फाइनलअघि नै जर्मनीले हुलाक टिकट छापेको खुलासा

विश्वकप फुटबलको फाइनल खेल हुनुअघि नै जर्मनीले आफ्नो टोलीले उपाधि जितेको खुसियाली मनाउन हुलाक टिकट छपाएको रहस्य खुलेको छ। जर्मनीले आइतबार राति मात्र फाइनलमा अर्जेन्टिनालाई हराउँदै उपाधि जित्यो। जर्मनीको हुलाक विभागले भने त्यसअघि नै आफ्नो टोलीको जितलाई समेटेर हुलाक टिकट छपाउन पठाइसकेको थियो। 
हुलाक विभागले विश्वकप उपाधिको खुसियाली मनाउन ५० लाख हुलाक टिकट छपाएको समाचारमा जनाइएको छ। यदी विश्वकपको फाइनलमा अर्जेन्टिनाले जर्मनीलाई हराएको भए ०.६० सेन्ट मूल्यका ती टिकट काम लाग्ने थिएनन्।
धन्य मारियो गोएट्ज, जसले अतिरिक्त समयमा गोल गरेर जर्मनीलाई चौथोपटक विश्वकप दिलाए। हुलाक टिकट छपाउन जर्मनीको वित्त मन्त्रालयनले निर्देशन दिएको बताइएको छ। जर्मनीले विश्वकप नजितेको भए हुलाक टिकट प्रकाशनबाट त्यहाँको हुलाक विभागले ठूलो रकम क्षति ब्यहोर्नुपर्ने हुन्थ्यो। 
यसअघि जर्मनीले फाइनल खेलअघि नै आफ्नो टोलीले उपाधि जित्ने विश्वासका आधारमा खुसियाली मनाउन सम्पूर्ण तयारी गरिसकेको थियो। फाइनल खेल हुनुभन्दा एक दिनअघि नै जर्मन फुटबल संघले उपाधिको खुसियाली मनाउन बर्लिनको ब्रान्डेनबर्ग गेटमा आवश्यक तयारी पूरा गरेको थियो।

Comments

Popular Posts