'रोनाल्डो गर्भपतनबाट जोगिएका थिए'

रोनाल्डो भन्‍नेबित्तिकै फुटबलका ठूला खेलाडी भन्‍नैपर्दैन। यो नाम फुटबलकै कारणले विश्‍वभर चर्चामा आइरहन्छ। सुरुआतमा ब्राजिलका स्ट्राइकर रोनाल्डो यो नामको 'ब्रान्ड एम्बासडर' बने। उनीपछिको फुटबल पुस्तामा क्रि स्टियानो रोनाल्डो नाम गरेका अर्का खेलाडी थपिए। ब्राजिलका रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिन लाग्दा उदाएका क्रि स्टियानो रोनाल्डो पनि ठूला खेलाडीका रूपमा स्थापित भइसकेका छन्। व्यक्तिगत खेलाडीका रूपमा पोर्चुगिज रोनाल्डोले ब्राजिलका रोनाल्डोले भन्दा धेरै सफलता हात पारेका छन्।
उनले आफ्नो नामको 'ब्रान्डिङ' आफ्नै प्रतिभाले गरे। शारीरिक रूपमा समेत आकर्षक र यसै कारण पनि विश्‍वभर लाखौं समर्थक कमाएका रोनाल्डो दुईपटक विश्‍ववर्ष फुटबलर भइसकेका छन्। क्लब फुटबलमा समेत उनले उल्लेख्य सफलता हात पारिसकेका छन्। अहिले रोनाल्डो भन्नेबित्तिकै ब्राजिल कि पोर्चुगल भनेर छुट्याउनुपर्ने अवस्था छ। यिनै पोर्चुगिज स्टार कुनै समय उनकी आमाले जन्मिनुअघि नै पेटमै मार्ने योजनामा रहेको खुलासा भएको छ।
रोनाल्डोकी आमा डोलोरेस आभैरोको आत्मवृत्तान्तमा रोनाल्डो जन्माउन नचाहीकन जन्मिएको सन्तानका रूपमा व्याख्या गरिएको छ। गर्भपतन गराउन जाँदा चिकित्सकले अस्वीकार गरेका कारण आफू रोनाल्डोलाई जन्म दिन बाध्य भएको आभैरोले उल्लेख गरेकी छिन्। 'चिकित्सकले सहयोग गर्न अस्वीकार गरे पनि उनले बच्चा खेर जाओस् भनेर पेटमा अप्ठेरो पर्ने काम गर्थिन्। तातो बियर पिउने र अप्ठेरो शारीरिक अभ्यास गर्ने बानीले पनि बच्चा खेर गएन', आभैरोको आत्मवृत्तान्तमा खुलासा गरिएको एक रोचक पक्षलाई लिएर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समाचार लेखेका छन्।
यी सबै प्रयासबारे पछि रोनाल्डोले पनि थाहा पाएको पुस्तकमा उल्लेख छ। 'मैले थाहा पाएँ, तपाईंले मलाई गर्भपतन गराउन खोज्नु भएको रहेछ। आज हेर्नुस् मैले नै तपाईंको घरमा खुसियाली ल्याएको छ', रोनाल्डोको भनाइ उद्धृत गर्दै उनकी आमाले लेखेकी छिन्।

Comments

Popular Posts