आर्सनल बाहिरियो, मालागा अन्तिम ८ मा

बुधबार राती सम्पन्न खेलमा आर्सनल युरोपियन च्याम्पियन लिगको अन्तिम १६ को दोस्रो लेगमा बलियो प्रतिद्वन्द्वी बार्यन म्युनिखलाई उसकै मैदानमा २-० ले पराजीत गरे पनि अन्तिम ८ मा आफ्नो स्थान बनाउन असफल भएको छ। आर्सनललाई ओलिभिएर गिरौडले तेस्रो मिनेटमा नै गोल गर्दै अग्रता दिलाएका थिए। अर्को गोल भने खेल सकिन ४ मिनेट अगाडी लौरेन्ट कोस्चिएलन्यले गरेका थिए। यी दुई टिम बिचको पहिलो खेलमा आर्सनल ३-१ ले पछि परेको थियो। समग्रमा ३-३ गोलको बराबरी खेले पनि अवे गोल म्युनिखको बढी भएको कारण आर्सनल अन्तिम ८ मा स्थान बनाउन असफल भएको हो। आर्सनलको यो यात्रा समाप्ति संगै सबै इन्ग्लिश क्लब अन्तिम १६ बाटै विदा भएको छ।
बुधबार नै सम्पन्न अर्को खेलमा स्पेनिस क्लब मालागाले पोर्टो विरुद्ध २-० को नै जीत दर्ता गर्दै अन्तिम ८ मा आफ्नो स्थान सुरक्षित गर्यो। पहिलो लिग १-० ले गुमाएको मालागाको जीतको लागि पहिलो हाफ सकिन २ मिनेट अगाडि इस्कोले गोल गरेका थिए भने निर्णायक गोल मध्यान्तर पछि ७७ औं मिनेटमा सान्टा क्रुजले गरेका थिए।
बुधबारको खेल संगै अन्तिम ८ को समीकरण पनि पूरा भएको छ। बार्सिलोना, रियल म्याड्रिड र मालागा गरी ३ स्पेसिस टिमले अन्तिम ८ मा आफ्नो उपस्थिति जनाएको छ भने जर्मनबाट बार्यन म्युनिख र बुरुसिया डुर्टमण्ड छन्। अन्य ३ टिममा युभेन्टस (इटाली), पिएसजी (फ्रान्स) र गालातासारे (टर्की) रहेका छ।

Comments

Popular Posts