यू–१६ फूटबल टोली स्वदेश फर्कियो

दीपेन्द्र सापकोटा

नेपाली यू–१६ फूटबल टोली दक्षिण कोरियाबाट स्वदेश फर्किएको छ । मैत्रीपूर्ण खेलका लागि दक्षिण कोरिया पुगेको नेपाली यू–१६ फूटबल टोली ५ साउनमा नेपाल फर्किएको हो । थाइल्याण्डमा २२ भदौमा हुने एएफसी यू–१६ च्याम्पियनसिपको तयारीका लागि नेपाली टोली दुई हप्ते प्रशिक्षणका लागि २३ असारमा दक्षिण कोरिया पुगेको थियो ।
नेपाली स्ट्राइकर बिमल घर्ती मगरको कप्तानीमा रहेको टोलीले कोरियामा एक जीत र दुई बराबरी खेलेको थियो । टोलीले दक्षिण कोरियाको यू–१७ टोलीसँग गोलरहित बराबरी खेलेको थियो ।
स्वदेश फर्किएको टोली केही दिनको आरामपछि अभ्यास खेलका लागि फेरि कतार, बेल्जियम, बहराइन र थाइल्याण्ड जाने अखिल नेपाल फूटबल संघ (एन्फा)ले जनाएको छ ।
यू–१६ च्याम्पियनसिपमा समुह सी मा रहेको नेपालले उज्वेकिस्तान, कुबेत र उत्तर कोरियासँग खेल्नेछ । नेपाल सेमिफाइनलसम्म पुगेमा अर्को वर्ष हुने फिफा यू–१७ विश्वकपका लागि छनौट हुनेछ ।
नेपाली टोलीका प्रशिक्षक वालगोपाल महर्जनले नेपाली टोलीले दक्षिण कोरियामा राम्रो खेलेको बताए । उनले भने, “कोरिया धेरै राम्रो छ र उ धेरै माथिल्लो टीम हो, तर पनि हाम्रा खेलाडीहरुले उनीहरुविरुद्ध धेरै राम्रो गरे, साच्चै गर्वको महसुस भइरहेको छ ।”
उनले अबको लक्ष्य यू–१७ विश्वकप खेल्ने रहेको बताए । “त्यो असजिलो छ, तर असंभव पनि छैन, हामी कुनै पनि एसीयन टीमलाई जित्न सक्छौं,” महर्जनले बताए ।

Comments

Popular Posts