क्रिकेट रंगशालालाई २० करोड
अन्तर्राष्ट्रिय क्षेत्रमा राम्रो प्रदर्शन गरेपछि नेपाली क्रिकेटको भौतिक पूर्वाधार निर्माण गर्न सरकारले आइतबार आर्थिक वर्ष २०७१/७२ को बजेटमा विशेष व्यवस्था गरेको छ । अर्थमन्त्री रामशरण महतले प्रस्तुत गरेको बजेटमा क्रिकेट खेलमा प्राप्त गरेको उपलब्धिलाई जगेर्ना गर्दै यसको विकासका लागि मूलपानीको क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्यारापिट लगायतका पूर्वाधार निर्माण गरिने उल्लेख गरिएको छ । सरकारले यसका लागि छुट्टै २० करोड रुपैयाँ बजेट उपलब्ध गराउने भएको छ ।
खेलकुदको अरू भौतिक पूर्वाधारका लागि निश्चित बजेट नछुट्याए पनि अर्को तीन वर्षभित्र हरेक निर्वाचन क्षेत्रमा कम्तीमा एउट खेल मैदान निर्माण अभियानअन्तर्गत यस वर्ष थप ५३ निर्वाचन क्षेत्रमा खेल मैदान निर्माण गरिने उल्लेख छ ।
अर्थमन्त्री महतले भैरहवा क्रिकेट मैदान निर्माण गर्नुका साथै अन्य सम्भाव्य स्थानहरूमा क्रिकेट मैदान निर्माण कार्य सुरु गरिने बताएका छन् । यसअघि सरकारले मूलपानी क्रिकेट मैदान निर्माणका लागि ५ करोड रुपैयाँ उपलब्ध गराउने बताएको थियो । यस वर्ष पूर्वाञ्चलमा सातौं राष्ट्रिय खेलकुद हुने तय भए पनि सरकारले यसका लागि छुट्टै बजेटको व्यवस्था गरेको छैन ।
Comments
Post a Comment