विश्वकपः अाजकाे प्रमुख अाकर्षण
रोबिन भान पर्सी (नेदरल्यान्ड्स)
समूहगत चरणको अन्तिम खेल प्रतिबन्धका कारण गुमाए पनि स्ट्राइकर रोबिन भान पर्सी गोल्डेन बुटको दौडमा छन्। उनले दुई खेलमा तीन गोल गरे। पहिलो खेलमा नेदरल्यान्ड्सले स्पेनलाई ५-१ गोलले हराउँदा उनले दुई गोल गरे। दोस्रो खेलमा उनले अस्ट्रेलियाविरुद्ध एक गोल गरे। स्पेनविरुद्ध भान पर्सीले गरेको 'डाइभिङ हेड' गोलको चर्चा सेलाइसकेको छैन। उनको चर्चा त्यत्ति एउटा गोलमा मात्रै सीमित छैन।
भान पर्सीकै सानदार प्रदर्शन र उनको लयले यतिबेला नेदरल्यान्ड्स उपाधि दाबेदारका रूपमा देखिएको छ। भान पर्सीले राष्ट्रिय टोलीका लागि सन् २००५ मा 'डेब्यु' गरेयता ८६ खेलमा ४६ गोल गरेका छन्। उनी राष्ट्रिय टोलीका महत्त्वपूर्ण सदस्यका रूपमा रहँदै आएका छन्। क्लबमा विंगरका रूपमा खेलजीवन सुरु गरेका ६ फिट उचाइका ३० वर्षीय भान पर्सी राम्रो ड्रिबलिङ क्षमता भएका चुस्त फर्वाडका रूपमा परिचित छन्। उनले यो सिजन म्यानचेस्टर युनाइटेडका लागि २८ खेलमा १८ गोल गरेका थिए।
ब्रायन रुइज (कोस्टारिका)
ब्रायन रुइज कोस्टारिकाका अनुभवी खेलाडी हुन्। कोस्टारिकालाई समूह चरणमा जायन्ट किलरका रूपमा स्थापित गर्न यी खेलाडीको महत्त्वपूर्ण योगदान रह्यो। किनभने उनी टोलीका कप्तान पनि हुन्। उनको नेतृत्वमा कोस्टारिकाले दुई पूर्वविजेता इटाली र उरुग्वेलाई पराजित गरेको थियो। सन् २००५ मा राष्ट्रिय टिममा डेब्यु गरेका रुइजले ६६ अन्तर्राष्ट्रिय खेलमा १४ गोल गरेका छन्।
फुलहम, पीएसभी, ट्वेन्टेलगायत क्लबबाट व्यावसायिक फुटबल खेलिसकेका रुइजले समूहगत चरणको दोस्रो खेलमा इटालीविरुद्ध निर्णायक गोल गर्दै एक खेलअघि नै कोस्टारिकालाई प्रिक्वार्टरफाइनलमा पु:याएका थिए। उनले विश्वकपका लागि भएको महादेशीय छनोटमा तीन गोल गरेका थिए। ६ फिट दुई इन्च उचाइ भएकाले उनको शारीरिक पक्ष टोलीका लागि फाइदाजनक हुनेछ। इटालीविरुद्ध उनले हेडमार्फत गोल गरेका थिए।
Comments
Post a Comment