मेसी हुनुको दबाब

रोसारीयोमा उनी जन्मेको घर सुनसान छ। त्यहाँ अहिले कोही पनि बस्दैनन्। अहिले पनि उक्त घर मेसीकै परिवारको नाममा छ। उनका छिमेकी जो त्यहाँ ४० वर्ष देखि बसिरहेका छन्, उनीहरु मेसी प्रख्यात हुनुअघीका कुरा सम्झन्छन्, 'सानो फुच्चे थियो। यही गल्लिमा फुटबल खेल्थ्यो।' अर्जेन्टिनाभर कहि पनि नदेखिएको उनको उपस्थिति त्यहाँ देखियो। तर, अर्जेन्टिनामा उनको अस्तित्वबारे मानसिक भ्रमको द्वन्द्व चलिरहेको छ। यद्दपी अर्जेन्टिनी टिमलाई उनी चाहिएको छ। उनी राष्ट्रले बोकाएको श्रृण तिर्न चाहन्छन्।
लियोनेल मेसीले १३ वर्षको उमेरसम्म अर्जेन्टिनाको जुन ठाउँमा बिताए त्यहाँका बासिन्दाले बोल्ने स्पेनिस अन्यत्र भन्दा फरक छ। उनीहरू 'यो' लाई 'सो' उच्चारण गर्छन् जुन् स्पेनिसमा 'म' भन्ने बुझिन्छ। उनीहरूले अंग्रेजी शब्दको 'वाई' लाई 'एसएच' उच्चारण गर्छन्। यस्तो उच्चारणले अर्जेन्टाइन स्पेनिसलाई झनै मिठासपूर्ण बनाएको छ, जुन ब्राजिलमा बोलिने पोर्चुगाली भाषासँग मिल्न खोज्छ। मेसीलाई आफ्नो जगसँग जोडने मुख्य माध्यम भाषामात्र भएको छ। त्यसैले यहाँ भाषाको कुरा यसकारण महत्वपूर्ण छ।
उनी पछिल्लो ९ वर्ष देखी स्पेनीस क्लब बार्सिलोनाको प्रतिनिधित्व गर्दै क्लब फुटबलमा सम्भव सबैखाले सफलता हासिल गरिरहेका छन्। आफ्नै प्रेरणामा उनी क्लबलाई धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता जिताउन सफल भएका छन्। बार्सिलोनाबाट उनले आफ्नो नाममा कैयौं व्यक्तिगत कीर्तिमान बनाइसकेका छन्। सन् २०१२ मा मात्रै मेसी ६९ खेलमा ९१ गोल गर्न सफल हुनु उनको क्लब र देश दुवैका लागि गर्वको विषय थियो। यस्तै, उनी पाँच वर्षमा चारपटक फिफा विश्व वर्ष खेलाडीको उपाधि जित्ने कीर्तिमानी खेलाडी हुन्। खेल कौशल कै कारण २७ वर्षको कलिलो उमेरमै उनी फुटबलले पछिल्लो समय पाएको महान् खेलाडीका रुपमा चित्रित हुन थालेका छन्। खेलमा नियन्त्रण, तेज गति र देब्रे खुट्टाको सशक्त प्रहारका कारण उनलाई अद्वितिय खेलाडीका रुपमा हेरिन्छ।
संसारलाई खेलको जादुले मन्त्रमुग्द बनाउन सफल भए पनि आफ्नो जन्मस्थान अर्जेन्टिनामा भने मेसीका प्रशंसक निकै कम छन्। क्लबका लागि धेरै अविस्मरणीय खेल खेले पनि आफ्नो देशका लागि खेल्दा भने उनले जारी विश्वकपअघिसम्म त्यही चमत्कार देखाउन सकेका थिएनन्। वाल्यकालमै अर्जेन्टिना छोडेका उनलाई पूर्ण अर्जेन्टाइन नमान्ने जमात पनि ठूलै छ।
उनको गृहनगर बियुनस एरिसको रोसारीयोमै उनका बारे आलोचनात्मक टिप्पणी गर्ने थुप्रै भेटिन्छन् – ट्याक्सी चालक देखि व्यावसायिक प्रशिक्षकसम्म। 'मेसीले धेरै चाँडो देश छोडे, उनले म्यारोडोना र टेभेज जस्तै केही समय देशमै पहिलो डिभिजन लिग खेल्नुपर्थ्यो। उनले अर्जेन्टिनी राष्ट्रिय गान अन्य खेलाडीसँग गाउँनै सक्दैनन्, उनमा अर्जेन्टिनाको राष्ट्रिय जर्सी लगाउनुको उत्साह देखिँदैन,' यी र यस्तै व्यक्तिगत आलोचनाका कारण मेसीले कुनै समय अर्जेन्टिनाबाट नखेल्ने निधो गर्न आँटिसकेका थिए। तर, कसैले आरोप लगाउन नसक्ने र अर्जेन्टिनासँग जोडिराख्ने सशक्त पक्ष उनको लवज हो। जसमा अर्जेन्टाइन मिठास अझै उस्तै छ। उनी रोसारीयोमै हुर्केबढेका हुन। उनको लवजले पनि त्यही प्रमाण दिन्छ। त्यहि लवजका कारण अर्जेन्टिनासँग टुट्न लागिसकेको उनको सम्बन्ध जोडिइरहेको छ।

अर्जेन्टिनाका फुटबल रिपोर्टर मार्टिन माजुर भन्छन्, 'यसलाई मेसीसँग भएको उपहार नै मान्नुपर्छ, त्यही लवजका कारणमात्र उनी अर्जेन्टिनासँग अहिले पनि जोडिएका छन्। नत्र त कट्टरपन्थीहरुले उनलाई मारीसक्थे।'
समर्थकबीच निकै आलोचित भए पनि मेसीलाई बियुनस एरिसमा सबैतिर देख्न सकिन्छ। अर्जेन्टिनाको राजधानीभन्दा केही बाहिरको एजिजा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको स्वागत मेसीको तस्विर अंकित विज्ञापनले गर्छ। यस्तै, सडक छेउका प्राय सबै होर्डिङ बोर्डमा मेसी नै छाएका छन्। यसले उनी आलोचनाका बीच कति लोकप्रिय छन् भन्ने बयान गर्छ।
व्यापारिक महत्व बढी भए पनि उनी कति आलोचित छन् भन्ने बियुनस एरिसको ट्याक्सी ड्राइभरको भनाईले पुष्टी गर्छ। उनले भने, 'हामीलाई मेसीको खेल निकै मनपर्छ। तर, उ को हो भनेर हामीलाई थाह छैन। अमेरिकी सबैले म्यारोडोनालाई प्रेम गर्छन्। मेसीलाई भने त्यो नजरले हेरिँदैन।'
अर्जेन्टिनामा यस्तो तुलनाबाट भाग्नै सकिन्न। म्यारोडोनालाई सर्वत्र इतिहासकै महान खेलाडीका रुपमा हेरिन्छ। उनले यूरोपियन क्लबबाट खेल्दाको सफलताको खुलेर प्रशंसा गरिन्छ। त्यो भन्दा बढि उनले सन् १९८६मा अर्जेन्टिनालाई विश्वकप दिलाएको चर्चा हुन्छ। म्यरोडोना चित्रण यहाँ 'लार्जर द्यान लाईफ'को रुपमा गरिन्छ। तर, मेसीको भने प्रशंसा सुरु हुनु अघि नै अन्त्य हुन्छ।
मेसीले मैदानमा म्यारोडोनालाई उछिनीसकेको सोच्ने पनि धेरै छन्। सानो उमेरमै क्लबस्तरमा धेरै गोल गरे। अर्कोतर्फ आलोचकहरू उनले यसपालीको विश्वकप दिलाए पनि म्यारोडोनाको बराबरी गर्न नसक्ने ढिट छोडन तयार छैनन्। अर्जेन्टाइन लेखक मार्टिन कापार्रोस भन्छन्, 'म्यारोडनालाई ठूलो फाइदा छ उनलाई कोही जस्तो हुनुछैन। तर मेसीलाई भने म्यारोडोना जस्तो हुने दबाव भइरहन्छ।'
अर्जेन्टिनी फुटबल क्लब हुर्राकानको जिममा भेटिएका व्यावसायीक पूर्व बक्सर पाब्लो रोडरिग्वेजलाई विश्वकपको नतिजासँग कुनै मतलब छैन। उनलाई आफ्नो क्लब हुर्राकानले कस्तो खेल्छ भन्नेसँगमात्र चासो छ। उनले म्यारोडोना र मेसीबिचको भिन्नतालाई यसरी बयान गरे, 'म्यारोडोनाले आफ्नो सिप हिलोमा तिखारे। उनी बियूनस एरिसको दक्षीणतिरको सुकुम्बासी क्षेत्रमा हुर्के। मेसीसँग म जोडिन सक्दिन। उनी को हुन् मलाई थाह छैन। बरु कार्लोस टेभेज आदिवासी हुन्। उनलाई प्रशिक्षकले यसपाली राष्ट्रिय टिममा नराख्ने भन्दा मलाई अचम्म लागेन। तर, पहिचानलाई लिएर म मेसीको सट्टा टेभेजलाई रोज्छु।'

.........
सानोमा मेसी खन्चुवा थिए। उनलाई आमाले बनाएको 'ब्रेडेड बिफ कटलेट विथ टोम्याटो सस एन्ड मेल्टेड चिज' खुब मनपर्ने खाना थियो। जुन हप्ताको कयौँपटक आमाले उनकै निम्ती विशेष रुपले बनाउँथिन्, नभए उनी खाना खान मान्दैनथे। किशोरावस्थामा रोसारियोमा मेसीलाई प्रशिक्षित गरेका कार्लोस मार्कोनीका अनुसार मेसीलाई चक्लेट कुकिज 'अल्फाहोरेस' असाध्यै मिठो लाग्थ्यो।
'मेसी र मबीच एउटा समझदारी थियो, हरेक गोलका लागि एउटा कुकिज। समस्या के थियो भने उनी हरेक खेलमा चार देखि पाँच गोल गर्थे,' मार्कोनीले एक पुरानो टिभी अन्तरवार्तामा भनेका छन्, 'उनी कुशलतापूर्वक बल नियन्त्रण गर्न सक्ने सबैभन्दा फुच्चे खेलाडी थिए। थप उत्साहित गर्न मैले उनले हेडमा गरेको गोलका लागि दुईवटा कुकिज दिने घोषणा गरेँ।' मार्कोनीका अनुसार त्यसपछि मेसी गोलकिपरलाई समेत छलाएर बल गोलपोष्टको नजिक पुर्या उँथे र बललाई हावामा उडाएर हेड गर्थे, अनी आफूतिर हेरेर दुईटा औँला देखाउँथे।
'लियो'का बारे यस्ता अनेकन किस्साहरू उनको शहर रासारियोमा सुन्न पाइन्छ। अर्को रोचक कथा, उनी खेलको पहिलो हाफ बाथरुममा थुनिए। कसैगरी ढोका फोडेर निस्किए र दोस्रो हाफमा तीन गोल गरेर टिमलाई विजयी बनाए। वयस्क भएर स्पेनमा खेल्दा पनि उनको किस्सामा कुनै कमी आएको छैन – १९ वर्षको उमेरमा स्पेनिस क्लब गेटाफे विरुद्ध एकल प्रयासमा गरेको उत्कृष्ट गोल होस् या गत वर्ष मात्रै धेरै साँघुरो एंगलबाट दिशा परिवर्तन गरेर एथलेटिक बिल्बाउविरुद्धको गोल। बिल्बाउविरुद्ध गरेको त्यो गोल पश्चात कमेन्ट्रि गर्दा कहिल्यै संयम नगुमाउने प्रख्यात कमेन्टेटर रे हड्सन चिच्याउन पुगेका थिए। उनले भनेका थिए, 'मेसी भनेका सर्जनको हातमा भएको स्क्यापेल जस्तै हुन्, जसले थाहै नदिई तपाईँलाई क्रुरताका पूर्वक चिर्ने क्षमता राख्छ।'
प्राविधिक दृष्टिकोणमा मेसीको सबैभन्दा सबल पक्ष देब्रे खुट्टाले बल नियन्त्रण गर्दै सबैभन्दा तेज दौडिन सक्नु हो। उनको जस्तो खेल कौशल, मैदानमा ठिक समयमा आफ्ना लागि स्पेस सिर्जना गर्ने क्षमता फुटबल इतिहासमै अरु कुनै खेलाडीसँग नभएको मानिन्छ। मेसी जब फर्ममा हुन्छन्, उनलाई रोक्न लगभग असम्भव नै हुन्छ। रंगशालामा उपस्थित सबैलाई थाहा हुन्छ, उनले बल देब्रे दिशा तर्फ नै मोड्छन्। तर, उनलाई यसो गर्नबाट रोक्न भने कसैले सक्दैन। उनको अझै ठूलो क्षमता चाही बललाई विपक्षी पोस्टको जाली चुमाउनु हो।
धरातलीय यथार्थमा उनी अझै कलिलै छन्, जसले कुकिजकै लागि गोल गर्थ्यो। उनी अहिले पनि केटाकेटीले झैँ केही नसोची खुला दिमागले खेल्छन्। १३ वर्षको कलिलो उमेरमै असाधारण खेलाडीको पहिचान बोकेर मेसी बार्सिलोना पुगेका थिए। आफ्नो नयाँ प्रशिक्षकलाई आश्चर्यचकित बनाउँदै उनी अभ्यासमा एक्लै बल लगेर गोल गर्थे र मैदानमा आफूबाहेक कोही नभएझै गरी आफ्नो क्षेत्र तर्फ फर्किन्थे। मेसीले खेल्दा लाग्थ्यो विपक्षी टोलीका ११ खेलाडी जीवित मानव नभएर केवल बुख्याचा हुन्।
खेल्ने शैलीलाई लिएर उनीसँग एकफेर प्रश्न गरिएको थियो, 'तपाईँ आफूलाई स्पेनीस ठान्नुहुन्छ कि अर्जेन्टाइन?' उनले जवाफमा भनेका थिए, 'अर्जेन्टाइन, किनकी म यहाँ हुर्के–बढे र धेरै कुरा यहीँ सिके पनि। म अहिले पनि त्यसरी नै खेल्छु, जसरी यहाँ बच्चामा खेल्थेँ।'
रोसारीयो शहर राजधानी बियुनस एरिसबाट लगभग २९० माइल उत्तर–पश्चिम रियने परानाको कुनामा पर्छ। यो चे गुभाराको जन्मस्थान, अर्जेन्टिनाको पहिलो झन्डोत्तोलन भएको ठाउँ पनि हो। यो अर्जेन्टिनाकै सबैभन्दा सुन्दर महिलाहरू बस्ने ठाउँ पनि हो। त्यसैले यसलाई अर्जेन्टिनाको निकै महत्वपूर्ण शहरमा गनिन्छ।
मेसीले सानो छँदा खेलेको 'न्यूवेल क्लब'को मैदानमा ब्राजिलमा विश्वकप सुरु हुन केही समयमात्र बाँकी रहँदा सन्ध्याकालमा अभ्यासरत केटाहरूलाई हेरीरहेका केही वृद्धहरूले भने, 'हामीलाई थोरै भए पनि गर्व लाग्छ, मेसीले यहि मैदानमा खेलेर फुटबल जीवन सुरु गरेका थिए। तर, हामीलाई यो क्लबले लिग उपाधी जित्यो भने झनै बढि खुसी लाग्छ।' मेसीको नेतृत्वमा अर्जेन्टिनाले विश्वकप जित्नुभन्दा बढि उनीहरुको चाहना न्युवेल क्लबले घरेलु लिग उपाधि जितेको हेर्ने छ। स्थानीय वृद्धरूले यस्तो भावना पोखिरहँदा पत्रकार माजुर भन्दै थिए, 'विश्वकप सुरु नहुन्जेलसम्म पर्खिनुस, त्यसपछि यिनीहरूले विश्वकप बाहेक केहीको पनि कुरा गर्दैनन्।'
........
मेसी जब १० वर्षका थिए, उनको मावलीकी हजुरआमा सेलिया बितिन्। उनी नै थिईन्, जसले मेसीलाई व्यवस्थित तवरले फुटबल खेल्न प्रेरित गरिन्। उनले गोल गरेपछि गर्ने सेलिब्रेसनमा प्राय छातीमा 'क्रस' बनाएर दाहिने हात चुम्छन् र चोरी औँला आकाश तर्फ देखाउँदै माथी हेर्छन्। उनले यसो गर्नुको पछाडीको कारण बयान गर्दै भनेका छन्, 'मैले हजुरआमाको सम्मानमा त्यसो गरेको हुँ। उहाँले म सफल भएको हेर्न पाउनुभएन।' सेलिया बिते लगत्तै मेसीको परिवार र परिक्षक दुवैले, उनी आफ्नो उमेरका सामान्य केटाहरू भन्दा निकै होचो छन्, यसले उनको खेलमा प्रभाव पार्न सक्ने कुरा खुट्याए। चिकित्सकले उनमा बढ्ने हार्मोन कमी रहेको तथ्य फेला पारे। मेसीलाई सामान्य उचाई हासिल गर्दै शुरु हुन लागेको व्यावसायिक फुटबल करिअर जोगाउन दैनिक सुई लिनु पर्नेभयो।
उपचार निकै महंगो थियो। दुई वर्ष त उनको बाबु काम गर्ने स्टिल कम्पनीको इन्स्योरेन्सले भ्यायो। त्यसपछिको उपचारका लागि उनले आफ्नो क्लब न्यूवेललाई आग्रह गरे। क्लबले सहमति जनायो। तर, केही समयको उपचारपछि मेसीको परिवारले विकल्प खोज्ने निर्णय गर्यो्। संयोग एक पारिवारिक मित्रले विश्वको धनी क्लबमध्येको एक 'बार्सिलोना'मा चिनजान रहेको बताए, परिवार त्यो विकल्पमा प्रयास गर्न आतुर भयो। जब मेसी ट्रायल दिन बार्सिलोना पुगे त्यतिबेला क्लबका प्राविधिक निर्देशक चार्ली रेक्साक ओलम्पिक हेर्न अस्ट्रेलिया पुगेका थिए। मेसीले लगभग दुई हप्ता क्लबसँग अभ्यास गरे। रेक्साकले फर्किएपछि मेसीलाई उनी भन्दा अग्लासँग खेलाउन अह्राए। आफूभन्दा शारिरिक रुपमा ठूला र बलियासँगको खेलमा मेसी जमेपछि रेक्साक तत्कालै त्यो सानो ठिटोलाई अनुबन्ध गर्न राजी भए। १३ वर्षको उमेरमा मेसीको करिअरले बार्सिलोनाको एकेडेमीमा राम्रो साथ पायो। उनी आफ्नो बाबुका साथ बार्सिलोना बसाई सरे। दिउँसो स्कुल, बेलुका अभ्यास, त्यसपछि हार्मोनको इन्जेक्सन उनको दिनचर्या बन्यो। व्यावसायिक र स्वास्थ्यका दृष्टीमा मेसीले नयाँ जीवन पाएका थिए। तर जन्मथलो छोड्नुपर्दा सानो उमेरका मेसी एक्लोपनबाट ग्रसित भए। बाबुले नदेख्ने गरि कोठामा चुकुल लगाएर धेरैबेर रोइरहनु पनि उनको दैनिकीमा समेटियो। त्यसैले गरिबीबाट ग्रस्त भएर दुःख नपाए पनि उनले दुःखको सामनै गरेनन् भन्नु अनुचित हुन्छ।
मेसीले अहिले पनि दुःख भोगीरहेका छन्। उनले क्लबस्तरको खेल देशका लागि खेल्न सकेका थिएनन्। जसका कारण उनको धेरै आलोचना भएको थियो। बार्सिलोनाको स्वर्णिम पुश्तामा रहेका प्रतिभावान मिडफिल्डरहरुको साथलेमात्र मेसी सफल भएको आलोचकहरुको दावी रहँदै आएको थियो। आलोचकहरु मेसीमा साच्चै असाधारण क्षमता भए त्यो अर्जेन्टिनी टोलीबाट खेल्दा पनि देखिनुपर्ने तर्क गर्थे। उनी झनै बढि आलोचित भए जब अर्जेन्टिना २०११ को 'कोपा अमेरिका कप' मा क्वार्टरफाइनलबाटै बाहिरियो। तर अहिले मेसीका लागि दृष्य फेरिएको छ। आलोचकहरु प्रशंसक बन्न थालेका छन्। किनकी पछिल्लो समय अर्जेन्टिनाका लागि उनले गरेको प्रदर्शनले सबै आलोचकको मुख थुनिसकेको छ।
समय उनको पक्षमा आयो। विश्वकप छनोटमा उनले धेरै राम्रो प्रदर्शन गरे – ब्राजिललाई अर्जेन्टिनाले ४–३ले पराजित गर्दा मेसीले ह्याटि्रक गरेका थिए। क्लबका लागि राम्रो खेल्दा देशका लागि नसक्ने मेसी अहिले ठिक उल्टो अवस्थामा छन्। अहिले देशका लागि अब्बल सावित भइरहँदा उनी बार्सिलोनाका लागि भने वितेको सिजनमा खासै जम्न सकेनन्। हरेक सिजन केही न केही उपाधि जित्न सफल क्लबका लागि यो वर्ष उपाधिको खडेरी नै लाग्यो। बार्सिलोनाका पूर्व प्रशिक्षक तथा मेसीका भावनात्मक 'साथी' टिटो भिलानोभाको यसै वर्ष घाँटीको क्यान्सरका कारण निधन भयो। त्यसपछि दुई महिना त उनी बिदामै बसे। जुन पीडाबाट उनी अझै पूर्णरुपमा बाहिर आउन सकेका छैनन्। त्यसमाथी बार्सिलोनाले ब्राजिली स्टार नेइमारलाई त्यही सिजनमा अनुबन्धन गर्योन। जसले उनको एकाग्रतालाई झनै खलबल्याइदियो। यद्दपी उनले गएको सिजनमा ४४ खेल खेल्दै ४१ गोल गरे।
'अहिले मेसीको खेल त्यति राम्रो देखिएको छैन,' फुटबल म्यागजिन 'ओले' तथा मेसीकै बारे लेखीएको किताबका लेखक मार्सेलो सोटाइलले भने, 'कसैलाई थाह छैन किन? के उनी अझै दुखी छन्? कि बार्सिलोनाले उनीसँग गरेको नयाँ अनुबन्धनको रकम चित्त बुझ्दो भएन? कि छोराको जन्मले उनको एकाग्रता भंग गर्योग? या त उनी अर्जेटिनालाई जसरी पनि यो विश्वकप जीताउन तल्लिन छन्?' यी सब प्रश्न अनुत्तरित नै छन्। अर्का पत्रकार कापारोस भन्छन्, 'यदि उनले विश्वकपमै आफ्नो सम्पूर्ण एकाग्रता लगाएकाले क्लबमा राम्रो प्रदर्शन गर्न नसकेका हो भने उनी ठग हुन्।'
इङयान्डका प्रशिक्षक रोय हडसन भन्छन्, 'विश्व फुटबलले पाएको एक महान खेलाडीका बारे यसरी टिका–टिप्पणी हुनु दुखद कुरा हो। सधैँ आँफू आलोचित भएको देश अर्जेन्टिनाको जर्सी लगाएर ब्राजिलको मैदानमा उत्रिनु उनको लागि सानो कुरा होइन। उनलाई अहिले अर्जेन्टिनाको १० नम्बर जर्सी १० टनको जस्तै भारी लागेको होला।'
यो कुरा लेखक सोटाइल पनि मान्छन्। 'ओले' म्यागजीनको अफिस टेबलमा हात ठटाउँदै उनले भने, 'उनको यहाँ कुनै फ्यान बेस छैन। त्यसैले पनि उनले गरेको कुनै गल्ती माफ हुँदैन।'
मेसीका लागि यो निकै चुनौतीपूर्ण घडी हो। उनलाई केन्द्रविन्दुमा राखेर टिम बनाइएको छ, जसको नेतृत्व उनी आँफै गर्दैछन्। उनीसँग आफ्नो टिम बाहेक अरु कसैको समर्थन छैन। सम्पूर्ण देशवासीको शुभेच्छा हुँदा हुँदै 'टिम गेम'मा राष्ट्रिय टोलीको नेतृत्व गर्न कठिन हुन्छ भने अर्जेन्टिनी समर्थकबाटै व्यक्तिगत रुपमा साथ नपाएको यो मेसीका लागि अकल्पनीय स्थिति हो। उनले विश्वकप दिलाई हाले पनि, कसरी दिलाए, भन्ने प्रश्न उनी तर्फ तेर्सिनेछन्। आदीवासी अर्जेन्टिनी भावना बोकेका आलोचकहरु मेसीको आलोचना गर्न अरु थुप्रै मनगडन्ते कारण खोज्नेछन्।
उनले सधैँ आलोचकहरूको मुख आफ्नो प्रदर्शनले बन्द गर्न सफल भएका छन्। यो विश्वकपमा उनी आफू अर्जेन्टिनी जर्सी लाउन सक्षम भएको सावित गर्न सफल भइसकेका छन्– टिमलाई फाइनल पुर्या्एर। उपाधि जिताउन सकेनन् भने पनि मेसीको व्यक्तिगत क्षमता र अर्जेन्टिनाप्रतिको प्रतिवद्धतामा अव प्रश्न उठाउन भने आलोचकलाई सजिलो हुने छैन।
(अनुवादः स्वरूप आचार्य )

Comments