आफ्नै राष्ट्रलाई समर्थन गर्दा पक्राउ

ब्राजिलमा जारी विश्वकपमा एसियाली राष्ट्र इरान पनि सहभागी छ। समूहगत चरण पार गर्न नसके पनि विश्वकपमा छानिनु नै इरानका लागि ठूलो सफलता थियो। अस्थिर घरेलु राजनीतिबीच इरानले विश्वकप फुटबलमा छानिएर आफूलाई विश्वमाझ चिनायो। त्यसैले त, विश्वकप खेलिरहेको राष्ट्रिय टोलीको हौसला बढाउन इरानी समर्थकले भिडियो नै निर्माण गरे।
उक्त भिडियोमा इरानी समर्थकले नाच्दै गाउँदै राष्ट्रिय झन्डा फहराएर टोलीको समर्थन गरिरहेको देखिन्छ। भिडियोमा बुर्का नलगाएका महिला पनि समर्थनमा जुटेको देखाइको छ। इरानी प्रहरीले भिडियोमा देखिएका तीनजना समर्थकलाई पक्राउ गरेको छ। इरानको सारौडबाट पक्राउ गरिएका तीनमध्ये दुईजना अभिनेता र एकजना फोटोग्राफर हुन्। स्थानीय प्रहरीले उक्त भिडियो 'उच्छृंखल' प्रकृितको भएको आरोप लगाएको छ।
लन्डनमा रहेका आजम बेन्डले निर्माण गरेको उक्त भिडियोले मानिसलाई उत्तेजित बनाएको प्रहरीको आरोप छ। इरानमा सार्वजनिक स्थानमा खुसियाली मनाउन सरकारले निरुत्साहित गर्ने गरेको छ। त्यसैले जारी विश्वकपको प्रत्यक्ष प्रसारण रेस्टुरेन्ट, पार्क र क्याफेलगायतका स्थानमा देखाउन पनि बन्देज लगाइएको छ। इरानका कतिपय स्थानमा महिलालाई सार्वजनिक प्रदर्शनमा सहभागी हुन बन्देज छ।
इरान तीन खेलमा एक बराबरी र दुई हारको नतिजासहित विश्वकपबाट भने बाहिरिसकेको छ। पूर्वविश्वकप विजेतासमेत रहेको बलियो प्रतिद्वन्द्वी अर्जेन्टिनासँग केवल १-० गोलले पराजित भए पनि इरानको राजधानी तेहरानका सडकमा उत्रिएर हजारौं समर्थकले खुसियाली मनाएका थिए।

Comments

Popular Posts