नेपाली फुटबलको वर्तमान अवस्था

खुला पत्र
नेपाली फुटबल लिडरहरुलाई
टीपी निराैला (विराटनगर)
नेपालमा नेपाली फुटबललाई माया गर्ने धेरै छन् । नेपालको फुटबल भनेपछि स्वदेश तथा विदेशमा रहेका आम नेपालीहरु मरिमेट्दछन् । एक सुखद नतिजाको आशा राख्दछन् वा यस पटक चाँहि पक्कै जित्ने छ भनेर अपेक्षा राख्दछन् । तर, सँधै नतिजाले निराशाको शिकार बनाइरहन्छ । अव आम नेपाली दर्शकहरु दुखी हुनुका साथसाथै रिसले मुर्मुरिनु सिवाय केही हुँदैन । हाल व्राजिलमा भइरहेको विश्वकप पनि एउटा उदारहण हो । अपेक्षा गरेको भन्दा फरक नतिजा आइरहेको छ । धेरै कमजोर मानसिकता, सोच भएको हाम्रा नेपाली फुटबल लिडरहरुले बुझ्नु पर्ने कुरा, नाम र देश ठूलो भएर फुटबल खेलिने हैन, र विकसित राष्ट्रका खेलाडी हुने वित्तिकै रिमोट चलाएर खेल्ने पनि हैनन् । हालै पनि फुटबल छनौट प्रक्रिया चलिरहेको रहेछ । तर ती बालकहरुको भविष्य सुनिश्चित छ त?
१) क्लबहरुले खेलाडी पाल्न नसक्ने हालको अवस्था । २) कतिपय क्लबहरु आर्थिक भार वहन गर्न नसकेर वन्द भएको अवस्था ३) राष्ट्रिय टिमका खेलाडीहरुले प्राप्त गर्ने न्युनतम पारिश्रमिकले जीविकोपार्जन गर्न नसक्ने अवस्था । ४) देशमै एउटा पनि राम्रो स्टेडियम नभएको अवस्था । ५) क्लबमा खेल्ने खेलाडीहरुले धेरै महिनादेखि पाउनु पर्ने पारिश्रमिक नपाएको अवस्था । ६) लिगबाट उत्कृष्ट भइ छानिएका खेलाडीहरु राष्ट्रिय टिम छनौटमा नपरी न्याय नभएको अवस्था । ७) फुटबलका विकसित मुलुकहरुका उत्कृष्ट क्लबहरु तथा राष्ट्रहरुसँग मैत्रीपूर्ण म्याचसम्म खेलाउन नसक्ने अवस्था । ८) उत्कृष्ट खेलाडीहरुलाई विदेशी क्लबहरुमा आवद्ध हुन, परीक्षण र तालिम लिनको लागि प्रक्रियागत समस्या ।
यस्ता धेरै अन्याेलता नै अन्याेलतावाट गुज्रिरहेको छ नेपाली फुटबल व्यवस्थापन  । खेलाडीहरु खेलका लागि कसरी उत्प्रेरित होलान् त ? यस्तो भविष्य अन्याेल भइरहेमा अभिभावकहरुले वच्चालाई खेलमा कसरी लगाउलान् ? र अब लिइने बालकहरुका लागि पनि भविष्यमा यस्तै हुन्छ भने त उनीहरुको भविष्य वर्वात पार्नु सिवाय के होला र ? विगत लामो समयदेखि कुनै पनि राम्रो नतिजा आउन सकिरहेको छैन किन ? कुर्सी ओगटिरहनु भन्दा पनि गुरु योजना बनाएर अगाडि बढनु पर्ने हैन र ? भ्रष्टाचारमा विश्वमै अग्रस्थानमा रहेको नेपाल खेलकुद विकासमा किन सुस्तता ? उच्च अाेहदामा वसेका पदाधिकारीहरु र नेतृत्व समाल्नेहरुले बुझ पचाएका हुन् कि ? गुरु योजना बनाउने भिजन छैन कि ? खेल जगतको महत्व नबुझेका हुन् कि  के हो ?
कि त्यस्तो भिजन छैन भने नेपालमै पनि विद्धान व्यक्तिहरुको कमि छैन, परामर्श आफूले गर्न नसक्ने भए अरु कोही न कोही जन्मेका होलान् नि, एउटै आमाको कोखबाट त विविध क्षमता भएका सन्तान जन्मछन् भने यत्रो नेपालभरिमा कोही त होलान् नि केही गरेर देखाउने ।
आफ्नै स्तरका टिमहरुसँग पनि रक्षात्मक रणनीति अपनाउने, कुनै राष्ट्र विश्वकप खेलेको रहेछ भने त्यो त विश्वकप खेलेको राष्ट्र हो भनेर पहिले नै थरथरी काप्ने नेपाली कोचहरुको सोचाइ उत्कृष्ट खेलाडीहरु छनौट नगर्ने ?  यस्तो पाराले कहिले उभों लाग्ला ? खेलाडीहरुलाई खानपिनदेखि लिएर भविष्य सुरक्षित हुने वातावरण सक्नु पर्ने हैन र ? विना उत्प्रेरण कसरी हुन्छ ?
लङट्रम भिजन खाेर्इ र सोअनुसारको कार्यान्वयन खाेर्इ ?  कर्ण लिम्बू लिगका सबैभन्दा बढि गोल गर्ने साविक लिगकाे सर्वाेत्कृष्ट खेलाडी । मैदानमा बल राम्रो खेल्नु सँगसँगै गोल गर्ने बिशेष क्षमतावान कर्ण लिम्बू नेपालको राष्ट्रिय टिममा किन अटाएनन् ? कर्ण लिम्बूसँगै मश्चिन्द्रबाट खेल्ने उत्कृष्ट मिडफिल्डर, डिफेन्स लाईनका लिगबाट छानिएका खेलाडीहरु कता हराए ? वा उत्कृष्ट छैनन् वा अहिलेको छनौटमा पुरानालाई स्थान दिनलाई नयाँ नलिएको, कि लिगमा छनौट ठीक नभएको वा अहिले छनौटमा नातावाद र कृपावाद पनि मिसावट भएको हो ? पुरानाले खेल्न सक्दैनन् भने नयाँले मौका किन नपाउने ? कोचको क्षमता छैन वा हस्तक्षेप छ ? त्यसो भए के खान लिग खेलाएको ? के हो नाटक ? फुटबल खेल पक्कै पनि टिम वर्क हो, सबैको परिश्रम हो, गोलकिपर, डिफेन्स लाईन, मध्यक्रम र फरवार्ड त्यत्तिकै शसक्त भएमा मात्र राम्रो नतिजाको आश गर्न सकिन्छ । त्यसैले छनौट पूर्णरुपमा सही र न्यायपूर्ण हुन जरुरी छैन र ? 
विमल घर्ती मगर, असिमजंग कार्की, भरत खवास, दिपक रार्इ, जस्ता युवा खेलाडीहरुलाई राम्रै मान्नु पर्छ साथमा कर्ण लिम्बू, सुजल श्रेष्ठ, सुशिल के.सीं, बिसाल रार्इ अथवा लिगका उत्कृष्ट खेलाडीहरु सहित आर्मीका केही उत्कृष्ट डिफेन्डर अथवा कुनै पनि टिमका उत्कृष्टहरुलाई सही चयन गरी खेलाएको भए हामीसमानका राष्ट्रहरुसँगको प्रतिस्पर्धामा सुखद नतिजा नआउला भन्न सकिदैनथ्यो होला ।
नयाँले सबथोक गरिहाल्छ भन्ने हैन, हाम्रा पुराना नेशनल टिमबाट खेल्ने खेलाडीहरु लयमा देखिँदैनन्, लयमा हुने पुरानाको पनि महत्व हुन्छ, तर सही र न्यायोचित तवरले छनौट र मिश्रण गर्नु प-यो । ब्राजिल फुटबलले चिनिने राष्ट्र हो तर त्यहाँको अहिलेको टिमलाई मेक्सिको, चिली जस्ता राष्ट्रहरुले पनि आच्छु आच्छु बनाइरहेको छ । खेल हो नतिजा राम्रो खेल्ने पक्षमै हुन्छ । ब्राजिल पनि पूर्णरुपमा नेयमार र ओस्कारमा निहीत देखिन्छ, नयाँ आएका फ्रेड र हल्कले खासै आफ्नो क्षमता देखाउन सकिरहेका छैनन् । जसले गर्दा पुराना केही फममा रहेका अनुभवी र गोल हान्न सक्ने जस्तै लुइस फावियानो, रोविन्हो, एड्रियानो, काकाजस्ता खेलाडीहरु बेन्चमै राखेको भए हुन्थ्यो कि भन्ने महसुस गरे पनि होलान् ब्राजिलियनहरुले । नेपाली खेलाडीहरुमा पनि थुप्रै कमजोरीहरु छन् । जव मैदानमा उत्रिन्छन् खेलाडीहरु, खेलाडीहरुले बुझ्नु र महसुस गर्नु पर्ने कुराहरु बुझेको वा बुझ पचाएको, खेलाडीले देशको शान, प्रतिष्ठाको लागि खेलेको हुन्छ, जित्दा देशले जित्ने र हार्दा देशले नै हार्ने हो । कतिपय खेलाडीहरु राम्रोसँग दौडन पनि सक्दैनन् अथवा खेलाडीहरुमा मेहनेत र परिश्रम पनि त्यति देखिँदैन ।
हाम्रा खेलाडी र व्यवस्थापनका कमजोरीहरुः 
१) राष्ट्रिय टोलीका लागि गरिने खेलाडीको छनौटमा पक्कै पनि न्याय भएको छैन । 
२) उपयुक्त तालिमको कमी भएको हो कि जस्तैः राष्ट्रिय टोलीका खेलाडीहरुले पनि गोल हान्ने बेलामा अगाडि एउटा मात्र विपक्षी छ भने पनि त्यस्तोमा आत्तिएर परैबाट फितलो प्रहार गर्ने । 
३) कतिपय खेलाडीहरु स्टार भयौं भनेर फिल्डमा खटेर खेल्न कन्जुस्यांइ गर्ने । बल आउँछ अनि हान्छु भनेर पर्खिने । वा रनिङ स्किलको कमी । 
४) बल खोस्नको लागि दौडन कन्जुस्याइ गर्ने अथवा टिम स्पिरिटको कमी । 
५) नेपाली कोचहरुको अति कमजोर मानसिकता साथसाथै पूर्वाधारको अभाव । 
६) नेपाली फुटबल सम्हाल्नेहरुको दूरदर्शी भिजन र कार्यान्वयनको कमी । 
७) खेलाडीहरुलाई खानपान, पारिश्रमिक लगायतका सुविधाहरु कमी लगायत अन्यौलपूर्ण भविष्य भएकोले खेलाडीहरुमा बिशेष हौसलाको कमी । 
माथि उल्लेखित समस्याहरुलाई दीर्घकालिन समाधान निकाल्ने प्रयत्न गरिएन भने अझै पनि बर्षौ यस्तै अवस्था नरहला भन्न सकिन्न होला । नेपाली फुटबल समाल्ने व्यक्तित्वहरुलार्इ विनम्र अनुरोध छ अब हामी जस्ता नेपाली फुटबलका दर्शकहरुलार्इ सँधै दुखी बनाउनु भन्दा कि फुटबल नखेलाउनु प-यो कि काम राम्रोसँग गर्नु प-यो?

Comments

Popular Posts