मुहार फेर्दै दशरथ रंगशाला
दशरथ रंगशालामा पुननिर्माण कार्यमा संलग्न कामदार। तस्बिर: रजेन्द्र केसी |
नेपालको एकमात्र अन्तर्राष्ट्रिय स्तरको दशरथ रंगशालामा पुनर्निर्माणको काम धमाधम भइरहेको छ। रंगशालाको अवस्था जीर्ण बन्दै गएपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सक्रियतामा दुई महिनादेखि रंगशालाको पुनर्निर्माण कार्य सुरु गरिएको हो।
रंगशालाको साधारण प्यारापिटको जगदेखि नै नयाँ पिलर फेर्ने काम भइरहेको छ। पुराना र मक्किएका ९६ ओटा पिलर परिवर्तन गरी नयाँ पिलर राख्न लागिएको हो। पुनर्निर्माण कार्य २०७१ सालको अन्यसम्म पूरा भइसक्ने राखेपअन्तर्गतको भौतिक एवं निर्माण शाखाकी प्रमुख तीलोत्तमा बस्यालले बताइन्। 'अहिले निर्माण गर्न लागिएको 'रेट्रो फिटिङ' मात्र हो। साधारण प्यारापिट जीर्ण बनेकाले विज्ञको सल्लाहअनुसार रेट्रो फिटिङ गरिएको हो', बस्यालले भनिन्।
पुनर्निर्माण कार्य मल्टी प्रोजेक्टअन्तर्गत भएकाले रंगशालाको ट्र्याक बनाउने काम अर्को वर्ष सुरु गरिने जानकारी पनि बस्यालले दिइन्। उनका अनुसार पिलरको काम सकिएपछि साधारण प्यारापिटमा प्लास्टिकका कुर्सी र छानो राख्ने काम अघि बढाइनेछ। १५ हजार क्षमताको साधारण प्यारापिटमा कुर्सी राख्दा १३ हजार क्षमताको हुने बताइएको छ। कुर्सी र छानो राखेपछि सर्वसाधारण दर्शकले पनि घाम र पानीको समयमा झेल्नुपर्ने छैन। साधारण प्यारापिटअन्तर्गत आर्मी मुख्यालयतर्फको प्यारापिट नेचुरल (प्रकृति) भएकाले छाना र कुर्सीमात्र राखिने तयारी गरिएको छ। निर्माण कार्य २० प्रतिशत पूरा भइसकेको बताइएको छ।
'नेपालको एउटै मात्र रंगशालाको अवस्था अन्तर्राष्ट्रिय स्तरको नभएकाले यसलाई अन्तर्राष्ट्रिय स्तरको रूप दिन लागिएको हो', राखेपका सदस्यसचिव युवराज लामाले भने, 'अन्तर्राष्ट्रिय विज्ञ र इन्जिनियरले साधारण प्यारापिट मात्र पुनर्निर्माण गरे पुग्ने सल्लाह दिए। विज्ञका अनुसार भीआईपी (विशिष्ट) प्यारापिटको अवस्था राम्रो छ।'
राखेपले रंगशालामा बनाइएको एथलेटिक्सको सेन्थेटिक ट्र्याकसमेत यसै वर्ष फेर्ने योजना बनाएको थियो, तर प्यारापिट निर्माणका लागि क्रेन, डोजर, ट्रकजस्ता ठूला सवारीसाधन भित्र ल्याउनुपर्ने भएकाले सम्भव नभएको राखेपले जनाएको छ। १२ करोड रुपैयाँ लगानीमा पुनर्निर्माण गरिन लागिएको रंगशालाको पुनर्निर्माणसँगै दर्शकका लागि आवश्यक मात्रामा शौचालय लगायतका संरचना समेत निर्माण गरिनेछ।
२०१३ सालमा निर्माण गरिएको दशरथ रंगशालाको निर्माण कार्य दुई वर्षमा पूरा भएको थियो। सन् १९९८ मा आयोजना भएको आठौं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा दशरथ रंगशालाको पुनर्निर्माण गरिएको थियो। चीन सरकारको सहयोगमा पुनर्निर्माण गरिएको दशरथ रंगशालामा त्यतिबेलै रबरको ट्र्याक बिछ्याइएको थियो।त्यसपछि दुई वर्षअघि काठमाडौंमा सम्पन्न एएफसी च्यालेन्ज कपअघि दशरथ रंगशालामा रंगरोगनसहित विशिष्ट प्यारापिटमा कुर्सी राख्ने काम भएको थियो। पछिल्लो समय रंगशालाको अवस्था जीर्ण बन्दै गएकाले मानवीय क्षतिसमेत हुन सक्ने सम्भावनालाई ध्यानमा राखी राखेपले पुनर्निर्माण कार्यको थालनी गरेको हो।
दशरथ रंगशालाको भौतिक अवस्था समयानुकूल नहुँदा २०४४ सालमा दु:खद घटना भएको थियो। २०४४ साल फागुन २९ गते भीषण हावाहुरीसँगै आएको असिनापानीका कारण फुटबल हेरिरहेका ७३ जना दर्शकले ज्यान गुमाएका थिए। जनकपुर चुरोट कारखाना र बंगलादेशको मुक्ति जोद्धाबीच त्रिभुवन च्यालेन्ज सिल्डको फाइनल खेल भइरहँदा त्यो डरलाग्दो घटनामा भएको थियो।
घटनामा परी करिब ९६ जना मारिएको समाचार आए पनि सरकारले ७३ जनाको ज्यान गएको पुष्टि गरेको थियो। भागदौडका कारण दुई सय ५० जनाभन्दा बढी घाइते भएका थिए। नेपालको एउटै मात्र अन्तर्राष्ट्रिय रंगशालाले फुटबल, एथलेटिक्सलगायत थुप्रै खेलको भार थेग्दै आएको छ।
Comments
Post a Comment