खेलाडी ट्रान्सफरको गर्मी

ब्राजिलमा महीना दिनसम्म चलेको विश्वकप फूटबल सकिएसँगै युरोपियन क्लबहरुमा खेलाडी ट्रान्सफरको खबरले चर्चा पाउन थालेको छ । ब्राजिलमा महीना दिनसम्म विश्वकप फूटबल चल्यो । विश्वकपमा केही चम्किए भने केही फ्लप भएर घर फर्किए । त्यहीं विश्वकपको व्यक्तिगत प्रदर्शनलाई आधार मान्दै युरोपका प्रतिष्ठित क्लबहरुले खेलाडी ट्रान्सफर शुरु गरेका छन् ।
लुइस सुआरेज
विश्वकप फूटबलमा व्यवहारले आफूलाई ‘भिलेन’ देखाएका उरुग्वेका स्ट्राइकर लुइस सुआरेज खेल कौशलका हिसाबले भने स्टार बने । इंग्ल्याण्ड विरुद्धको खेलमा दुई गोल गरेर ‘हिरो’ बनेका उनी दोस्रोचरणको खेलमा इटालीका रक्षक जर्जियो चिलानीलाई टोकेर ‘भिलेन’ बने ।
तर, फिफाको चार महीने प्रतिबन्धमा परेका उनी स्पेनिश क्लब बार्सिलोनामा जाने पक्का भएको छ । बार्सिलोनाले उनका लागि रु.९ करोड ५० लाख खर्चिएको छ । यो रकम यो सिजनका लागि सर्वाधिक हो ।
एलेक्सिस सान्चेज
विश्वकपमा रवाफिलो प्रदर्शन गरेका चिलीका फरवार्ड एलेक्सिस सान्चेजका लागि आर्सनलले रु.४ करोड ४० लाख खर्च गर्ने भएको छ । विश्वकपमा अष्ट्रेलिया र ब्राजिललाई गोल ठोकेका सान्चेज यसअघि बार्सिलोनामा आवद्ध थिए ।
डिएगो कोस्टा
इन्टरनेट तस्वीर
ब्राजिलमा जन्मेर पनि स्पेनको राष्ट्रिय टीम रोजेका एथ्लेटिको म्याड्रिडका स्ट्राइकर डिएगो कोस्टालाई भने विश्वकपमा गरेको खराब प्रदर्शनका बाबजुद चेल्सीले रु.४ करोड खर्च गर्ने भएको छ । कोस्टाले गत सिजनमा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले धेरै बर्षपछि एथ्लेटिको म्याड्रिडलाई लिग च्याम्पियन बनाएका थिए भने टोली च्याम्पियन्स लिगको फाइनलमा पुगेको थियो ।
सेस फाब्रिगास
बार्सिलोनाबाट खेल्ने स्पेनी मिडफिल्डर सेस फाब्रिगास यस सिजनमा चेल्सी जाने भएका छन् । विश्वकपमा खासै अवसर नपाएका फाब्रिगास गत सिजन पनि बार्सिलोनामा त्यति चम्किएका थिएनन् । तर पनि उनका लागि इंग्लिस क्लबले रु.३ करोड ६० लाख खर्च गरेको छ ।
लुका शा
साउथप्टनका लागि खेल्ने १९ बर्षीय इंग्लिस डिफेण्डर लुका शा रु.३ करोड ४० लाखमा इंग्लिस महारथी क्लब म्यानचेष्टर युनाइटेड जाने भएका छन् । विश्वकपमा खराब प्रदर्शन गरेको इंग्लिस टोलीका सदस्य भए पनि उनलाई भविश्यको राम्रो स्टारको रुपमा हेरिएको छ ।
एडम लालाना
साउथप्टनकै एडम लालाना पनि लिभरपुल जाने भएका छन् । उनका लागि लिभरपुलले रु.३ करोड १० लाख खर्च गर्ने भएको छ । इंग्ल्याण्डका समेत खेलाडी रहेका मिडफिल्डर लालानाले गत सिजन साउथप्टनका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए ।
फर्नान्डिनो
विश्वकपमा खराब प्रदर्शनको प्रभाव ब्राजिली खेलाडीलाई परेको छ । म्यानचेष्टर सिटीका लागि खेल्ने ब्राजिलका मिडफिल्डर फर्नान्डिनो सस्तो रकममा पोर्चगाली क्लब पोर्टो जाँदैछन् । उनका लागि पोर्टोले रु.१ करोड १० लाख मात्र खर्च गर्ने भएको छ ।
रिकी लाम्बर्ट
विश्वकपमा गरेको खराब प्रदर्शनको असर इंग्लिस फरवार्ड रिकी लाम्बर्टलाई पनि परेको छ । उनी पनि सस्तो रकममा साउथप्टनबाट लिभरपुल जाने भएका छन् । इंग्लिस टोलीमा पनि ठाउँ बनाउन संघर्ष गर्नुपर्ने बेला भएका ३२ बर्षीय स्ट्राइकरका लागि लिभरपुलले रु.५० लाख मात्र खर्च गरेको छ ।
यस्तै, सर्बियाका डिफेण्डर नेमान्जा भिडिक म्यानचेष्टर युनाइटेडबाट इन्टरमिलानमा, चेल्सी तथा इंग्ल्याण्डका पूर्व डिफेन्डर एस्ली कोल इटालियन रोमा र चेल्सी तथा इंग्ल्याण्डका पूर्व मिडफिल्डर जे कोल एस्टन भिल्लामा फ्रि ट्रान्सफरमा परेका छन् ।
विश्वकपमा दमदार प्रदर्शन गरेका कारण विश्व विजेता टोली जर्मनीका मिडफिल्डरहरु वास्टिन स्वाइन्सटाइगर, थोमस मुलर, सामी खेडिरा, टोनी क्रुज लगायतलाई पनि इंग्लिस क्लबहरुले चासो देखाएको एजेन्सीहरुले जनाएका छन् ।

Comments

Popular Posts