विश्वकपमा चम्किएका खेलाडीहरुमाथि युरोपेली आँखा
युरोपियन क्लब फुटबलको नयाँ सिजन सुरु हुन करिब एक महिना बाँकी छ। खेलाडी स्थानान्तरणको विषयको विषयलाई लिएर भने युरोपेली क्लब फुटबलमा नयाँ तरंग आइसकेको छ। भर्खरै विश्वकप सकिएकाले लयमा रहेका र चर्चित खेलाडीलाई अनुबन्धन गर्न क्लबबीच हानाथाप देखिएको छ। आगामी सेप्टेम्बर १ तारिखसम्म खेलाडी स्थानान्तरणको समय छ।
उपाधि जित्न ठूला क्लबहरू नाम चलेका खेलाडीलाई आबद्ध गर्न कस्सिएका छन्। यसमा युरोपियन च्याम्पियन रियल म्याड्रिड अगाडि देखिएको छ। रियलले विश्वविजेता जर्मनीका मिडफिल्डर टोनी क्रुजलाई भित्र्याउने निश्चित भइसकेको छ। जर्मन लिग विजेता बायर्न म्युनिखले क्रुज रियल जाने खबरको पुष्टि गरिसकेको छ। क्रुजले ६ वर्षका लागि रियलसँग सम्झौता गर्ने चर्चा छ। क्रुजका लागि रियलले बायर्नलाई २४ मिलियन पाउन्ड तिरेको बताइएको छ। २४ वर्षीय क्रुज सन् २००७ देखि बायर्नमा थिए। बीचमा दुई वर्ष ऋणमा बायर लेभरकुसेनबाट खेलेका क्रुजले भर्खरै सम्पन्न विश्वकपमा दुई गोल गर्नुका साथै चार गोलका लागि सहयोग पुर्याएपछि उनीमाथि रियलको आँखा परेको हो।
इङलिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले पनि क्रुजलाई भित्र्याउने प्रयास गरेको थियो। विश्वकपमा गोल्डेन बुट जितेका २२ वर्षीय कोलम्बियन स्टार स्ट्राइकर जेम्स रोड्रिगुएजलाई भित्र्याउन पनि रियल आतुर देखिएको छ। फ्रान्सेली क्लब मोनाकोले रोड्रिगुएजका लागि रियलसँग सात करोड पाउन्ड मागेको छ। रोड्रिगुएजलाई भित्र्याउन म्यानचेस्टर युनाइटेड पनि इच्छुक देखिएको छ।
रोड्रिगुएजले ६ गोल गरेपछि कोलम्बिया विश्वकपमा क्वार्टरफाइनलसम्म पुगेको थियो। विश्वकपमा रोड्रिगुएजले हरेक खेलमा गोल गरेका थिए। सोही कारणले उनले विश्वकपमा सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट पुरस्कार हात पारेका थिए। मोनाकोले बेच्न नचाहे पनि रोड्रिगुएजले रियल जाने इच्चा व्यक्त गरेपछि बिक्री मूल्य तोक्न क्लब बाध्य बनेको हो। गत वर्ष मोनाकोमा आबद्ध भएका रोड्रिगुएज र मोनाकोबीच पाँच वर्षको सम्झौता भएको थियो। रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले रोड्रिगुएजको विषयमा अन्तिम समयसम्म मोलमोलाइ गर्ने बुझिएको छ।
जब कुनै खेलाडी क्लब फुटबलमा चर्चाको शिखरमा पुग्छ, रियलले आँखा लगाइहाल्छ। म्यानचेस्टर युनाइटेडमा क्रिस्टियानो रोनाल्डो चम्किएपछि यी पोर्चुगिज स्ट्राइकरलाई रियलले आबद्ध गरिहाल्यो। रोनाल्डोकै उत्कृष्ट प्रदर्शनमा रियलले घरेलु लिग पनि जित्यो। तर युरोपियन च्याम्पियन्स लिगमा फाइनलसम्मको यात्रा पनि तय गर्न नसकेपछि रियलले गत वर्ष गारेथ बेललाई क्लबमा आबद्ध गर्यो। बेल टोट्टनहामबाट खेल्दै इङलिस प्रिमियर लिगमा जमेपछि रियलले युरोपियन च्याम्पियन्स लिग उपाधिका लागि बेललाई पनि चर्को मूल्य तिरेर क्लबमा सामेल गर्यो।
रियलले गत सिजन युरोपियन च्याम्पियन्स लिग पनि जित्यो, तर घरेलु लिगमा भने अन्तिम समयमा आएर चुक्यो। क्लब फुटबलमा आफ्नो उपस्थिति थप मजबुत बनाउन रियल विश्वकपका स्टार खेलाडीलाई समेट्ने तयारीमा देखिएको छ। रियल विश्वकपमा चम्किइएका गोलरक्षक किलर नाभासलाई पनि भित्र्याउने योजनामा छ। स्पेनकै अर्को क्लब लेभान्टेबाट खेलिरहेका नाभासले विश्वकपमा कोस्टारिकाका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए। लेभान्टे र नाभासबीचको अनुबन्धन समय सकिन अब एक वर्ष मात्र बाँकी छ।
इकर कासियास पछिल्लो समय जम्न नसकेपछि रियलले उनको विकल्प खोजेको हो। रियलले टिम राम्रो बनाइरहेका बेला गत सिजनमा सन्तोषजक प्रदर्शन गर्न नसकेको बार्सिलोना पनि राम्रा खेलाडीको खोजीमा छ। यसैक्रममा यो स्पेनिस क्लबले इङलिस क्लब लिभरपुलका स्टार स्ट्राइकर लुइस स्वारेजलाई अनुबन्धन गरिसकेको छ। उरुग्वेका यी स्ट्राइकरलाई भित्र्याउन बार्सिलोनाले सात करोड ५० लाख पाउन्ड लिभरपुललाई तिरेको जनाइएको छ। विश्वकपमा इटालीका खेलाडीलाई टोकेपछि निकै आलोचना खेपेका स्वारेजलाई लगत्तै बार्सिलोनाले भित्र्याएको हो।
विश्वकपको समूहगत चरणमा इटालीका रक्षक जर्जियो चेलिनीलाई टोकेपछि स्वारेजमाथि फिफाले चार महिना र नौ अन्तर्राष्ट्रिय खेलको प्रतिबन्ध लगाएको छ। स्वारेजको आगमनले बार्सिलोनाको अग्रपंक्ति बलियो हुने अनुमान गरिएको छ। टोलीमा दुई स्टार स्ट्राइकर लियोनल मेसी र नेमार पनि छन्। इङलिस प्रिमियर लिगमा पनि ठूला क्लबहरू स्टार खेलाडी भित्र्याउने योजनामा लागिपरेका छन्।
पछिल्ला दुई सिजन ठूला प्रतियोगितामा उपाधिविहीन रहेको चेल्सीले गत सिजन स्पेनिस लिगमा जमेका डिएगो कोस्टालाई भित्र्याएको छ। चेल्सीले तीन करोड २० लाख पाउन्ड तिरेर एटलेटिको म्याड्रिडबाट स्पेनिस खेलाडी कोस्टालाई भित्र्याएको हो। चेल्सीले एटलेटिको म्याड्रिडकै रक्षक लुइज फिलिपलाई पनि क्लबमा अनुबन्धन गरेको छ।
टोलीमा भरपर्दा स्ट्राइकरको अभाव भएपछि चेल्सीले आँखा कोस्टामाथि परेको थियो। चेल्सी ऋणमा एटलेटिको म्याड्रिड पठाएका गोलरक्षक थिबट कुर्तोइसलाई पनि फिर्ता बोलाउने तयारीमा छ। बेल्जियमलाई विश्वकपको क्वार्टरफाइनलसम्म पुर्याउन कुर्तोइसले महत्त्वपूर्ण योगदान गरेका थिए। सन् २०११ मा चेल्सीमा आबद्ध भएका कुर्तोइस सोही सिजन एटलेटिको म्याड्रिड पठाइएका थिए। कोस्टा र कुर्तोइसको प्रदर्शनमा एटलेटिको गत सिजन स्पेनिस लिगको उपाधि जितेको थियो। एटलेटिको युरोपियन च्याम्पियन्स लिगको फाइनलमा पनि पुगेको थियो।
पछिल्लो समय कमजोर प्रदर्शन गरेको म्यानचेस्टर युनाइटेडले नयाँ प्रशिक्षक लुइस भान गालको आगमनसँगै एटलेटिको म्याड्रिडका रक्षक एन्डर हेरेरालाई भित्र्याएको छ। रियल म्याड्रिडका जर्मन मिडफिल्डर सामी खेदिरालाई भित्र्याउन इङलिस क्लबद्वय चेल्सी र आर्सनल लालायित देखिएका छन्। मोनाकोका क्लबहरू विश्वकपमा सफल देखिएपछि न्युकासल युनाइटेडले फ्रान्सका इमानुएल रिभायरलाई उक्त क्लबबाट तानेको छ।
Comments
Post a Comment