ब्याडमिन्टनबाटै सफलता र संगिनी

एक दिन पिकनिक जाँदा गाडीमा बिरामी भएर रेखा आफ्नो काखमा टाउको राखेर सुतेपछि रामजीलाई 'म तिमीलाई प्रेम गर्छु' भन्ने आँट बढेर आएछ। 'तर जिस्कने बानीले गर्दा कसैले पनि सितिमिति मैले भनेको पत्याउँदैनथे। त्यसैले मेरो जिस्कने बानी नै मेरो प्रेम प्रस्तावमा बाधा बनेर उभियो', रेखासँग प्रेम प्रस्ताव राख्दाको क्षण सम्झन्छन् रामजी। त्यसपछि उनले एउटा पार्टीमा बियर खाएर प्रेम प्रस्ताव राख्‍ने योजना बनाए छन्। रामजी श्रेष्ठ एकताका नेपाली खेलकुद वृत्तमा काठमाडौंको डिल्लीबजार ब्याडमिन्टनको 'पावर हाउस' का रूपमा परिचित थियो। राष्ट्रियस्तरमा प्रभाव जमाउने अधिकांश खेलाडी यहीका उत्पादन हुन्थे। किशोरबहादुर सिंहदेखि पुरु षोत्तम केसी, ज्ञानबहादुर खड्का, दिलेन्द्रवीर पाण्डेलगातका खेलाडीले डिल्लीबजारलाई ब्याडमिन्टनको 'हब' का रूपमा स्थापित गराएका थिए। डिल्लीबजारको विजय मेमोरियल मावि पनि ब्याडमिन्टन खेलाडीका कारण निकै चर्चित थियो। यही स्कुलमा पढेका रामजी श्रेष्ठले एक समय नेपाली ब्याडमिन्टनमा बलियो प्रभाव जमाएका थिए।
'म खेलकुद मन पराउने भएकाले यहाँको वातावरणबाट अलग हुन सकिनँ। साथीसंगत र चर्चाका कारण ब्याडमिन्टन मेरो पहिलो रोजाइको खेल बन्यो', रामजी भन्छन्। रामजी तीनपटक राष्ट्रिय विजेता बने र थुप्रैपटक अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व पनि गरे। रामजीले बाल्यकालमा फुटबल पनि खेले। डिल्लीबजारमा ब्याडमिन्टनको चर्चा र ब्याडमिन्टन खेल्ने साथीसँगको संगतले उनी पनि नजानिँदो तरिकाले यो खेलप्रति तानिदै गए। 'अरूले उपाधि जितेको देखेर विस्तारै मलाई पनि डाहा लाग्न थालेको थियो। त्यसैले एकपटक राष्ट्रिय विजेता बनेर सबैलाई देखाइदिने मेरो महत्त्वाकांक्षा बढ्यो', हाल नेपाल ब्याडमिन्टन संघका महासचिव रहेका रामजी ती दिन कोट्याउँछन्।
सुरुसुरुमा उनले बाल दिवसको अवसरमा हुने ब्याडमिन्टन प्रतियोगितामा उपाधि जित्दै गए। यसबीचमा उनी नेपालगन्जमा भएको राष्ट्रियस्तरको प्रतियोगितामा यु-१४ स्पर्धाको क्वार्टरफाइनलसम्म पुगे। श्रीलंकामा भएको मैत्रीपूर्ण खेलमा यु-१५ स्पर्धाको विजेता बने। तीनपटक जुनियर राष्ट्रिय च्याम्पियन यु-१८ को विजेता पनि बने। यसरी एकपछि अर्को सफलताको सिँढी चढ्दै उनी राष्ट्रिय ब्याडमिन्टनमा उदीयमान खेलाडीका रूपमा स्थापित हुन पुगे। विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभवले सिनियर ब्याडमिन्टनमा पनि रामजीलाई राम्रो खेलाडीको रूपमा तयार गर्दै थियो। 
यसैबीच २०३८ सालमा आयोजित राष्ट्रिय प्रतियोगिताको सिनियर स्पर्धामा रामजी क्वार्टरफाइनलसम्म पुगे। क्वार्टरफाइनलमा पराजित भए पनि उनी आत्तिएनन् बरु उत्साहित नै भए। 'त्यतिबेला ब्याडमिन्टनमा यति प्रतिस्पर्धा थियो कि क्वार्टरफाइनलसम्म पुग्नु पनि ठूलो सफलता मानिन्थ्यो। अझ म त सिनियर प्रतियोगितामा भर्खर बामे सर्दै थिएँ', रामजी भन्छन्।
यसैक्रममा भारतको दिल्लीमा एसियाली खेलकुद हुने भयो। त्यसको तयारीका लागि वैदेशिक प्रशिक्षण लिन उनलाई चीन पठाइयो। रामजी यो अवसरलाई आफ्नो खेल जीवनकै 'टर्निङ प्वाइन्ट' मान्छन्। 'चीनमा लिएको प्रशिक्षणले मेरो खेल्ने शैली, आत्मविश्वास र प्राविधिक ज्ञानमा निकै सुधार ल्यायो', उनको ठम्याइ छ। चीनबाट फर्किएपछि २०४२ सालमा भएको थोमस कपमा उनी थाइल्यान्डका नम्बर दुई खेलाडीसँग जित नजिक पुगेर पराजित भए। त्यसको एक वर्षपछि नै उनी राष्ट्रिय विजेता बने। फाइनलमा डिल्लीबजारकै नरेशबहादुर सिंहलाई हराएर विजेता भएको क्षण रामजी कहिल्यै भुल्न सक्दैनन् रे।
'यो मेरो बाल्यकालदेखिको सपना पूरा भएको क्षण थियो। खेल सकिएपछि मैले सबैलाई धन्यवाद दिइरहेको थिएँ, विशेष गरी भगवानलाई। खेल्नुअघि पनि म हरेकपटक भगवानसँग प्राथर्ना गर्थें', उनी भन्छन्। त्यसअघि उनी राष्ट्रिय च्याम्पियनसिपमा दुईपटक फाइनलमा पराजित भएकाले थिए। उनी राष्ट्रिय च्याम्पियन त भए, तर त्यो सफलतालाई निरन्तरता दिनु सजिलो थिएन। त्यसैले त एक वर्षपछि आयोजना भएको अर्को संस्करणमा उनी सेमिफाइनलभन्दा अगाडि बढ्न सकेनन्। उनी सेमिफाइनलमा प्रकाश राणासँग पराजित भए। 'त्यो पराजयले मलाई नराम्ररी बिथोल्यो। सफलताको शिखरमा पुगेको खेलाडीलाई एक्कासि तल झर्दा कुन हदसम्म चोट पुग्छ भन्ने कुरा त्यो हारपछि मैले थाहा पाएँ', रामजी भन्छन्।
त्यो हारेपछि उनी दिनरात नभनी कडा प्रशिक्षणमा होमिए। अभ्यासका क्रममा एकातिर दुईतीनजना खेलाडीलाई राख्थे भने अर्कोतिर उनी एक्लै भएर खेल्थे, तर प्रजातान्त्रिक आन्दोलनका कारण २०४७ सालसम्म राष्ट्रिय प्रतियोगिता हुन सकेन। त्यसपछि २०४८ सालमा भएको राष्ट्रिय प्रतियोगितामा रामजीले सानदार पुनरागमन गर्दै प्रकाश राणालाई नै हराएर उपाधि जिते अनि दोस्रोपटक राष्ट्रिय च्याम्पियन बने। त्यसपछि दुई वर्ष फेरि राष्ट्रिय प्रतियोगिता अवरुद्व भयो। अनि २०५१ सालमा पुन: उपाधि जोगाउँदै उनले राष्ट्रिय च्याम्पियनसिपमा ह्याट्रिक गरे। तेस्रोपटक उपाधि जित्ने क्रममा उनले फाइनलमा सुदीप योन्जनलाई हराएका थिए।
त्यसपछि भने उनले सक्रिय खेलजीवनबाट संन्यास लिए। 'लगातार राष्ट्रिय प्रतियोगिता भइदिएको भए मैले धेरैपटक उपाधि जित्ने कीर्तिमान बनाउन सक्थें होला', रामजीलाई अहिले पनि यो कुराको थकथकी छ। खेल जीवनबाट संन्यास लिनुअघि उनले ब्याडमिन्टनबाटै रेखा मल्होत्रालाई पनि जीवन संगिनीका रूपमा पाइसकेका थिए। दिदी रक्षा मल्होत्राले खेलेको हेर्न रंगशाला जाने क्रममा रेखालाई पनि ब्याडमिन्टनले तानेको रहेछ। त्यसैले एसएलसी दिएपछि रेखा पनि प्रशिक्षण गर्न दिनहुँ रंगशाला जान थालिन्।
'रामजी मभन्दा सिनियर हुनुहुन्थ्यो, स्वभावले रमाइला पनि। उहाँ आफूसँगैका र जुनियरलाई जिस्काएर हैरान पार्नुहुन्थ्यो। साथीहरू पनि उहाँको कुरालाई ठट्टा सम्झेर टारिदिन्थे। मलाई पनि यो बानी परिसकेको थियो', रामजीसँग भेट हुँदाका सुरुआती दिन स झँदै भन्छिन् रेखा, 'खेलाडीलाई एकअर्कासँग जोड्ने, केटीहरूलाई जिस्काएर दिक्क बनाउने उहाँको स्वभाव नै थियो।'
त्यतिबेलाकी हिन्दी सिनेमाकी चर्चित नायिका अनिताराज भन्थे रे, रामजीले रेखालाई। 'सबैलाई जिस्काउने बानी भए पनि मेरो रेखाप्रति एक प्रकारको आकर्षण थियो', रामजी भन्छन्। तर लिंकन स्कुलमा जागिर पाएपछि रेखा एकाएक रंगशाला आउन छाडिन्। दुई तीन वर्षपछि फेरि रेखालाई रंगशाला धाउने सुर चढ्यो, समय बिताउन। प्रशिक्षण सकेपछि साँझ रेखा रामजीकै बाइकमा चढेर घर पुग्थिन्। 'यसबीचमा हाम्रो प्रेम पनि नजानिँदो किसिमले झाँगिदै गएको थियो, तर हामीले यस विषयमा एकअर्कासँग मुख खोल्न भने सकेका थिएनौं', अहिले पनि ती क्षण सम्झँदा लजालु बन्छन् रामजी।
एक दिन पिकनिक जाँदा गाडीमा बिरामी भएर रेखा आफ्नो काखमा टाउको राखेर सुतेपछि रामजीलाई 'म तिमीलाई प्रेम गर्छु' भन्ने आँट बढेर आएछ। 'तर जिस्कने बानीले गर्दा कसैले पनि सितिमिति मैले भनेको पत्याउँदैनथे। त्यसैले मेरो जिस्कने बानी नै मेरो प्रेम प्रस्तावमा बाधा बनेर उभियो', रेखासँग प्रेम प्रस्ताव राख्दाको क्षण सम्झन्छन् रामजी। त्यसपछि उनले एउटा पार्टीमा बियर खाएर प्रेम प्रस्ताव राख्ने योजना बनाए छन्। 'उहाँको जिस्कने बानी भए पनि मातेका मान्छेले सही कुरा बोल्छ भन्ने सुनेकी थिएँ। त्यसैले मैले उहाँको प्रस्तावलाई गम्भीर रूपमा लिएँ', विगत सम्झन रेखाले रामजीलाई साथ दिइन्। रामजीले प्रस्ताव गरेको करिब दुई वर्षपछि यी दुईको बिहे भयो। अहिले रामजी र रेखाका एक छोरा र एक छोरी छन्।
रामजी अन्नपूर्णले सुरुआत गरेको कर्पोरेट ब्याडमिन्टनले खेलाडीमा ऊर्जा बढेको बताउँछन्। 'यो प्रतियोगिताले कर्पोरेट हाउस र ब्याडमिन्टनलाई जोड्ने काम गरेको छ। ब्याडमिन्टन खेलको विकासमा कर्पोरेट हाउसलाई जोड्न सक्यो भने त्यो समग्र नेपाली खेलकुदकै लागि उपलब्धिमूलक हुनेछ', उनी भन्छन्।

Comments

Popular Posts