विश्वकप खेल्ने नेपाली क्रिकेट टाेलीलार्इ सरकारको सम्मान

गत फागुनमा बंगलादेशमा भएको विश्व टी–२० मा उत्कृष्ट प्रदर्शन गर्दै हङकङ र अफगानिस्तानलाई पराजित गरेको नेपाली क्रिकेट टाेलीलार्इ युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति रामवरण यादवले नगदसहित अाज सम्मान गरेका छन्।  
पहिलोपटक विश्वको ठूलो प्रतियोगिता खेल्ने क्रममा नेपाली टोली बंगलादेशसँग मात्र रन रेटमा पछाडी रहेको थियो। उत्कृष्ट प्रदर्शन गरेको नेपाली टोलीका प्रत्येक सदस्यलाई पाँच–पाँच लाख रुपैयाँ प्रदान गर्ने घोषणा सरकारले गरेको छ।
साे अवसरमा राष्ट्रपति यादवले नेपाली क्रिकेटले समाजलाई अनुशासन सिकाइरहेको बताए। ‘केही वर्षदेखि खेलाडीले जुन मिहिनेत गरेर विश्वकप खेले, त्यसमा सबै नेपालीले साथ दिए,' शीतल निवासमा आयोजित कार्यक्रममा उनले भने, 'खेलाडीहरूले समाजलाई एकतामा बाँधे। सबैले उनीहरूलाई हेर्दै उदाहरण दिइरहेका छन्।'
विश्वकप खेल्ने टोलीमा कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल, सुवास खकुरेल, सागर पुन, शरद भेषावकर, विनोद भण्डारी, नरेश बुढाऐर, वसन्त रेग्मी, शक्ति गौचन, सोमपाल कामी, जितेन्द्र मुखिया, राहुल विक, अमृत भट्टराई, अनिल मण्डल र प्रदीप ऐरी थिए। त्यस्तै प्रशिक्षकमा पुबुदु दासानायके, सहायक प्रशिक्षकमा जगत टमाटा, फिजियो सुभ्रा र टेक्निकल एनालिस्टमा रमन सिवाकोटी थिए। राष्ट्रपति यादवले सबैलाई नगद पाँच–पाँच लाख र सम्मानपत्र प्रदान गरे।
त्यस्तै व्यवस्थापक उत्तम कर्माचार्य र मिडिया म्यानेजर सञ्जीव पाण्डेले नगद ३–३ लाख र सम्मानपत्र पाए। संयोजक किरण राणा, खेलाडीहरू विनोद भण्डारी र अनिल मण्डल, प्रशिक्षक दासानायके र फिजियो सुभ्रा कार्यक्रममा उपस्थित थिएनन्। विश्वकपसँगै सुभ्राको नेपाली टोलीसँगको करार सकिएको थियो। नेपाली क्रिकेट अन्योलमा रहँदा प्रशिक्षक दासानायके अघिल्लो साता क्यानाडा फर्किएका थिए।
युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले समयमा मिलाउन नसक्दा सरकारले दिने सम्मानमा केही ढिलाइ भएको स्पष्टीकरण दिए। ‘क्रिकेट टोलीले विश्वकप खेलेर सबै नेपालीलाई एकपटक खुसी हुने अवसर दियो,' उनले भने, ‘यसले नेपाली क्रिकेट मात्र नभई नेपाली खेलकुदजगत नै उत्साहित भएको छ। चाह्यौं भने जे पनि गर्न सक्छौं भनेर विश्वकप टोलीले उदाहरण दिएको छ।'
कप्तान पारस खड्काले विश्वकपसम्म पुग्न अहिलेको खेलाडीले मात्र नभएर अघिल्लो पुस्ताले निकै मेहनत गरेको बताए। ‘विश्वकप खेल्ने धेरै पहिलेदेखिको सपना थियो, जसलाई हामीले पूरा गर्‍यौं। यसका लागि खेलाडीले धेरै मेहनत गरेका थिए। पहिलाका खेलाडीले पनि मेहनत गरेका थिए, हामी भाग्यमानी थियौं, विश्वकप खेल्न पायौं,' उनले भने।

Comments

Popular Posts