कालिसको सन्यास

दक्षिण अफ्रिकाका अलराउन्डर ज्याक कालिसले सबै अन्तर्राष्ट्रिय प्रतियोगिताबाट संन्यास लिएका छन्। क्रिकेट इतिहासकै उत्कृष्टमध्ये एक कालिसले आगामी विश्वकप धेरै टाढा भएकाले संन्यास लिएको बुधबार बताएका छन्। ३८ वर्षे कालिसले डिसेम्बरमा टेस्ट र ट्वान्टी–२० क्रिकेटबाट संन्यास लिए पनि विश्वकप खेल्ने लक्ष्य लिएर एकदिवसीयबाट संन्यास घोषणा गरेका थिएनन्।
श्रीलंकामा एकदिवसीय शृंखलामा राम्रो खेल्न नसकेपछि कालिस संन्यास लिने निर्णयमा पुगेका थिए। श्रीलंका भ्रमणमा कालिसले खराब प्रदर्शन गरेका थिए। पहिलो एकदिवसीयमा खाता खोल्न नसकेका कालिसले दोस्रोमा १ र तेस्रोमा ४ रनमात्र बनाउन सके।
उनले श्रीलंकाको एकदिवसीयमा बलिङसमेत गरेनन। कालिसले भने, 'श्रीलंकामा गरेको प्रर्दशनपछि मैले अर्को वर्षको विश्वकप धेरै टाढा रहेकाले यस्तो निर्णय गरेको हुँ।' कालिस दक्षिण अफ्रिकाको सबै उमेर समूहको क्रिकेटको उत्कृष्ट खेलाडी हुन्। भविष्यमा पनि उनी अफ्रिकाको उत्कृष्ट अराउन्डरमा परिचित भइरहने छन्। सिएसएका कार्यकारी प्रमुख ह्यारोन लोर्गाटले भने, 'मैदानमा हामी सधैं उनको अभाव भएको महसुस गर्नेछौं। उनको करिअरमा हामीले धेरै सम्भि्करहने उपलब्धि पनि पाएका छौं।'
कालिस भारतका सचिन तेन्दुलकर र अस्टे्रलियाका रिकी पोन्टिङपछि टेस्ट क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी हुन्। उनले टेस्टमा १३ हजार २ सय ८० रन बनाउँदै १८ वर्षे खेल करिअरको अन्त्य गरेका थिए। १ सय ६६ टेस्टमा ४५ शतक बनाएका कालिस ५१ शतक बनाएका तेन्दुलकरपछि दोस्रो खेलाडीमा छन्। दक्षिण अफ्रिकाका सबैभन्दा सफल विश्वका उत्कृष्ट ब्याटसम्यान र मिडियम तीब्र बलर कालिसले २ सय ९२ टेस्ट विकेट लिएका छन्। १९९६ देखि एकदिवसीय करिअरको सुरुआत गरेका कालिसले ३ सय २८ एकदिवसीयमा ११ हजार ५ सय ७९ रन बनाएका छन्।

Comments

Popular Posts