शताब्दीकै उत्कृष्ट

डिएगो म्याराडोना (अर्जेन्टिना)

विश्व फुटबल महासंघ (फिफा) ले म्याराडोनासँगै पेलेललाई २०औं शताब्दीको उत्कृष्ट खेलाडीमा चुनेको थियो। सन् १९६० को अक्टोबरमा ३० मा जन्मिएका म्याराडोना फुटबल इतिहासमा एकबाट अर्को क्लबमा दुईपटक विश्व कीर्तिमानी रकममा स्थानान्तरण हुने एक्लो खेलाडी हुन्। 
उनी बोका जुनियर्सबाट ५० लाख पाउन्डमा सन् १९८२ मा बार्सिलोना लागेका थिए। दुई वर्षपछि उनी अर्को कीर्तिमानी रकम ६९ लाख पाउन्डमा नेपोली लागे। नेपोलीमा उनलाई स्वागतमात्र ७५ हजार दर्शकले प्रत्यक्ष रंगशालामा उपस्थित भएर गरेका थिए। नेपल्सको टोलीबाट उनले १ सय १५ गोल गर्दा नेपोलीले दुई लिग र युइएफए कपसहित अन्य उपाधि जित्यो। म्याराडोना त्यहाँ १९९१ सम्म रहे।
म्याराडोनाले ४ विश्वकप खेले र चार फरक अन्दाजमा उनी यसैमा विश्वव्यापी बने। १९८२ को विश्वकपमा उनी ब्राजिलसँगको नकआउट चरण खेलमा रातो कार्ड पाएर बाहिरिए। १९८६ मा एकल प्रयासमा अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाए। इङ्ल्यान्डविरुद्धको क्वार्टरफाइनलमा उनले हातले गोल गरे, जसलाई म्याराडोना 'भगवान्को हात' भनेर वर्णन गर्छन्। सोही खेलमा उनले आफ्नो क्षेत्र (६६ यार्ड) बाट अगाडि बढाउँदै गरेको गोललाई पनि फिफाले शताब्दीकै उत्कृष्ट गोलमा चुनेको छ। बेल्जियमसँगको खेलमा पनि उनले व्यक्तिगत प्रयासमा दुई उत्कृष्ट गोल गरे। कुल ५ गोल गर्दै उनले प्रतियोगिताको उत्कृष्ट खेलाडीले पाउने गोल्डेन बुटको पुरस्कार पाए।
१९९० को विश्वकपमा उनले त्यस्तो प्रभाव पार्न नसके पनि अर्जेन्टिनालाई फाइनलसम्म पुर्यागए। फाइनलमा जर्मनीसँग अर्जेन्टिना १–० ले पराजित भयो। म्याराडोनाले आँसुको भेल बगाए। १९९४ को विश्वकपमा ग्रिसविरुद्ध समूह चरणको खेलमा गोल गरेका म्याराडोना प्रतिबन्धित औषधि सेवनका कारण प्रतियोगिताबाटै निकालिए।
खेलसँगै म्याराडोना विवादले पनि घेरिरहे। १९९१ मा कोकिन सेवन गरेकाले उनलाई १५ महिना खेल्न प्रतिबन्ध लगाइएको थियो। लागूऔषध सेवनका कारण उनी मृत्युको मुखमा पनि पुगे। पुनर्स्थापना केन्द्रका लागि क्युबा पुगेका म्याराडोना त्यहाँ पत्रकारमाथि हातपात गरेर चर्चामा आए।
अर्जेन्टिनाबाट ९१ खेलमा ३४ गरेका म्याराडोना २००८ मा राष्ट्रिय टोलीको प्रशिक्षक पनि भए। त्यो १८ महिनामात्र रह्यो। अर्जेन्टिना २०१० को विश्वकपमा जर्मनीसँग ४–० ले पराजित भएपछि उनी प्रशिक्षकबाट हटाइए। उनी पछि दुबईको अल वासल क्लबका पनि प्रशिक्षक बने।

पेले (ब्राजिल)

पेलेको वास्तविक नाम इडसन अरान्टेस डो नासिमेन्टो हो। उनको जन्म प्रमाणपत्रमा १९४० अक्टोबर २१ लेखिएको छ। पेले त्यो नभई दुई दिनपछि अक्टोबर २३ मा आफू जन्मेको दाबी गर्छन्। उनी सदाबहार फुटबलरमा पर्छन्। फिफाले मात्र नभई उनलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले पनि शताब्दीको उत्कृष्ट खेलाडीमा चुनेको थियो। इन्टरनेसनल फेडेरेसन अफ फुटबल हिस्ट्री एन्ड स्टाटिस्टिक्सले ५ सय ४१ गोलसाथ पेले लिगमा सर्वाधिक गोल गर्ने खेलाडी भएको दाबी गरेको छ। पेलेले १३ सय ६३ खेलमा कुल १२ सय ८१ गोल गरे। त्यसमा केही आधिकारिक नभएको खेल मैत्रीपूर्ण भ्रमणमा खेलेका गोलहरू पनि छन्। सर्वाधिक गोलका लागि यही कारण उनलाई गिनिज वर्ल्ड कीर्तिमानमा राखिएको छ।
पेलेले १५ वर्षमै सान्तोसबाट खेल्न सुरु गरे। अर्को वर्ष अर्जेन्टिनाविरुद्ध उनले ब्राजिली राष्ट्रिय टोलीबाट पहिलो खेल नै खेले। उनले 'डेब्यु' मै गोल गरेर नयाँ स्टारको संकेत दिए। उनले ब्राजिलबाट ९२ खेल खेल्दै ७७ गोल गरे, जुन अहिलेसम्मकै ब्राजिली कीर्तिमान हो। पेलेले ब्राजिललाई १९५८, १९६२ र १९७० को विश्वकप दिलाउन महत्वपूर्ण भूमिका खेले। पेलेकै कारण सान्तोसले १९६२ र ६३ को कोपा लिबेर्टाडोरेज कप जित्यो।
घुँडाको चोटसाथ पेले १९५८ को विश्वकप खेल्न स्विडेन पुगे। प्रतियोगिताको मात्र नभएर सो समयमा विश्वकप इतिहासकै कान्छो खेलाडी बनेका पेलेले वेल्सविरुद्ध क्वार्टरफाइनलमा गोल गरे। उनी १७ वर्ष २ सय ३९ दिनका थिए। फ्रान्ससँग सेमिफाइनलमा ब्राजिल मध्यान्तरसम्म २–१ ले अगाडि थियो र पेलेले त्यसपछि ह्याटि्रक गरे। पेले सबैभन्दा कम उमेरमा ह्याटि्रक गर्ने खेलाडी हुन्। ब्राजिलले स्विडेनलाई फाइनलमा ५–२ ले पराजित गर्दा २ गोल थपेका पेलेलाई प्रतियोगिताकै उत्कृष्ट युवा खेलाडीको पुरस्कार दिइएको थियो। पेले फाइनलपछि तत्कालै आफ्नो चोटको उपचार गराउन मैदान छाडेका थिए।
१९६२ को विश्वकपमा उनी सुरुआतमै घाइते भए। मेक्सिकोसँग पहिलो गोलमा सहयोगीको भूमिका खेलेका पेलेले त्यसपछि गोल पनि थपे। तर चेकोस्लोभाकियासँग अर्को खेलमा घाइते भएपछि उनी विश्वकपबाट बाहिरिए। १९६६ को विश्वकपमा ब्राजिल समूह चरणबाटै बाहिरियो। पेलेले त्यसमा कीर्तिमान बनाउन भ्याइसकेका थिए। बुल्गेरियासँग गोल गरेपछि पेले लगातार विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बने।
१९६६ को विश्वकपपछि पेलेले फेरि नखेल्ने घोषणा गरेका थिए। १९६९ मा उनलाई फेरि खेल्न अनुरोध गरियो। पेलेले पहिला अस्वीकार गरे पनि पछि मानेका थिए। उनले १९७० को विश्वकप छनोट चरणको ७ खेल खेल्न भ्याए। मेक्सिकोमा पेलेले ४ गोल गर्दै ब्राजिललाई तेस्रोपल्ट विश्वकप दिलाए। तीनपटक विश्वकप उपाधि जित्ने उनी एक्लो खेलाडी हुन्। इटालीसँग फाइनलमा गरेको उनको हेड गोल विश्वकपकै उत्कृष्ट गोलमा पर्दछ। उनलाई प्रतियोगिताको उत्कृष्ट खेलाडीका लागि गोल्डेन बुट प्रदान गरिएको थियो। १९७१ को जुलाईमा औपचारिक रूपमै फुटबल खेलाडीबाट बिदा लिएयता पेलेले विभिन्न पक्षसँग जोडिएर फुटबल सद्भाव दूत बनेर काम गरिरहेका छन्।

रोनाल्डो (ब्राजिल)

रोनाल्डो फिफा वर्ष खेलाडी तीनपटक जित्ने केवल तेस्रो खेलाडी हुन्। जिनेदिन जिदान र लियोनल मेसी अर्का दुई खेलाडी हुन्, जसले तीनपटक वा सो भन्दा बढी पटक वर्षको उत्कृष्ट खेलाडीमा चुनिएका छन्। रोनाल्डोले ९८ खेलमा ६२ गोल गर्दै ब्राजिलबाट दोस्रो सर्वाधिक गोल गर्ने कीर्तिमान बनाए। उनी १९९४, १९९८, २००२ र २००६ गरी चार विश्वकपको ब्राजिली टोलीमा थिए। ब्राजिल विश्वकपमा उनीसँगै अमारिल्डो, बेबेटो, कार्लोस अल्बर्टो टोरेज, मार्टा र मारियो जगालो सद्भाव दूत हुन्।
१९९४ को विश्वकप ब्राजिलले जित्दा रोनाल्डो टोलीमा रहे पनि उनले कुनै खेल खेलेका थिएनन्। १९९८ मा उनले ब्राजिललाई फाइनलसम्म डोर्या ए, जहाँ उनको टोली फ्रान्ससँग ३–० ले पराजित भयो। ४ गोल गर्नुका साथै ३ एसिस्टका लागि उनी गोल्डेन बलमा चुनिँदै प्रतियोगिताको उत्कृष्ट खेलाडीमा चुनिए। २००२ को विश्वकप अगाडि घुँडाको लिगामेन्ट शल्यक्रियाका कारण उनले बिरलै मात्र खेलेका थिए। इङ्ल्यान्डसँगको क्वार्टरफाइनलमा बाहेक उनले सबै गोल गरे। ८ गोल गरेर ब्राजिललाई कीर्तिमानयुक्त पाँचौं विश्वकपमात्र दिलाएनन् लगातार दोस्रोपटक प्रतियोगिताको उत्कृष्ट खेलाडीमा पनि चुनिए। २००६ को विश्वकपमा उनले घानाविरुद्ध गोल गरेर प्रतियोगितामा सर्वाधिक १५ गोल गर्ने कीर्तिमान बनाए। यही विश्वकपमा जर्मनीका मिरोस्लाभ क्लोजले उनको यो कीर्तिमान भंग गरे। तर उनको टोली फेरि फ्रान्ससँग क्वार्टरफाइनलमा पराजित भयो।
विभिन्न चोटले सताइएपछि रोनाल्डोले २०११ को फेब्रुअरी १४ मा खेलाडी जीवनबाट संन्यास लिए। स्पेनको बार्सिलोना र रियाल मड्रिड तथा इटालीको इन्टर मिलान र एसी मिलानबाट उनी क्लब फुटबलमा छाए। ब्राजिली क्लब त्रु्कजेरोबाट क्लब फुटबल सुरु गरेका उनले घरेलु अर्को टोली कोरिथियन्समा गएर बुट थन्काए।

लोथर म्याथ्युज (जर्मनी/पश्चिम जर्मनी)

विश्वकपका पाँच संस्करण खेल्ने म्याथ्युज केवल दोस्रो खेलाडी हुन्। १९८२, १९८६, १९९०, १९९४ र १९९८ को विश्वकपमा गरी कुल २५ खेल खेल्दै अर्को कीर्तिमान म्याथ्युजको नाममा छ। १९९० मा उनकै कप्तानीमा पश्चिम जर्मनीले तेस्रोपल्ट विश्वकप जितेको थियो। १९९१ मा उनी फिफा वर्षको उत्कृष्ट खेलाडीमा चुनिएका थिए। यो सम्मान पाउने एक्लो जर्मन खेलाडी हुन्। उनले पश्चिम जर्मनीबाट ८३ गरी जर्मनीबाट कुल १ सय ५० अन्तर्राष्ट्रिय खेल खेले, जुन जर्मन खेलाडीको अर्को कीर्तिमान हो। उनको नाममा २३ गोल छ।
पेलेले चुनेको फिफाका १ सय उत्कृष्ट खेलाडीमा म्याथ्युज पनि छन्। म्याराडोनाले आफ्नो आत्मकथा 'आएम डिएगो' मा म्याथ्युजबारे भनेका छन, 'मैले खेलेकाहरूमा म्याथ्युज सबैभन्दा ठूला प्रतिद्वन्द्वी हुन्, मलाई लाग्छ उनको वर्णन गर्न यही नै काफी छ।' स्विपरका रूपमा आफ्नो खेलजीवन सुरुआत गरे पनि मिडफिल्डरमा उनी जमेका थिए।
उनले जर्मनीबाट १९८२, १९८६ र १९९० गरी तीन विश्वकप फाइनल खेले। उनको टोली १९८२ मा इटालीसँग ३–१ ले र १९८६ मा अर्जेन्टिनासँग ३–२ ले पराजित भयो। १९९० मा जर्मनीले अर्जेन्टिनासँग त्यसको बदला लिँदै म्याथ्युजको कप्तानीमा सान सिरोमा विश्वकप ट्रफी उचाल्यो। त्यो समयमा इन्टर मिलानबाट खेल्ने हुनाले उनका लागि त्यो घरेलु मैदानजस्तै थियो। मिडफिल्डर म्याथ्युजले युगोस्लाभियासँगको समूह चरणमा २ गोल गरी प्रतियोगितामा कुल ४ गोल गरे। त्यसमा एक गोल प्रतियोगिताकै उत्कृष्ट गोलमा पर्दथ्यो। उनले मध्यभागबाट एक्लै अगाडि बढाएर एकपछि अर्को विपक्षी छलाउँदै गोल गरेका थिए। चेकोस्लोभाकियासँग क्वार्टरफाइनलमा उनकै पेनाल्टी गोलमा जर्मनी विजयी भयो।
१९९४ मा उनकै पेनाल्टी गोलमा जर्मनीले अग्रता लिए पनि उनको टोली बुल्गेरियासँग २–१ ले पराजित भयो। १९९८ मा उनलाई आश्चार्यजनक रूपमा टोलीमा राखिएको थियो। म्याथ्युज समर घाइते भएकाले उनलाई टोलीमा डाकिएको थियो। अमेरिकासँगको खेलमा बेन्चमै रहेका उनले प्रतियोगिताको बाँकी सबै खेलमा सहभागिता जनाए। तर उनको टोली क्वार्टरफाइनलबाटै बाहिरियो।

Comments

Popular Posts