एसिया र अफ्रिकालाई कोटा थप्‍ने पक्षमा ब्लाटर

विश्‍व फुटबल महासंघ (फिफा) ले एसिया र अफ्रिका महादेशलाई न्याय गर्न नसकेको धारणा अध्यक्ष सेप ब्लाटरले व्यक्त गरेका छन्। विश्वकपमा यी दुई महादेशले पाउनुपर्ने जति स्थान नपाएको भन्दै फिफाले पुनर्विचार गर्नुपर्ने समय आएको ब्लाटरको भनाइ छ। ब्राजिलमा विश्वकप चलिरहेका बेला उनले व्यक्त गरेको यो धारणालाई अर्थपूर्ण रूपमा हेरिएको छ। फिफाको साप्ताहिक म्यागजिनमा पनि उनले यस्तै धारणा राखेका छन्। 'अफ्रिका र एसियाले आफ्नो आकारअनुसार स्थान पाउन सकेका छैनन्', उनले आफ्नो लेखमा भनेका छन्। उनको लेखको शीर्षक नै 'यो समय नयाँ सहमतिका लागि' रहेको छ।
'तथ्यांक हेर्दा पनि फिफाले अफ्रिकालाई न्यायोचित व्यवहार नगरेको देखिन्छ। अन्य महादेशको तुलनामा अफ्रिकाले विश्वकपमा पाउनुपर्नेभन्दा निकै कम स्थान पाइरहेको छ', ब्लाटरले भनेका छन्। उनी अगाडि थप्छन्, 'अफ्रिकाको फुटबल महासंघ र युरोपको फुटबल महासंघका सदस्य लगभग बराबर छन् तर विश्वकपमा अफ्रिकालाई पाँच र युरोपलाई १३ वटा कोटा दिइएको छ।' ७८ वर्षीय ब्लाटरले त्यसपछि एसियाका विषयमा बोलेका छन्। 'एसियामा ४६ सदस्य राष्ट्र छन् तर यो महादेशलाई चारवटा मात्र कोटा दिइएको छ। चाँडोभन्दा चाँडो यस्ता विषयमा फिफाले सोच्नुपर्छ', उनी भन्छन्।
ब्लाटरले जारी विश्‍वकपमा अफ्रिकी टोली र उत्तरअमेरिकी टोलीले गरेको प्रदर्शनको प्रशंसा पनि गरेका छन्। दुई अफ्रिकी टोली नाइजेरिया र अल्जेरिया तथा तीन उत्तरअमेरिकी टोली अमेरिका, मेक्सिको र कोस्टारिका विश्वकपको समूहगत चरण पार गर्न सफल भएका थिए। कोस्टारिका भने क्वार्टरफाइनलसम्म पुगेको थियो। यी सबै टोलीको प्रदर्शन सराहनीय रहेको थियो।
'अफ्रिकी टोलीले राम्रो फुटबल खेले। प्राविधिक क्षमता देखाए र पहिलोपटक दुई टोली समूहगत चरण पार गर्न सफल भए', ब्लाटरले लेखेका छन्। युरोपका तीन पूर्वविश्वविजेता टोली समूहगत चरणबाटै बाहिरिएकोमा उनले आलोचना गरेका छन्। युरोपलाई दिइएको कोटा घटाएर एकएकवटा अफ्रिका र एसियालाई बाँड्नुपर्ने उनको सुझाव छ। ब्लाटरको यो लेखले युरोपियन फुटबल संघ (यूईएफए) अध्यक्ष मिचेल प्लाटिनी भने रुष्ट बनेका छन्।
विश्वकपमा खेल्ने कुल ३२ मध्ये सन् १९९८ सम्म १५ टोली युरोपका हुन्थे। त्यसपछि युरोपलाई दिइएको कोटा घटाइएको थियो। ब्लाटर फिफा अध्यक्षमा पाँचौं कार्यकालका लागि उम्मेद्वारी दिने योजनामा छन्। त्यसैलाई प्रभाव पार्ने गरी उनले यो मुद्दा उठाएको हुनसक्ने अनुमान गरिएको छ। प्लाटिनी फिफाको भाबी अध्यक्षका प्रत्यासी हुन्। यद्यपि उनले अहिलेसम्म उम्मेदवारी घोषणा गरिसकेका छैनन्।

Comments

Popular Posts