'जर्मनीले युरोकप पनि जित्छ'
जर्मनीका मिडफिल्डर बास्टियन स्वेन्सटिगरले विश्व च्याम्पियन जर्मनीले सन् २०१६ को युरोकप फुटबल पनि जित्ने दाबी गरेका छन्। जर्मनीको टोलीमा युवा खेलाडीको बाहुल्य रहेकाले युरोकपको उपाधि पनि आफ्नै टोलीले उचाल्ने तर्क उनले अघि सारे।
'हाम्रो टिम सन्तुलित छ र उपाधिको भोको पनि। टिममा रहेका खेलाडीको औसत उमेर २५ वर्ष छ, त्यसैले आगामी युरोपकको उपाधि जर्मनीले नै जित्नेछ', बायर्न म्युनिखका स्टार खेलाडी बास्टियनले भने। सन् २०१६ को युरोकप फ्रान्समा आयोजना हुनेछ। उनले जर्मनी विश्वको नम्बर एक टिम भएको पनि बताए।
जर्मनी सन् २००२ मा विश्वकपको फाइनलमा पुगे पनि उपाधि भिडन्तमा ब्राजिलसँग पराजित भएको थियो। सन् २००६ र सन् २०१० को विश्वकपमा भने जर्मनी सेमिफाइनलबाटै बाहिरिएको थियो। सन् २००८ को युरोकपको फाइनलमा जर्मनी स्पेनसँग पराजित भएको थियो।
दुई वर्षअघि आयोजित युरोकपमा उत्कृष्ट प्रदर्शन गरे पनि जर्मनीको यात्रा सेमिफाइनलभन्दा अगाडि बढ्न सकेको थिएन। त्यसैले जर्मनीलाई अन्तिम अवस्थामा पुगेर हार्ने टिमको रूपमा हेरिने गरिएको थियो। बास्टियनले जर्मनीबाट अब त्यस्तो 'ट्याग' हटेको दाबी समेत गरे।
चौथोपटक विश्वकपको उपाधि जित्ने क्रममा जर्मनीले अर्जेन्टिनालाई १-० गोलले हराएको थियो। जर्मनीको जितमा २२ वर्षीय मारियो गोएट्जले अतिरिक्त समयमा गोल गरेका थिए। ८८ औं मिनेटमा परिवर्तित खेलाडीका रूपमा मैदान छिरेका गोएट्जले अतिरिक्त समयको एक सय १३ औं मिनेटमा निर्णायक गोल गरेका थिए।
दक्षिण अमेरिकामा युरोपेली टोलीले विश्वकप जितेको यो पहिलोपटक हो। जर्मनीले यसअघि सन् १९९० को विश्वकप उपाधि जितेको थियो। तर पश्चिम र पूर्वी जर्मनीबीच एकीकरण भएपछि जर्मनीले जितेको यो नै पहिलो विश्वकप हो।
Comments
Post a Comment