सुअारेजको सजाय अत्यधिक: जर्जो किएलिनी

इटलीका डिफेन्डर जर्जो किएलिनीले उरुग्वेका खेलाडी लुइस सुआरेजलाई फिफाले दिएको सजाय ‘अत्यधिक’ भएको प्रतिक्रिया दिएका छन् ।
२७ वर्षीय सुआरेजले इटलीविरुद्ध समूह चरणको खेलमा इटलीका किएलिनीको काँधमा टोकिदिएका थिए । उक्त खेल उरुग्वेले १–० ले जितेको थियो भने इटली विश्वकपबाट बाहिरिएको थियो ।
उक्त घटनामा कार्वाही गर्दै फिफाले सुआरेजमाथि चार महिनाको प्रतिबन्ध लगाएको छ । सुआरेजलाई नौ अन्तराष्ट्रिय प्रतियोगिताका लागि निलम्बित गर्नुका साथै एक लाख स्विस फ्रयांक जरिमाना पनि गरिएको छ ।
किएलिनीले आफ्नो प्रतिक्रियामा भने, “सुआरेजप्रति मेरो खुशी, बदला या आक्रोश कुनै प्रकारको भावना छैन ।”
‘लज्जास्पद’

अर्जेन्टिनी पूर्व खेलाडी म्याराडोनाले सुआरेजको समर्थनमा अभिव्यक्ति दिंदै फिफाको फैसलालाई ‘लज्जास्पद’ भनेका छन् । उनले टेलिभिजन कार्यक्रममा सुआरेजको समर्थनका शब्द लेखिएको टि–शर्ट लगाएका थिए ।
उनले भने, “यो सुआरेजका परिजनका लागि अत्न्यन्तै कठिन समय हो, म उनीहरुका बारे सोचिरहेको छु ।” म्याराडोनाले टिभी शोमा लगाएको टि–शर्टमा ‘लुइस हामी तिम्रो साथमा छौं’ लेखिएको थियो ।
“यो प्रतिबन्ध लज्जास्पद छ, फिफा सुआरेजका प्रशंसकहरुप्रति संवेदनशिल छैन,” उनले भने, “उनीहरु उसलाई (सुआरेजलाई) हथकडी लगाएर ग्वान्तानामोमा फालिदिन सक्छन् ।”
सुआरेज शुक्रबार विहान ब्राजिलबाट स्वदेश रमाना भइसकेका छन् ।

Comments

Popular Posts