ब्राजिल र जर्मनीको अग्‍निरीक्षा आज

घरेलु टोली ब्राजिललाई प्रतियोगिता सुरु हुनुअघि विश्वकपको उपाधि दाबेदार मानिएको थियो। स्टार स्ट्राइकर नेमारले पाँचपटकको विजेतालाई उपाधिको बाटोमा डोर्‍याउने अनुमान गरिएको थियो। अघिल्ला दुई संस्करणमा क्वार्टरफाइनलबाटै घर फर्किएका कारण पनि दक्षिणअमेरिकी टोली ब्राजिललाई दबाब थियो।
नेमारकै उत्कृष्ट प्रदर्शनले ब्राजिल सेमिफाइनलसम्म पुग्दै उपाधि जित्ने सम्भावनालाई कायम राख्न सफल पनि भएको हो। तर अचानक नेमार विश्वकप खेल्न नसक्ने भए। कोलम्बियाविरुद्धको खेलमा मेरुदण्डको हड्‍डी भाँचिएपछि नेमारले बाँकी खेल गुमाएका छन्। यही घटनाले ब्राजिलको उपाधि जित्ने योजना संकटमा परेको छ।
मंगलबार राति हुने सेमिफाइनलमा जर्मनीसँग भिड्दा ब्राजिलले धेरै प्रश्नको जबाफ दिनुपर्नेछ। मुख्य कुरा त नेमारबिना नै जर्मनीलाई हराउनु पर्नेछ। ब्राजिलका प्रशिक्षक लुइज फिलिप स्कोलारी भने नेमारको अनुपस्थितिमा टोली दबाबमा रहे पनि आफ्नो टोलीमा क्षमतावान् खेलाडीको कमी नरहेको बताउँछन्।
प्रशिक्षकले भनेजस्तो ब्राजिलका लागि सेमिफाइनल भिडन्त सहज भने छैन। घरेलु टोलीको आक्रमण प्रभावकारी देखिनसकेको छैन। रक्षापंक्तिसमेत धर्मर भएकाले विपक्षीलाई सजिलो हुने देखिन्छ। कप्तान तथा रक्षक थियागो सिल्भा पनि जर्मनीविरुद्ध उत्रन नसक्ने भएकाले ब्राजिल थप समस्यामा छ। ब्राजिलले यसअघिका खेल जित्न पनि निकै संघर्ष गर्नुपरेको थियो।
सेमिफाइनल भिडन्त जर्मनीका लागि पनि सहज छैन। तीनपटकको विश्वकप विजेता पनि फकर प्रकृतिको दबाबमा छ। जर्मनी पनि सन् २००२ देखि फाइनलमा पुग्नसकेको छैन। युरोपियन टोली जर्मनी २४ वर्षयता विश्वकपमा उपाधिविहीन रहँदै आएको छ। यति हुँदाहुँदै पनि विश्वकपमा यो टोलीसँग सफलता र कीर्तिमानका थुप्रै कथा गाँसिएका छन्।
जर्मनी विश्वकपको २० औं संस्करणसम्म आइपुग्दा १३ पटक सेमिफाइनलसम्म पुगेको छ। यसपटक जर्मनी लगातार चौथोपटक सेमिफाइनलमा पुगेको थियो। जर्मनीका यी दुवै सफलता विश्व कीर्तिमान हुन्। त्यसैले जर्मनीले लामो समयदेखि राम्रो खेलेर पनि उपाधि जित्न नसक्ने टोलीको छवि बनाउँदै आएको छ। जर्मनी विश्वकपको फाइनलमा चारपटक पराजित भएको छ।
नेमार टोलीमा नहुनु र घरेलु टोलीलाई दबाब हुनुले जर्मनीलाई पक्कै फाइदा गर्नेछ। जारी प्रतियोगितामा जर्मनी सन्तुलित टिमका रूपमा देखिएको छ। उसले सबै खेल जितेको छ। तर पछिल्ला केही खेलमा जर्मनीलाई जित हातपार्न हम्मेहम्मे परेको छ। युवा स्ट्राइकर थोमस मुलरले प्रतियोगिताका क्रममा चार गोल र दुई 'एसिस्ट' गरे पनि पछिल्ला दुई खेलमा यी स्ट्राइकर जम्न सकेका छैनन्।
दुवै टोलीको साझा बलियो पक्ष भनेका गोलरक्षक हुन्। जर्मनीका म्यानुएल नेउर उच्च लयमा छन्। उनले जारी प्रतियोगितामा १७ वटा गोलका अवसर विफल बनाएका छन्। ब्राजिलका गोलरक्षक जुलियो सिजर पनि उच्च लयमा छन्। संयोग नै मान्नुपर्छ, ब्राजिल र जर्मनीबीच हालसम्म एकपटक मात्र प्रतिस्पर्धा भएको छ। फाइनलमा जर्मनीलाई २-० गोलले हराएर ब्राजिलले सन् २००२ मा विश्वकपको उपाधि उचालेको थियो। यसपटक जर्मनीलाई ब्राजिलकै मैदानमा गतिलो बदला लिने मौका छ, घरेलु टोलीलाई सेमिफाइनलबाटै बाहिर पठाएर।
साथै जर्मनीका भेट्रान स्ट्राइकर मिरोस्लाभ क्लोज विश्वकपमा सर्वाधिक गोलकर्ताका रूपमा एकल कीर्तिमान कायम गर्नबाट एक गोलले मात्र पछि छन्। ब्राजिलकै पूर्वखेलाडी रोनाल्डोको कीर्तिमान उनले बराबरी गरिसकेका छन्। उनलाई ब्राजिलविरुद्ध गोल गर्दै विश्वकप सहभागितालाई थप स्मरणीय बनाउने अवसर छ।
ब्राजिलले १२ वर्षपछि उपाधि जित्ने प्रयासमा रहेको जर्मनीलाई सन् २००२ मा निराश बनाएको थियो। अहिले जर्मनी पनि १२ वर्षपछि उपाधि जित्ने प्रयासमा रहेको ब्राजिललाई रोक्ने योजनामा छ। जर्मनीका प्रशिक्षक जोचिम लोय पनि सफलताप्रति आशावादी छन्। 'हामीले हरेक खेलमा सुधार गरिरहेका छौं', आठ वर्षदेखि जर्मनी टोली समालिरहेका लोय भन्छन्।
मैदानबाहिर भए पनि नेमार यस खेलअघि त्यति निराश छैनन्, जति उनको अनुपस्थितिलाई लिएर चर्चा भइरहेको छ। 'जर्मनीविरुद्ध जित हातपार्न टोलीका सदस्यले सक्दो प्रयास गर्नेछन् र विश्वविजेता हुने सपनालाई कायम राख्‍नेछन्', नेमार भन्छन्।

Comments

Popular Posts