विश्वकपमा कुन रणनीति विजयी होला?

- एलिस्टेयर मागोवान
तीन वटा प्रतियोगीताहरुमा लगातार जीत हासिल गरेपछि स्पेनलाई इतिहासमा नै सबैभन्दा महान मध्येको एक टोलीका रुपमा हेरिंदै आएकोथियो।
तर सन् २०१३ को कन्फेडरेशन्स कपको फाइनलमा ब्राजीलबाट नराम्ररी पराजीत भएपछि तिनीहरुको दबदबा विस्तारै कमजोर हुंदै गएको हो की भन्ने अनुमान गर्न थालिएको छ।
टिकी-टाका भनिने बल पास गर्ने शैलीका लागि प्रसिद्ध र सम्मानीत स्पेनको टोलीलाई त्यही खेल शैलीले सन् २००८ को युरो कप, सन् २०१० को विश्वकप र र युरो २०१२ मा विजयी तुल्याएको थियो।
तर गत गर्मी याममा भएको कन्फेडरेशन्स कप प्रतियोगीतामा बढी शक्तीशाली र बढी सिधा खेल खेल्ने ब्राजीलले रियो शहरमा भएको खेलमा स्पेनलाई ३-० ले हराइदिएको थियो।
के उसो भयो उक्त खेलपछि विश्व फुटबल जगतमा नयां शैलीको लागि बाटो खुलेको हो त? या स्पेनले विकसित गरेको उक्त शैली नै अझै सफल रहन सक्ला?
काउन्टर-एट्याक
उक्त प्रतियोगीतामा ब्राजीलका खेलाडीहरुले आफ्ना स्पेनी प्रतिद्वन्द्वीहरु भन्दा फरक शैली प्रदर्शन गरेका थिए।


तिनीहरुको काउन्टर-एट्याक अर्थात प्रत्याक्रमणको शैली यो विश्वकपमा हुने रणनीतिक शक्ति संघर्षको एउटा महत्वपूर्ण प्रदर्शन हुन सक्नेछ।
त्यस्तो शैलीलाई यो सिजनको च्याम्पीयन्स लिग प्रतियोगीता जीतेको रेआल मड्रिडले पनि सफलतापूर्वक प्रयोग गरेको छ।
फ्रान्सको भूतपूर्व म्यानेजर जेरार्ड हुलिए भन्छन्, “स्पेन र बार्सिलोनाका निम्ती टिकी-टाका शैली निकै उत्पादक भएको छ।“
उनी हाल फिफाको प्राविधिक अध्ययन समूहमा छन् र उनले यसअघिको विश्व कप र कन्फेडरेशन्स कप को प्राविधिक प्रतिवेदन तयार पार्न सहयोग पुर्याएका थिए।
“र यदि टोलीमा फरवार्ड खेलाडीको आक्रामक बल छैन र गर्मीका कारण खेलाडीहरु थकित छन् भने त्यो अपठ्यारो रणनीति हुन सक्छ।“
विश्वस्तरको खेलमा स्पेन दबदबा सन् २००८ बाट देखिन शुरु भएको हो र त्यसबेला छरिता फरनान्डो टोरेसले आक्रामक खेलको अगुवाइ गर्दथे।
सन् २०१० मा उनीहरुको शैली प्रति विपक्षी टोलीहरु केहि अभ्यस्त भैसकेको जस्तो देखिएको थियो र तिनीहरुले संख्याको आधारमा प्रतिरक्षा गर्ने उपाय अपनाएका थिए।
त्यस्तो अवस्थामा पनि स्पेनीहरुले लगातार चार वटा खेल १-० को अन्तरले जितेका थिए, फाइनल खेल सहित। र ति खेलहरुमा डाभिड भिय्याले महत्वपूर्ण गोलहरु गरेका थिए।
परम्परागत भूमिका
तर हालसालैको खेलहरु हेर्ने हो भने स्पेनीहरुले स्ट्राइकरको परम्परागत भूमिकामा कम मात्रै भर परेर, मध्य क्षेत्रका खेलाडी मिडफिल्डर सेस्क फाब्रेगासलाई सबैभन्दा अगाडी राखेर युरो २०१२ जितेका थिए।
स्पेनी प्रशिक्षक डेल बोस्कले यसपटक त्यस्तै प्रणाली अपनाउन सक्छन्, खासगरी स्ट्राइकर डियगो कोस्टा घाइते भएको, टोरेस पहिलेको जस्तो उत्तम खेल्ने अवस्थामा आउन नसकिरहेको र भिय्यालाई धेरै समय मैदानको देब्रे तर्फबाट खेलाइएको अवस्थामा।
जर्मनीले पनि स्ट्राइकर रहित तरिका अबलम्बन गर्न सक्छ, किनकी तिनीहरुले आफ्नो मुख्य टोलीमा मिरास्लाभ कोज र लुकास पोडोल्स्कीलाई मात्र अग्र खेलाडी, फरवार्डको रुपमा दर्ता गरेका छन्।
तर लुइज फेलिप स्कोलारीको प्रशिक्षणमा रहेको ब्राजीलले भिन्न ढंगले प्रदर्शन गर्नेछ।
यदि तिनीहरुले कन्फेडरेशन्स् कपमा प्रभावकारी रुपमा प्रयोग गरेका शैली दोहोर्याए भने फ्रेड, हल्क र नेयमार तीन जना सबन्दा अगाडी रहनेछन् र आक्रामक फूल ब्याकहरु मार्सेलो र डानी आल्भेसको समर्थन तिनीहरुलाई हुनेछ।
यसरी गतिशीलता र शक्तिमा आधारित आक्रमक खेल रणनीति कार्यान्वयन हुनेछ।
तिनीहरुको कडा आक्रामक खेल, बललाई आफ्नो साथमा राखिरहने भन्दा पनि अगाडी कसरी बढ्ने भन्नेमा बढी केन्द्रीत हुनेछ।
र त्यसमा छिटो प्रत्याक्रमणको अंश पनि रहनेछ। त्यस्तो शैली गत बर्ष थकित देखिएको स्पेनका विरुद्ध निकै प्रभावकारी देखिएको थियो।
त्यसैकारण पनि गत विश्वकपको विजेता राष्ट्र स्पेनलाई, बाजी खेलाउनेहरुले यसपटकको सम्भावित विजेताहरुको सूचीमा चौथो स्थानमा राखेका छन्।

Comments