बायर्नले ग्वार्डिओलालाई बर्खास्त नगर्ने

बायर्न म्युनिखले प्रशिक्षक पेप ग्वार्डिओलालाई कहिल्यै पनि बर्खास्त नगर्ने क्लबका प्रमुख कार्यकारी कार्ल हेइन्ज रुमिङ्लेले आइतबार बताएका छन्। जर्मन फुटबलको सबैभन्दा सफल क्लब आगामी सिजनमा ओरालो लाग्न सक्ने बताइएको बेला हेइन्ज रुमिङ्लेले ग्वार्डिओलाको पक्ष लिएका हुन्। बायर्नका थुप्रै खेलाडी विश्वकपबाट थकित भएर फर्केकाले यसपालि टोलीले अपेक्षित सफलता पाउन नसक्ने अनुमान लगाइएको छ।
'बायर्नले पेप ग्वार्डिओलालाई कहिल्यै पनि बर्खास्त गर्ने छैन। म अहिल्यै यसको प्रतिबद्धता जनाउन सक्छु,' हेइन्ज रुमिङ्लेलाई उद्धृत गर्दै जर्मन पत्रिकाहरूले छापेका छन्, 'उनी २०१६ जुन ३० सम्म हाम्रो टोलीका प्रशिक्षक हुनेछन्। कम्तीमा पनि त्यो सम्झौता नसकिएसम्म उनको विकल्पबारे कसैले सोचेको छैन।
ग्वार्डिओलाको पहिलो सिजनमा बायर्नले जर्मन बुन्डेसलिगा र जर्मन कप जितेको थियो। तर च्याम्पियन्स लिगमा भने उपाधि रक्षा गर्ने टोलीको अभियान सेमिफाइनलमा रियाल मड्रिडसँग पराजित भएपछि सफल भएन। रियालले फाइनलमा स्पेनकै प्रतिद्वन्द्वी एट्लेटिको मड्रिडलाई हराउँदै उपाधि जित्यो।
२००६ र २०१० को विश्वकपपछि बायर्नले घरेलु लिगमा निकै संघर्ष गर्नुपरेको थियो। जसका कारण सिजन नसकिँदै २००६ मा फेलिक्स मेगाथ तथा चार वर्षअघि लुइस भान हालले बर्खास्तीको सामना गर्नुपरेको थियो। तर हेइन्ज रुमिङ्लेले यसपालि जस्तोसुकै नतिजा भए पनि ग्वार्डिओलाले क्लबमा उस्तै सम्मान पाइरहने बताए।
अगस्ट २२ मा उल्फसबर्गलाई म्युनिख निम्त्याउँदै बायर्नले नयाँ सिजनको सुरुआत गर्दैछ। जहाँ विश्वकपका स्टारहरू बास्टियन स्वान्स्टाइगर, फिलिप लाहम र थोमस मुलरको प्रदर्शन खस्कन सक्ने अनुमान लगाइएको छ। 'विश्वकपका कारण यसपालि खेलाडीले लामो बिदा पाएनन्। त्यसैले खासगरी जर्मन टोलीका खेलाडीलाई गाह्रो हुनसक्छ। उनीहरूले नयाँ सिजनलाई शून्यबाट सुरु गर्दा केही कमजोरी होलान्। तर त्यसमा प्रशिक्षकलाई दोष दिने ठाउँ हुँदैन,' रुमिङ्लेले भने।

Comments

Popular Posts