पुवुदुको करार एक वर्ष थपियो

सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुवुदु दासानायकेको अनुबन्ध एक वर्ष थप्ने निर्णय गरेको छ । नेपाल क्रिकेट संघ क्यानले आर्थिक अभावका कारण प्रशिक्षकको अनुबन्थ थप्न असमर्थता जनाएपछि युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले पुवुदुको करार एक वर्ष थप्ने निर्णय गर्नुभएको हो । 
उहाँले रेडियो कान्तिपुरसँग भन्नुभयो,‘क्यानले खेलाडी र क्रिकेटप्रेमीहरुको माग सम्बोधन गर्न नसकेपछि सरकारले त्यसको जिम्मेवारी लिएको हो । प्रशिक्षक पुवुदुको अनुबन्ध एक वर्ष थप्ने निर्णय भयो ।’ पुवुदुसँग पत्राचारपछि पारिश्रमिक वापतको रकम तय हुने उहाँले जानकारी दिनुभयो । उनको पारिश्रमिक उपलब्ध गराउन अर्थ मन्त्रालयले स्वीकृति दिएपछि मन्त्रीस्तरीय निर्णयबाट अनुबन्ध एक वर्ष लम्ब्याइएको हो । 
पुवुदुले क्यानसँग मासिक १४ हजार अमेरिकी डलर पारिश्रमिकको मागेपनि  सरकारले कति रकम उपलब्ध गराउन लागेको हो भन्नेबारे खुलाइएको छैन ।  साथै नेपाली क्रिकेटको संरचनागत विकासका लागि अध्ययनसहितको सुझाव प्रतिवेदन पेश गर्न कार्यदल समेत गठन गरिएको छ । खेलकुद मन्त्रालयका सचिव प्रतापकुमार पाठकको नेतृत्वमा गठन गरिएको ७ सदस्यीय कार्यदलले मुलुकमा क्रिकेट विकासका लागि आवश्यक पर्ने नीतिगत सुधारका बारे सुझाव दिनेछ । मन्त्री पौडेलले भन्नुभयो,‘उदाउँदो नेपाली क्रिकेटको व्यवस्थापन अस्ताउँदो क्रिकेट संघले गर्नसक्ने देखिएन । त्यसैले कार्यदलमार्फत् सुझाव संकलन गर्न लागेका हौ ।’ 
करार नविकरणको अन्यौलका बीच प्रशिक्षक पुवुद अघिल्लो महिना क्यानडा गए पनि फर्किएका छैनन् । क्यानले पछिल्लो समय थपेको तीन महिनाको अनुबन्ध हिजो सकिएको थियो । 

Comments

Popular Posts