नेदरल्याण्ड्स कि मेक्सिको

विश्वकप फूटबलअन्तर्गत १५ असार राति युरोपेली देशलाई अमेरिकी देशले चुनौती दिँदैछन् ।
दीपेन्द्र सापकोटा, काठमाडौं

१५ असार राति ९.४५ मा ब्राजिलको फोटोलेजा रंगशालामा युरोपेली डच टोली नेदरल्याण्ड्सले उत्तर अमेरिकी मेक्सिकोको सामना गर्दैछ । खेलको पूर्वसन्ध्यामा डच प्रशिक्षक लुइस भान गालले क्षमतावान खेलाडी र टीम भावनामा खेल्ने मेक्सिकोलाई आफूले कमजोर नआँकेको बताएका छन् । “मेक्सिकोसँग टीम भावना त छदैछ, उसका प्रत्येक खेलाडी व्यक्तिगत क्षमतामा पनि अब्बल छन्,” उनले भनेका छन् ।
भान गालले भनेजस्तै समूह चरणमा ब्राजिललाई बराबरीमा रोकेको मेक्सिको अहिले लयमा छ । त्यहिकारण तीनपटकको विश्वकप उपविजेता नेदरल्याण्ड्स मेक्सिकोसँग सजग देखिन्छ ।
तर, मेक्सिकोविरुद्ध भरपर्दा डच स्ट्राइकर रोविन भान पर्सी उत्रिदैं छन् । समूह चरणमा लगातार दुई खेलमा पहेंलो कार्ड पाएपछि उनी चिलीविरुद्धको खेलमा खेलेका थिएनन् ।
नेदरल्याण्ड्सका भान पर्सीसँगै विंगर आर्जेन रोवेन, मिडफिल्डर वेस्ली स्नाइडर लगायतका खेलाडी मेक्सिकोका लागि टाउको दुखाई बन्न सक्छन् । पर्सी र रोविनले समूह चरणका तीन खेलिसक्दा तीन–तीन गोल ठोकिसकेका छन् ।
सन् १९९४ देखि लगातार ६ वटा विश्वकपमा दोस्रो चरणमा पुगेको मेक्सिको पनि त्यतिकै नतिजा सुम्पने पक्षमा छैन । गोलकिपर गुइलेर्मो ओचोया, कप्तान राफाल मार्वेज, प्लेमेकर गिभानी डोस सान्तोस, स्ट्राइकर ओरिबे पेराल्टा लगायतका खेलाडीले नेदरल्याड्सलाई दबाब दिनेछन् ।
सन् १९७४, १९७८ र २०१० को उपविनेता नेदरल्याण्ड्स र सन् १९७० र १९८६ मा घरमै आयोजना भएको विश्वकपमा क्वाटरफाइनलमा पुगेको मेक्सिकोबीच सन् १९९८ को विश्वकपको समूह चरणमा भेट भएको थियो । जसमा दुवै टीमले २–२ गोल गरेका थिए । विश्वकपमा उनीहरु कम परिचित छन् र एकअर्कासँग सतर्क छन् ।
अन्डरडग दुई टोलीको उस्तै दाउ
१५ असार राति दुई अन्डरडग टोली कोस्टारिका र ग्रीस पनि जित्ने दाउका साथ उत्रिदैंछन् । दुवै टोली पहिलोपटक क्वाटरफाइनलमा प्रवेश गरेर इतिहास बनाउने दाउमा छन् ।
सन् १९९० मा पनि दोस्रो चरणमा पुगेको मध्य अमेरिकी टोली कोस्टारिका ‘ग्रुप अफ डेथ’ समूह डी मा इटाली, उरुग्वे र इंग्ल्याण्ड जस्ता बलिया टीमलाई स्तब्ध पार्दै दोस्रो चरणमा पुगेको हो । उसका लागि इटालीविरुद्ध गोल गरेका कप्तान ब्रायन रुइज ग्रीसका लागि टाउको दुखाइ बन्ने छन् ।
सन् २००४ को युरो कप विजेता ग्रीस पनि पहिलोपटक विश्वकपमा दोस्रो चरणमा प्रवेश गरेकाले उच्च मनोबलका साथ मैदान उत्रिदैंछ । ग्रीस पनि क्वाटरफाइनलमा पुगेर विश्वलाई चकित पार्न चाहन्छ ।
रक्षापंक्तिमा बढी जोड दिने ग्रीसले आक्रमणमा आइभरी कोष्टविरुद्ध निर्णायक गोल गरेका जर्जियस सामारसलाई हतियारको रुपमा उतार्दै छ । अहिलेसम्म अन्तर्राष्ट्रिय फूटबलमा भेट नभएका यी दुई टोली आफूलाई अब्बल देखाउने होडमा हुने छन् ।

Comments

Popular Posts