एथलेटिक्स उत्कृष्ट लयमा

२०६९ यता एथलेटिक्समा १८ पल्ट राष्ट्रिय कीर्तिमान तोडिएका छन्। नेपाली एथलेटिक्सले यति छोटो अवधिमा गरेको सबैभन्दा राम्रो सुधार यही हो। ११ स्पर्धामा बनेका ती कीर्तिमानमा ११ खेलाडीको योगदान छ। त्यसमध्ये ११ पल्टका कीर्तिमानी चारसहित नौ खेलाडी अहिले असोजमा दक्षिण कोरियाको इन्चोनमा हुने १७ औं एसियाली खेलकुदको तयारीमा व्यस्त छन्। त्यसमध्ये ५ खेलाडीको नाउँमा कीर्तिमान छ। उनीहरूसहित सबै खेलाडीले एसियाडमा एउटै योजना बनाएका छन्, राष्ट्रिय कीर्तिमान तोड्ने।
सहभागी १५ स्पर्धामै नयाँ कीर्तिमान सम्भव नहोला। तर, मुख्य प्रशिक्षक सुशीलनरसिंह राणाले ६ खेलाडीले ७ स्पर्धामा कीर्तिमान तोड्ने अपेक्षा गरेका छन्। त्यसैका लागि ५४ दिने विशेष योजनासहित अभ्यास गराइरहेका उनले भने, 'चीन, जापान, कोरियादेखि भारत र श्रीलंकन चुनौती पन्छाएर एसियाडमा पदक जित्छौं भन्नु महत्त्वाकांक्षी हुन्छ। त्यसैले हालको प्रदर्शन सुधार गरेर दक्षिण एसियाली खेलाडीहरूमध्ये सबैभन्दा अगाडि हुने मुख्य लक्ष्य छ।'
एसियाड अनुभवले आउने दक्षिण एसियाली खेलकुद (साग) मा लक्ष्य र सम्भावना निर्धारण गर्न सकिने उनले बताए। सन् १९९९ मा काठमाडौंमा भएको आठौं दक्षिण एसियाली खेलकुदपछि नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको सबैभन्दा राम्रो तयारी १७ औं एसियाड नै हो। किनभने राष्ट्रिय टिम तयारीमा रहेर दर्जन खेलका १ सय बढी खेलाडीले दुई वर्षयता निरन्तर प्रशिक्षण गरिरहेका छन्। त्यसैमा रहेका एथलेटिक्सका १२ मध्ये उत्कृष्ट नौ खेलाडीलाई एसियाडका लागि छनोट गरिएको मुख्य प्रशिक्षक राणाले बताए।
म्याराथनलगायत लामो दूरीमा ओरालो लागेको प्रदर्शनको कारण एसियाडको एथलेटिक्समा नेपालको मुख्य आकर्षण स्पि्रन्टमा हुनेछ। दशरथ रंगशालाको ट्रयाकमा निकै तेज देखिएका यमसजन सुनार, तिलकराम थारू र दिलमाया कार्कीमा ध्यान केन्दि्रत छ। चार महिनाबीच १ सय मिटरमा दुईपल्ट कीर्तिमान बनाएका यमसजन सुनारले १० दशमलव ३ सेकेन्डभन्दा कम समयमा दौड पूरा गर्ने योजना बनाएका छन्।
त्यस्तै, २ सय मिटरका सबैभन्दा तेज धावक तिलकराम थारू, १५ सय मिटरमा हरि रिमाल, १० हजार मिटरमा गोपीचन्द्र पार्कीले करिअरकै उत्कृष्ट प्रदर्शन गर्ने आस गरेका छन्। यमसजनलाई २ सय र तिलकलाई ४ सय मिटरमा कीर्तिमानको दाबेदार मानिएको छ। दौडमा महिलातर्फ दिलमाया कार्कीले ४ सय मिटर र कान्छीमाया कोजूले ५ हजार र १० हजार मिटरको आ-आफ्ना कीर्तिमान सुधार गर्ने अपेक्षा गरिएको छ।
केशरी चौधरीले लङजम्प र टि्रपलजम्पको कीर्तिमान सुधार्ने आस गरेकी छन्। मुक्तिबहादुर खड्का र कृष्णबहादुर बस्नेतले पनि
आ-आफ्नो 'टाइमिङ' छोट्याउने लक्ष्य राखेका छन्। यामसजन र दिलमाया चोटमुक्त भई फर्केसँगै सबै खेलाडी शारीरिक रूपमा फिट भएको राणाले बताए। असारमा भएको ९१ औं मलेसियन ओपन एथलेटिक्स च्याम्पियनसिपमा ३ स्वर्ण, ३ रजत र २ कांस्यपदक जितेकाले पनि एसियाडमा नेपाली एथलेटिक्स टोली उत्साहित छ।
यमसजन र तिलक अनुपस्थित मलेसियन ओपनमा हरिले ५ हजार र १० हजार मिटरमा स्वर्ण जितेका थिए। कान्छीमायाले १० हजारमा स्वर्ण र ५ हजारमा रजत हात पारेकी थिइन्। पार्कीले १५ सय र ५ हजार मिटरमा रजत तथा मुक्तिले ८ सय र केशरीले टि्रपलजम्पबाट कांस्य भित्र्याएका थिए। 'ती पदक दुई वर्षयता राज्यले गरेको लगानीको प्रतिफल हुन्,' मुख्य प्रशिक्षक राणाले भने, 'इन्चोनबाट थप प्रतिफल ल्याउनेछौं।'
साग २००६ को १० हजार मिटरका ऐतिहासिक रजत जितेकी कान्छीमाया सन् १९९८, २००६ र २०१० को एसियाडमा दौडिसकेकी छन्। लन्डन ओलम्पिक खेलेका तिलक, हरि र केशरी पनि एसियाडका अनुभवी हुन्। बाँकी सबै एसियाडमा नयाँ अनुहार हुनेछन्। यमसजन, पार्की, मुक्ति, दिलमाया र कृष्ण सिनियर तहको बृहत् प्रतियोगितामा एसियाडबाटै डेब्यु गर्दै छन्। उनीहरूलाई मुख्य प्रशिक्षक राणासहित चन्द्र गुरुङ, पुष्पराज ओझा र राकेश वज्राचार्यले निखार्दै छन्।
'हाम्रो समस्या रणनीतिमै हो,' मुख्य प्रशिक्षक राणाले भने, 'हामीसँग उत्कृष्ट खेलाडी छन्। तर, राम्रो रणनीति अभावमा फिनिसिङमा भइरहेको कमजोरीले अन्तर्राष्ट्रिय पदक गुमाइरहेका छौं। त्यो कमजोरी सुधार्ने कार्य भइरहेको छ।'
१७ औं एसियाली खेलकुद
एथलेटिक्समा छानिएका नेपाली खेलाडी
यमसजन सुनार    १ सय र २ सय मिटर
तिलकराम थारू    २ सय र ४ सय मिटर    
मुक्तिबहादुर खड्का    ८ सय मिटर
हरि रिमाल    १५ सय र ५ हजार मिटर
गोपीचन्द्र पार्की    ५ हजार र १० हजार मिटर
कृष्णबहादुर बस्नेत    म्याराथन
दिलमाया कार्की    २ सय र ४ सय मिटर
केशरी चौधरी    लङजम्प र टि्रपलजम्प
कान्छीमाया कोजू    ५ हजार र १० हजार मिटर

Comments

Popular Posts