फ्रान्सलाई नाइजेरियाको चुनौती
फ्रान्सले दुई जित र एक बराबरीको नतिजासहित समूह विजेता बनेर नकआउट चरणमा स्थान पक्का गरे पनि यो युरोपेली टोलीको वास्तविक क्षमता परीक्षण हुन भने बाँकी नै छ। सोमबार राति हुने नाइजेरियाविरुद्धको खेलमा अफ्रिकी टोलीले फ्रान्सलाई गतिलो चुनौती दिन सक्नेछ। नाइजेरियाले समूहगत चरणमा बोस्निया हर्जगोभिनालाई हरायो भने अर्जेन्टिनालाई गतिलो चुनौती दियो। इरानको रक्षात्मक खेलनीतिका कारण नाइजेरिया एसियाली टोलीसँग भने बराबरीमा रोकिएको थियो।
सोही कारणले फ्रान्सका प्रशिक्षक डिडियर डेसक्याम्पस पनि नाइजेरियाविरुद्धको खेल कठिन हुने बताउँछन्। 'समूहको विजेता हुनु ठूलो सफलता हो तर अगाडिको यात्रा झनै कठिन छ। नाइजेरियाले अर्जेन्टिनालाई समेत बलियो चुनौती दिएको थियो। नाइजेरिया छरितो र सन्तुलित टोली हो, त्यसैले यो खेल हाम्रा लागि कठिन हुनेछ', उनले भने।
समूहगत चरणको अन्तिम खेलमा फ्रान्सले गोलरहित बराबरी खेलेका थियो तर उक्त खेलमा फ्रान्सेली खेलाडीले गोल गर्ने धेरै अवसर सदुपयोग गर्न सकेका थिएनन्। फ्रान्सका अनुभवी स्ट्राइकर करिम बेन्जेमाले नाइजेरियासँग अघिल्ला खेलभन्दा राम्रो खेल्ने दाबी गरे। 'हामीले अघिल्ला खेलमा धेरै गोल गर्यौं, हाम्रो अग्रपंक्ति जमेको थियो तर इक्वेडरका गोलरक्षकले राम्रो प्रदर्शन गरेर हामीलाई असफल बनाए। नाइजेरियाविरुद्ध यस्तो हुने छैन', जारी प्रतियोगितामा तीन गोल गरिसकेका बेन्जेमाले भने। गोल्डेन बुटका लागि दाबेदारी गर्न उनी आफैंले पनि गोल गर्नुको विकल्प छैन।
फ्रान्सेली टोलीका अन्य महत्त्वपूर्ण खेलाडीमा ओलिभर गिरोड पनि हुन्। नाइजेरिया १६ वर्षपछि विश्वकपको नकआउट चरण पुगेको हो। अर्जेन्टिनासँग ३-२ गोलले पराजित भए पनि नाइजेरियाले धेरैको मन जित्यो। नाइजेरियाका अहमद मुसा र इमानुएल एमिनिक उच्च लयमा छन्। अर्जेन्टिनाविरुद्व दुवै गोल मुसाले नै गरेका थिए। 'टिम स्प्रिट' पनि नाइजेरियाको उल्लेखनीय पक्ष हो।
फ्रान्सले समूहगत चरणमा आठ गोल गरेर दुई गोल खायो। नाइजेरियाले तीन गोल गरेर तीन गोल ग:यो। यसले पनि नाइजेरियाको रक्षापंक्ति बलियो भएको देखाउँछ। त्यसैले अग्रपंक्तिमा बलियो देखिएको फ्रान्सले नाइजेरियाको रक्षापंक्तिलाई पार गर्न सक्छ वा सक्दैनन्, हेर्न बाँकी छ। अन्तर्राष्ट्रिय फुटबलमा नाइजेरिय र फ्रान्स आपसमा धेरै परिचित भने छैनन्। यी दुईबीच एक पटकमात्र खेल भएको छ। सन् २००९ मा भएको उक्त खेलमा नाइजेरियाले फ्रान्सलाई १-० गोलले हराएको थियो।
Comments
Post a Comment