एन्फा अध्यक्ष गणेश थापाद्वारा करोडौं विदेशी सहयोगमा भ्रष्टाचार

भ्रष्टाचार गरेको रकमबाट काठमाडौं, ललितपुर, हेटौंडा र चितवनमा करोडौंको घरजग्गा

अखिल नेपाल फुटबल संघ (एन्फा) मा लामो समयदेखि अध्यक्ष बनेका गणेश थापाले २० करोडभन्दा बढी भ्रष्टाचार गरेको तथ्य उजागर भएको छ । पछिल्लो पटक खुलासा भएको एसियाली फुटबल महासंघका तत्कालीन अध्यक्ष मोहम्मद विन हमामबाट अध्यक्ष थापाको छोराको नाममा लिएको झण्डै डेढ करोडभन्दा बढी रकमको अलावा १९ वर्षदेखि एन्फामा अध्यक्ष हुँदा २० करोडभन्दा बढी रकम भ्रष्टाचार गरेको खुल्न आएको छ । अन्तर्राष्ट्रिय फुटबल महासंघबाट अखिल नेपाल फुटबल संघको नाममा आएको हजारौँ डलर अनुदानमा अध्यक्ष थापाले मनोमानी गर्दै आएका छन् भने फिफाको गोल प्रोजेक्ट तथा युथ डेभलपमेन्ट लगायतका परियोजनामा ठूलो रकम भ्रष्टाचार भएको एन्फा स्रोतले उपलब्ध गराएको कागजातबाट खुलेको छ । 


फिफा र एसियाली फुटबल संघ (एएफसी) बाट प्राप्त विभिन्न अनुदान सिधै व्यक्तिको नाममा जम्मा गर्ने गरेका एन्फा अध्यक्ष थापाले एन्फाको करोडौँ रुपैयाँ व्यक्तिगत रुपमा चलाएको एन्फा स्रोतले जनाएको छ । अध्यक्ष थापाले गरेको भ्रष्टाचारको रुपमा बाहिर आएको एएफसीका तत्कालीन अध्यक्ष हमामबाट लिएको एक लाख डलर र सोपछि एएफसीबाट आएको आठ लाख डलरमा थापाले भ्रष्टाचार गरेको स्रोतले दाबी गरेको छ । उल्लिखित दुवै काण्डबाट मात्रै थापाले झण्डै पाँच करोडभन्दा बढी हात पारेका थिए । एन्फामा १९ वर्षे कार्यकालमा भएको एएफसी तथा फिफाको निर्वाचनमा थापाले पाँच करोडभन्दा बढी घुस लिएको बताइन्छ । सोमध्ये पछिल्लो निर्वाचनमा एक लाख डलर अर्थात् करिब एक करोड नेपाली रुपैयाँ छोरा गौरव थापाको नाममा घुस लिएको पुष्टि भइसकेको छ । यद्यपि थापाले उक्त रकम व्यापारको सिलसिलामा ऋण लिएको दाबी गरे पनि एएफसीले गरेको छानबिनमा घुस लिएको रहस्य खुलेको जनाएको थियो ।


त्यसैगरी, एसियाली फुटबल महासंघले दिँदै आएको प्रशिक्षक भत्ताबापतको मासिक १५ हजार डलरमा पनि ठूलो रकम घोटाला हुँदै आएको छ । लामो समयदेखि जारी उक्त घोटालामा मासिक सातदेखि १० लाख रुपैयाँ थापाले हात पार्दै आएको बुझिएको छ । जिल्लास्तरीय, क्षेत्रीय र केन्द्रीय तहका प्रशिक्षकको नाममा युथ डेभलपमेन्ट परियोजनाअन्तर्गत आएको उक्त अनुदानबाट वार्षिक एक करोड रुपैयाँ थापाले हात लगाउने गरेको बुझिएको छ । नेपाली प्रशिक्षकलाई मासिक तीन हजार रुपैयाँ दिएर कागजमा भने दुई सयदेखि दुई सय ४० डलर भत्ता लिएको भन्दै एएफसीलाई झुठा विवरण पेस गरेर अध्यक्ष थापाले घोटाला गर्ने गरेका छन् । त्यस्तै, टेक्निकल डाइरेक्टरको नाममा प्राप्त हुने मासिक एक हजार पाँच सय डलर अनुदानमध्ये बढीमा ८० डलर मात्रै पाउने र बाँकी रकम थापाले नै लिने गरेको सूत्रले दाबी गरेको छ । त्यति मात्र होइन, अध्यक्ष थापाले विदेशमा हुने मैत्रीपूर्ण फुटबल खेलमा छोरा गौरव थापालाई पठाएर खेलाडीको नाममा आउने भत्ता समेत आफैंले कत्लेआम गर्ने गरेका छन् ।   
उता, पछिल्लो अमेरिकी कम्पनी पटक प्लस वानले नेपालको फुटबलमा गरेको सहयोगमा समेत एन्फा अध्यक्ष थापाले लामो हात गरेका छन् । चार वर्षको लागि चार लाख डलर सहयोग गर्ने प्रतिबद्धताअनुरुप २०१३ देखि सहयोग उपलब्ध गराउँदै आएको भए पनि प्रशिक्षक भत्ता, प्रशिक्षकको घरबहाल तथा गाडी सुविधा भनेर घोटाला गरेका छन् । दुई अमेरिकी प्रशिक्षकलाई आफ्नै घरमा डेरामा राखेर वार्षिक ४० हजार डलर घोटाला गर्ने गरेको एन्फा सूत्रले जनाएको छ । हाल नेपालमा रहेका दुई अमेरिकी प्रशिक्षकहरु अध्यक्ष गणेश थापाको नाममा रहेको गाडीमा हिँड्ने गरेका छन् । खेलाडीहरुको अगाडि प्रशिक्षकलाई आफूले गाडी दिएको बताउने थापाले उक्त गाडी र घर भाडाबापत प्लस वानबाट आएको एक लाख रुपैयाँमध्ये झण्डै आधा आफैंले लिने गरेका छन् । 


विदेशी अनुदान दुरुपयोग बाहेक थापाले नेपालमा फुटबलको विकासका लागि सरकारले छुट्ट्याएको बजेटमा समेत घोटाला गर्ने गरेका छन् । भवन निर्माण, फुटबल ग्राउण्ड निर्माण, होस्टल सञ्चालन, विभिन्न खेलकुद तयारीको नाममा उपाध्यक्ष ललितकृष्ण श्रेष्ठसँग मिलेर थापाले वार्षिक लाखौं रुपैयाँ हात पार्ने गरेका छन् । एन्फाका थापापछिका सबैभन्दा शक्तिशाली श्रेष्ठलाई दिएको जिम्मेवारी अचम्मको छ । उनी उपाध्यक्ष, प्रवक्ता, राष्ट्रिय टोली तयारी समितिको संयोजक, होस्टल÷एकेडेमीका संयोजक, भवन निर्माण संयोजक, फुटबल ग्राउण्ड निर्माण संयोजक र प्रचार संयोजकको जिम्मेवारी तोकिएको छ । चार जना उपाध्यक्ष रहने एन्फामा अन्य उपाध्यक्ष अधिकारविहीन रहेका छन् । स्वदेशी आयोजनामा श्रेष्ठसँग मिलेर ठूलो रकम अनियमितता भएको र विदेशी सहयोग थापा एक्लैले करोडौं भ्रष्टाचार गरेको भन्ने उजुरी व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समितिमा समेत दर्ता गरिएको छ । गत जेठ २२ गते दर्ता गरिएको उजुरीको सम्बन्धमा हालसम्म पनि बैठकमा कुरा उठेको छैन । 

२०५१ साल चैत २२ गते तत्कालीन एमाले सरकारको पालामा अखिल नेपाल फुटबल संघ एन्फाको अध्यक्ष बनेका थापा त्यसयता लगातार अध्यक्ष पदमा क्रियाशील छन् । उनी मात्रै होइन उनको सिंगो परिवार फुटबलमा लगाएर करोडौँ असुली गरेको फेला परेको छ । उनकी श्रीमती हजारी थापालाई सन् १९९६ देखि फिफा काँग्रेसमा सिफारिस गरेका थिए भने छोरा गौरव थापाको दिनचर्या एन्फा, एएफसी तथा एन्फाको विभिन्न लाभको काममा व्यस्त रहेको भेटिन्छ । सिंगो परिवारलाई फुटबलमा होमेका थापाले अन्य दाजुभाइभन्दा सयौं गुणा बढी सम्पत्ति भेला पारेका छन् । एन्फामा अध्यक्ष हुँदा भ्रष्टाचार गरेको रकमबाट विशालनगरमा रहेको पुख्र्यौली घर छोडेर नजिकै भव्य महल बनाएर तीन वर्षअघि बसाइँ सरेका थापाको काठमाडौंका विभिन्न स्थानमा, ललितपुरको ढोलाहिटी, मकवानपुरको हेटौंडा तथा चितवनमा करोडौँ मूल्यका जग्गाहरु रहेका छन् । काठमाडौंमा हाल बस्दै आएको नयाँ घरको मूल्य तीन करोड हाराहारीमा रहेको छ भने काठमाडौंकै बुढानिलकण्ठमा करोडौँ मूल्यका जग्गा खरिद गरेका छन् । त्यस्तै, ललितपुरको ढोलाहिटीमा पाँच÷छ वर्षअघि खरिद गरेको छ रोपनी जग्गाको मूल्य पाँच करोडभन्दा बढी पर्ने थापा निटकवर्ती सूत्रले जनाएको छ । त्यस्तै, हेटौंडा नगरपालिका वडा नं. ४ मा पाँच करोड हाराहारीको जग्गा जोडेका थापाले मकवानपुरकै हात्तिलेटमा पनि केही जग्गा जोडको बताइन्छ । त्यसैगरी, थापाको ससुराली चितवनको टाँडी आसपासमा थुप्रै जग्गा खरिद गरेका छन् । सैन्य पृष्ठभूमिका बाबुले काठमाडौंमा एउटा घर पुख्र्यौली सम्पत्तिमा अंशमा दिएको भए पनि थापाका नाममा अहिले ४० करोडभन्दा बढी सम्पत्ति रहेको बुझिएको छ । विभिन्न बैंक तथा वित्तीय संस्थामा करोडौँ निक्षेप गरेका थापाले विदेशस्थित बैंकहरुमा समेत पैसा राखेको बुझिएको छ । 

साभारः अार्थिक दैनिक

Comments

Popular Posts