अग्रता लियो। रहिम स्टर्लिङले ८५ औं मिनेटमा गोल गर्दै खेललाई पुन: बराबरीमा ल्याए।

करिब ५० हजार दर्शकको उपस्थितिमा खेलिएको उक्त खेलमा अधिकांश समर्थक लिभरपुलका थिए। समूह 'बी' मा लिभरपुलले खेलेका दुवै खेल जितेको छ। म्यान सिटीले दुई खेलमा पहिलो पराजय बेहोरेको हो। म्यान सिटीले गत सिजन घरेलु लिग उपाधि जितेको थियो। समूहको पहिलो खेलमा लिभरपुलले ओलम्यिाकस र म्म्यान सिटीले एसी मिलानलाई हराएका थिए।

यसैबीच युरोपियन लिगको नयाँ सिजनको तयारीका क्रममा खेलिएको मैत्रीपूर्ण खेलमा इटालियन सिरिए विजेता युभेन्ट्स तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी सेसनासँग गोलरहित बराबरीमा रोकिएको छ। स्पेनिस लिग विजेता एट्लेटिको म्याड्रिड पनि सीएफ अमेरिकासँग गोलरहित बराबरीमा रोकियो। इङलिस क्लब एस्टन भिल्ला भने चेस्टरफिल्डसँग ३-१ गोलले पराजित भयो। इटालियन सिरिए क्लब फियोरेन्टिना पाल्मेइरासँग २-१ ले पराजित भयो।

Comments

Popular Posts