पौडीको स्तर र गौरिका

अघिल्लो सातासम्म ११ वर्षकी गौरिका सिंह नेपाली खेलकुदका लागि अपरिचित नाम थियो। आमाबाबुसँग बेलायतमा बसोवास गर्ने उनको नेपाली खेलकुदसँग कुनै साइनो पनि थिएन। बिदा मनाउन नेपाल आउँदा उनलाई एउटा यस्तो मौका जुर्‍यो, जसका कारण उनी एकाएक नेपाली खेलकुदले गुमाउन नचाहने सम्पत्तिका रूपमा स्थापित भइन्।
डाक्टर बाबु पारस सिंह र २०५० सालको एसएलसीमा बोर्ड फस्ट भएकी आमा गरिमा राणासँगै ९ वर्षदेखि लन्डन बसेकी गौरिका अहिले बिदा मनाउन पुर्ख्यौली थलो नेपालमा छिन्।
हरेक वर्ष सिंह परिवार बिदा मनाउन नेपाल आउने गर्छ। तर यसपाली उनीहरू नेपालमा हुँदा सातदोबाटोमा १९औं राष्ट्रिय खुला पौडी प्रतियोगिता हुँदै थियो। गौरिका लन्डनमा पछिल्लो दुई वर्षदेखि पौडी प्रशिक्षण लिइरहेकी थिइन्। नेपालको राष्ट्रिय प्रतियोगिता खेल्न उनलाई कुनै छेकबार थिएन। आमाबाबुले पनि छोरीको प्रतिभा प्रस्फुटनको मौका दिए। यही मौका ११ वर्ष ७ महिनाकी किशोरीका लागि आफूलाई प्रमाणित गर्ने उपयुक्त थलो बन्यो। नेपाली खेलकुदका लागि चाहिँ त्यो एउटा दरिलो व्यंग्य थियो। कारण– गौरिकाले प्रतियोगितामा ७ राष्ट्रिय कीर्तिमानमा नाम लेखाइन्। गौरिकाले भंग गरेकामध्ये दुई कीर्तिमान उनको उमेरभन्दा जेठो थियो।
१० दिनअगाडि अपरिचित गौरिका अहिले एकाएक नेपाली पौडीमा चर्चाको शिखरमा छिन्। तर विदा मनाउन आएकी एउटी बालिकाले यहाँका नियमित र जेठो प्रतिस्पर्धीलाई उछिन्दै पदक जित्नु र कीर्तिमान बनाउनुले नेपाली पौडीको अवस्था उदांगो पारेको छ। खेलको दूरावस्था छर्लंग पार्दा यसले खेल प्रशासनसामु चुनौती पनि तेर्स्याएको छ। गौरिकाले ७ कीर्तिमान बनाइन् भने थप एक स्वर्ण पदक पनि जितिन्। उनले स्वर्ण जितेर कीर्तिमान नबनेको इभेन्ट १ सय मिटर फ्रिस्टाइल थियो।
साउन २ गते सातदोबाटोमा प्रतियोगिता सकिँदा उनको नाममा अर्को कीर्तिमान पनि बन्यो, एउटै प्रतियोगितामा सर्वाधिक कीर्तिमान बनाउने खेलाडी। त्यो उनको आठौं र मूल्यवान कीर्तिमान थियो। प्रशिक्षक ओङदेन लामा गौरिकाको कीर्तिमानले नेपाली पौडीको स्तर प्रस्ट्याएको स्वीकार्छन्। भन्छन्, ‘लन्डनमा खेल्ने एउटा जुनियर खेलाडीले नेपालमा सात कीर्तिमान बनाइन्। यसले हाम्रो स्तर देखाएको छ। हाम्रो समस्या पूर्वाधार र प्रतिस्पर्धी खेलाडी कम हुनु हो।'
नेपालमा पौडी खेलाडीले वर्षमा ४–५ महिनामात्र अभ्यास गर्न पाउँछन्। राष्ट्रिय स्तरको खेलाडीले मुस्किलले दुई घरेलु प्रतियोगिता खेल्ने अवसर पाउँछन्। त्यसमा पनि खेलाडीसंख्या अत्यन्तै न्यून हुन्छ। काठमाडौंमा मात्र सीमित भएकाले पौडीमा खेलाडी संख्या बढ्न नसकेको प्रशिक्षक लामाको बुझाइ छ। ‘देशभर पौडी पोखरी छैन। काठमाडौं बाहिर प्रतियोगिता हुँदैनन्,' उनले समस्या सुनाए, ‘आम नेपालीका लागि पौडी महँगो खेल पनि हो। अहिले बिस्तारै अभिभावकहरूले आफ्ना बच्चालाई पौडी खेलाउन थालेका छन्।'
२ सय मिटर ब्याकस्ट्रोकमा गौरिकाले १३ वर्षअघिको कीर्तिमान भंग गर्दा ६ जनामात्र प्रतिस्पर्धी थिए। १ मिटर बटरफ्लाईमा कीर्तिमान बनाउँदा पनि गौरिकाका ६ प्रतिस्पर्धी थिए। २ सय मिटर व्यक्तिगत मिड्लेमा गौरिकाले नयना शाक्यको नामको १२ वर्ष पुरानो कीर्तिमान तोड्दा ७ जनाले प्रतिस्पर्धा गरेका थिए। गौरिकाले सबै भन्दा बढी प्रतिस्पर्धी पाएको ५० मिटर बटरफ्लाईमा १४ जनाले भाग लिएका थिए। प्रतिस्पर्धी खेलाडीको संख्या कम हुनुलाई प्रशिक्षक लामा स्तर बढ्न नसक्नुको मुख्य कारण मान्छन्।
ओलम्पिक र एसियाडजस्ता ठूला प्रतियोगितामा पौडीको सहभागिता वाइल्ड कार्डमार्फत निश्चित हुन्छ। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको अनिवार्य खेलमा पर्ने भएकाले सबै अन्तर्राष्ट्रिय खेल महोत्सवमा पौडीको सहभागिता हुन्छ।
अन्तराष्ट्रिय सहभागिता भए पनि घरेलु संरचना कमजोर भएका कारण पौडीले फड्को मार्न नसकेको पौडी संघका अध्यक्ष अशोक वज्राचार्य बताउँछन्। नेपालमा पौडी काठमाडौंमा मात्र सीमित छ। पोखरा, धरान, नेपालगन्जमा पौडी पोखरी छन्। पोखरा र धरानको पौडी पोखरीमा प्रयोग भए पनि प्रतियोगिता हुँदैनन्। नेपालगन्जमा पौडी पोखरी निमार्णधीन अवस्थामा छ।
वज्राचार्यले भौतिक पूर्वाधार पौडीको मुख्य समस्या भएको बताए। ‘हामीसँग प्रतिभावान खेलाडी नभएका होइनन्। तर हामीले उनीहरूलाई पर्याप्त प्रशिक्षणको अवसर जुटाउन सकेका छैनौं,' उनले नागरिकसँग भने, ‘संघले पूर्वाधार निमार्णका लागि सरकारलाई आग्रह गरिरहेको छ। पौडीको विकास कल्पना गर्न पनि पहिला हामीसँग सबै सिजनमा खेल्न मिल्ने हिटिङ सिस्टमको पोखरी चाहिन्छ। अहिले हिउँदमा अभ्यास सम्भव छैन।'
पछिल्लो समय युवा खेलाडीमा संघले ध्यान दिइरहेको बताउँदै वज्राचार्यले उमेर भएपछि खेलाडीहरू अध्ययनका लागि विदेशिनु नेपाली पौडीको अर्को विडम्बना भएको बताए।
‘पदक जित्ने सम्भावनामा पुग्दा खेलाडी अध्ययनका लागि विदेश जाने क्रम रोकिएको छैन। हामीले नेपालमै खेलाडीलाई सुविधा दिन नसकेकाले यस्तो भएको हो,' उनले भने।
कीर्तिमानी पूर्वखेलाडी शैलेश राणा खेलाडीलाई प्रशिक्षण र प्रोत्साहनको कमीका कारण स्तर माथि उठ्न नसकेको बताउँछन्। शैलेशले भने, ‘पौडीको विकास गर्न नियमित प्रशिक्षण र खेलाडीको हौसला बढाउने कार्यक्रम हुनु जरुरी छ।'

Comments

Popular Posts