विश्वकपपछि ब्राजिलको ध्यान ओलम्पिकमा
ब्राजिलले विश्वकप फुटबलको सफलतापूर्वक आयोजनापछि आफ्नो ध्यान ओलम्पिक खेलकुद आयोजनामा केन्द्रित गर्ने भएको छ। सन् २०१६ को ओलम्पिक आयोजना ब्राजिलमै हुँदै छ। विश्वकपभन्दा ओलम्पिकको चुनौती बढी भएको स्वयं ब्राजिलले पनि स्वीकार गरेको थियो। मारिसियो लिमास्थित 'कन्स्ट्रक्सन साइट' मा कार्यरत एकजना कर्मचारीले काम जारी रहेको बताए। सोही स्थानमा ओलम्पिक सञ्चारगृह स्थापना हुने भएको छ।
विरोध प्रदर्शन र अपूर्ण रंगशालाका कारण विश्वप असफल हुने अनुमानलाई असत्य सावित गर्दै ब्राजिलले विश्वकपको सफल आयोजना गरेर आफ्नो क्षमता देखाएको थियो।विश्वकपको सेमिफाइनलमा आयोजक ब्राजिलको यात्रा टुंगिए पनि आयोजनामा कसैलाई औंला ठड्याउने अवसर भने उसले दिएन।
विश्वकप आयोजनाको पूर्वसन्ध्यामा बेलो हेरोजोन्टेस्थित रंगशालाको एउटा भाग भत्कदा दुईजना कामदारको मृत्यु भएपछि प्रतियोगितामा पनि अप्रिय घटना हुन सक्ने अनुमान गरिएको थियो, तर भाग्यवश विश्वकपमा भने कुनै असहज अवस्था सिर्जना भएन।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) का उपाध्यक्ष जोन कोट्सले केही महिनाअघि मात्र ब्राजिलको ओलम्पिक तयारी अत्यन्तै सुस्त भनेर खरो टिप्पणी गरेका थिए। आईओसीले तयारी र समस्याको बारेमा अध्ययन गर्न निर्देशक गिल्बर्ट फेलीलाई ब्राजिल पठाएको थियो। फेलीले आफ्नो उपस्थितिमा सेप्टेम्बरसम्ममा ओलम्पिकको तयारीले निश्चित गति लिने विश्वास व्यक्त गरे। फेलीले विश्वकप आयोजनाले ओलम्पिकलाई पनि सकारात्मक सन्देश जाने दाबी गरे।
होटलमा कोठाको अभाव, प्रदूषित पानी, आयोजना स्थल निर्माण, ओलम्पिक पार्कमा सुरुङ मार्गको निर्माण र गल्फ कोर्सको निर्माण रियो ओलम्पिकका प्रमुख समस्याका रूपमा देखा परेका छन्। यसैगरी सन् २००७ मा पान अमेरिकन खेलकुद आयोजना भएको ट्रयाक एन्ड फि ल्डमा ओलम्पिकको एथलेटिक्स स्पर्धा हुनेछ, जसमा सुधार गर्नु पर्ने आईओसीले स्पष्ट पारिसकेको छ।
आईओसीका बजार निर्देशक माइकल पायनले ओलम्पिकको तयारीलाई हल्का रूपमा नलिन चेतावनी दिएका छन्। उनले ओलम्पिक र विश्वकपबीच तुलना नगर्न चेतावनी दिए। खेल र खेलाडीका आधारमा पनि विश्वकपभन्दा ओलम्पिक ठूलो प्रतियोगिता मानिन्छ। विश्वकपमा सात सय ३६ जना खेलाडी थिए, तर ओलम्पिकमा १० हजार पाँच सय खेलाडी सहभागी हुनेछन्। विश्वकप एक महिनासम्म चलेको थियो, तर ओलम्पिक भने दुई सातामै टुंगिनेछ।
यसैगरी विश्वकपको प्रत्यक्ष प्रसारण केही सय घन्टाका लागि मात्र भएको थियो। ओलम्पिकको प्रत्यक्ष प्रसारण भने झन्डै पाँच हजार घन्टा हुनेछ। विश्वकपका लागि ब्राजिलले ११ अर्ब अमेरिकी डलर खर्च गरेको थियो। ओलम्पिकका लागि ब्राजिलले १७ अर्ब अमेरिकी डलर खर्च गर्ने अनुमान गरिएको छ। ब्राजिलकी राष्ट्रपति डिल्मा रोसेफले ओलम्पिक खेलकुद रियोमा भौतिक पूर्वाधार विकासका लागि अभूतपूर्व अवसर हुने दाबी गरेकी छन्।
Comments
Post a Comment