नेपाल छन्त्याल संघ च्याम्पियन

तेस्रो खुला धनुषवाण प्रतियोगिताको उपाधि नेपाल छन्त्याल संघ 'ए' ले शुक्रबार जितेको छ। छन्त्याल संघले १०औं डोरमा ११ स्कोर गर्दै कुल ११० अंक जोडेको हो। नजिकबाट पछ्याएको नेपाल जापान सम्पर्क समितिले स्कोरलाई बराबरी गर्न अन्तिम डोरमा १२ अंक आवश्यक भए पनि १० अंक मात्र जोड्यो। विजयी टिमका मोहन छन्त्याल, बलबहादुर छन्त्याल, महेश छन्त्याल र पूर्णबहादुर छन्त्यालले समान १९ स्कोरको योगदान दिए भने प्रताप छन्त्यालले १८ र हर्क छन्त्यालले १६ अंक जोडेका थिए।
दोस्रो स्थानमा रहन सफल नेपाल-जापान सम्पर्क समितिका मिन गौचन र गोकुल तुलाचनले समान १९ अंक तथा बालकुमार शेरचन, प्रेम तुलाचन र महेन्द्र तुलाचनले १८ स्कोर गरे। सुनील शेरचनले १६ स्कोर गरे।
म्याग्दी मगर समाज 'ए' १ सय ५ अंकसहित तेस्रो भयो। म्याग्दी मगर समाजका हरि पुन भने सर्वोत्कृष्ट धनुर्धर घोषित भए। उनले शतप्रतिशत २० स्कोर गरेका थिए। उनकै टोलीका मनबहादुर पुनले पनि २० स्कोर गरे पनि सुपरिटीको आधारमा हरि उत्कृष्ट भए। व्यक्तिगत स्पर्धामा नेपाल-जापान सम्पर्क समितिका मीन गौचन विशिष्ट धनुर्धर घोषित भए। उनले ६ अंक जोडेका थिए। उपाधि विजेताले ३०, उपविजयीले २० तथा तेस्रो स्थान पाउने टोलीले १० हजार रुपैयाँ पुरस्कार पाए।

Comments

Popular Posts