किन हार्यो ब्राजिल ? नेइमारको समीक्षा
घरेलु मैदानमा गत साता सम्पन्न विश्वकप ब्राजिलका लागि सबभन्दा दुखद रह्यो। अन्तर्राष्ट्रिय फुटबलका सबैखाले प्रतियोगिताको सदावहार दावेदार ब्राजिल अपेक्षाविपरित विश्वकपको सेमिफाइनलबाटै बाहिरियो।
सेमिफाइनलमा इतिहासकै सबभन्दा लज्जाजनक नतिजा स्विकार्ने क्रममा जर्मनीसँग ७–१ को पराजय भोगेको ब्राजिल तेस्रो स्थानको पनि लायक भएन। तेस्रो स्थानको प्लेअफमा नेदरल्यान्ड्ससँग ३–० ले हार्दासम्म ब्राजिली फुटबलको छवि चार हप्ताको बीचमा महारथीबाट ह्विपिङ ब्वाइजका रुपमा परिणत भइसकेको थियो।
सेमिफाइनलमा इतिहासकै सबभन्दा लज्जाजनक नतिजा स्विकार्ने क्रममा जर्मनीसँग ७–१ को पराजय भोगेको ब्राजिल तेस्रो स्थानको पनि लायक भएन। तेस्रो स्थानको प्लेअफमा नेदरल्यान्ड्ससँग ३–० ले हार्दासम्म ब्राजिली फुटबलको छवि चार हप्ताको बीचमा महारथीबाट ह्विपिङ ब्वाइजका रुपमा परिणत भइसकेको थियो।
धेरैले क्वार्टरफाइनलमा मेरुदण्डमा चोट बोक्दै प्रेरणादायी फरवार्ड नेइमार प्रतियोगिताबाट बाहिरिनुलाई लगातार दूई हारको कारणका रुपमा व्याख्या गरेका छन्। त्यतिकै पण्डितहरुले एउटा खेलाडीमा भर पर्ने अवस्था आउनु भनेकै ओरालो लागेको प्रमाणका रुपमा तर्क पेश गरेका छन्। स्वयम २२ वर्षे सुपरस्टार नेइमार पनि ब्राजिल ओरालो लागेको स्वीकार्छन। उनको विचारमा टोलीले सुखद नतिजाका लागि आफ्ना तर्फबाट सतप्रतिसत प्रयास गरे पनि सफल भएन। नतिजा– अरु देश धेरै अघि बढे, अब ब्राजिलले उनीहरुलाई भेट्टाउनुपर्छ।
विश्वकपमा ब्राजिली टोलीको नेतृत्व लिएका प्रशिक्षक लुइस फिलिप स्कोलारीलाई असफलताको दोष दिन नचाहने नेइमारले युवा खेलाडीलाई केही प्रशिक्षकले भने खेलाडीको विकास प्रक्रिया विगार्न सक्नेमा सचेत बनाए। ग्लोबो टेलिभिजनसँगको विशेष अन्तरवार्तामा उनले सेमिफाइनलमा च्याम्पियन टोलीसँग फराकिलो पराजय भोगेर बाहिरिनुका बावजुद ब्राजिल फिफा विश्व वरियताको सातौं स्थानमा रहनुले देशको फुटबलमा अझै धेरै सम्भावना रहेको प्रमाण दिएको बताए ।
ब्राजिल किन असफल भयो ? भन्ने प्रश्नमा नेइमारले भने, 'सबैकुरा शव्दमा सामान्य ढंगले भन्न सकिन्न। विश्वकप जित्नु हामीले बाल्यकालदेखि नै देखेको सपना थियो। त्यसैले हामी धेरै रोयौं। तर हामीले त्यो सपना पूरा गर्नका लागि निकै कठिन संघर्ष पनि गरेका थियौं।'
नेइमारले स्कोलारीको ठाउँमा आफू भए पनि यही २३ खेलाडी छान्ने बताए। ब्राजिलले आफूलाई सधै सफलताको एक्लो अधिकारीका रुपमा सोच्न छोडनुपर्ने बताए। 'मेरो विचारमा ब्राजिली फुटबल पछि परिसकेको छ। हामी जर्मनी र स्पेनजस्ता टोलीभन्दा पछि छौं । हामी पछि परेको कुरा पनि स्वीकार्नुपर्छ। त्यसो भयो भनेमात्र भविष्यमा अगाडि बढ्न सकिन्छ,' नेइमारले भने ।
सेमिफाइनलमा जर्मनीसँग पराजित हुँदा बार्सिलोनाका स्टार चोटका कारण साओ पाउलो राज्यस्थित आफ्नो घरमा आराम गरिरहेका थिए । कोलम्बियामाथि १–० को विजय हासिल गरेको क्वार्टरफाइनलमा उनको मेरुदण्डको एउटा हाड भाचिएको थियो । मैदानको मध्यभागतिरको एउटा एयर बल पछ्याउने क्रममा उनलाई पछाडीबाट ढाडमा कोलम्बियाली खेलाडी हुँवा क्यामलिो जुनिगाले घुँडाले प्रहार गरेका थिए । सोही प्रहारमा उनी घाइते भएका थिए । जुनिगालाई माफ गर्दै विश्वकपबाट बाहिरिएका नेइमारलाई सेमिफाइनल घरमै टेलिभिजन पर्दामा हेर्न भनिएको थियो।
ब्राजिली फुटबलको इतिहासमै कालो धव्वाका रुपमा रहेको उक्त पराजयको कारणबारे नेइमार धेरै बोल्न चाहेनन्। उनको विचारमा त्यसरी हार्नुमा पक्कै धेरै कारण हुनुपर्छ । 'मेरो विचारमा त्यहाँ हाम्रो टोलीले कुनै एक गल्ती गरेको थिएन । म खेलको धेरै रणनीतिक कुरा बुझ्दिन । तर ब्राजिलजस्तो टोली घरमा त्यति ठूलो अन्तरले हार्नुमा पक्कै पनि थुप्रै कमजोरी भएको हुनुपर्छ,' उनले भने ।
ब्राजिललाई २००२ को एसियाली विश्वकपमा उपाधि जिताएका स्कोलारीले यसपाली असफलतापछि राजीनामा दिइसकेका छन् । उनको ठाउँमा राष्ट्रिय टोलीका पूर्वकप्तान डुंगालाई ल्याउने तयारी भइरहेको छ । स्कोलारी स्वयमले असफलताको जिम्मेवारी लिँदै राजीनामा दिए पनि नेइमार भने उनलाई दोष थोपर्न नहुने बताउँछन् ।
'मैले देखेभोगेका मध्ये उनी सर्बोत्कृष्ट ब्राजिली प्रशिक्षक हुन्। उनको नेतृत्वमा हामीले सधै कडा अभ्यास गर्यौं । हामी अभ्यासमा अत्यन्तै उत्कृष्ट थियौं । त्यसैले आशा पनि ठूलो थियो । उनकै प्रेरणाका कारण हामीले मैदानमा आफूसँग भएको सबथोक दियौं,' नेइमारले स्कोलारीको प्रशंसा गरे, 'उनी जहिले पनि सकारात्मक फुटबल खेल्न र जित्न हामीलाई प्रेरित गरिरहन्थे । तर यसपाली हाम्रो भाग्य रहेनछ ।'
नेइमारले युरोपको तुलनामा ब्राजिलीहरु अभ्यासमा इच्छाशक्ति देखाउँदैनन्। धेरैबेर अभ्यास गरे पनि प्रतिवद्धता नहुनु ब्राजिली खेलाडीको समस्या भएको नेइमारको बुझाई छ। सानो उमेरका खेलाडीको सिकाइमै खराव प्रशिक्षकका कारण समस्या हुन सक्नेतर्फ पूरा ब्राजिली फुटबल परिवार सचेत हुनुपर्ने नेइमारले सुझाए। खासगरी खेलाडीलाई एउटा खुट्टामा आएको बल पनि अर्को खुट्टामा लान दिइने निर्देशनले उसको सिकाई प्रभावित हुने उनको अनुभव छ।
'खेलाडीलाई सानो उमेरमा सिकाउने शैली सबभन्दा महत्वपूर्ण हुन्छ । खेलाडीले किन गल्ती गर्छन भन्ने बुझ्नु आवस्यक छ । मैले पनि झण्डै खराव रुपमा फुटबल सिकिसकेको थिएँ । बल जब मेरो बायाँ खुट्टामा आउथ्यो, मलाई प्रशिक्षकले दायाँ खुट्टामा लान भन्थे । किनकी मेरो दायाँ खुट्टा राम्रो चल्थ्यो,' नेइमारले भने, 'तर मेरो बुवाले मलाई सम्झाउनुभयो । उहाँले भन्नुभयो– बल बाया खुट्टामा आउँछ भने त्यही खुट्टाले हान्ने प्रयास गर । त्यसो हुँदा विपक्षीले समय पाउँदैन र तिमिले निसाना पाउने सम्भावना बढि हुन्छ ।'
विश्वकप जित्ने सपना चार वर्षपछि रुसमा पूरा गर्ने नेइमारले प्रतिवद्धता व्यक्त गरे । ब्राजिली फुटबल अर्को वर्ष चिलीमा हुने कोपा अमेरिकालाई दृष्टिगत गरेर संरचनागत रुपमै परिवर्तन गरिने प्रयासमा छ । नेइमार त्यसबाट सुखद नतिजा आउनेमा आशावादी छन्।
Comments
Post a Comment