घरेलु क्रिकेटमा दुर्लभ बलिङ


कीर्तिपुर क्रिकेट मैदानमा सोमबार पुगेका सबैले रोमाञ्चक क्रिकेट हेर्न पाए । क्रिकेटमा बन्ने दुर्लभ कीर्तिमानको साक्षी पनि बने । त्यो वाईवाई यू-१९ राष्ट्रिय क्रिकेटमा वीरगन्जका बलर अविनाश कर्णको बैतडीविरुद्ध दस विकेटको अद्वितीय प्रदर्शन थियो ।
दुर्लभ कीर्तिमान बनाउन सफल दायाँ हाते तीव्र गतिका बलर अविनाशले उत्साहित हुँदै भने, 'यो क्षण कुनै पनि बलरका लागि अनपेक्षित हो,' वीरगञ्ज प्रगतिनगर-३, का अविनाशले खेल्नुअघि लक्ष्य पाँच विकेट हात पार्नु रहेको बताए ।
तेस्रो ओभरमै ५ विकेट लिएपछि अविनाशको लक्ष्य १० विकेटै लिनु रह्यो रे । 'तीन ओभरमा ५ विकेट हात पारेलगत्तै मेरो लक्ष्य १० विकेट हात पार्ने रह्यो,' १७ वषर्ीय अविनाशले मुस्कुराउँदै भने, 'साथीहरू र प्रशिक्षकको सहयोगमा कीर्तिमान राख्न सकंे ।' राष्ट्रिय क्रिकेटमा १० विकेट लिने उनी पहिलो खेलाडी बने ।
अविनाशले ६ ओभर १ बलमा १ मेडनसहित २४ रन खर्चिए । उनले दुईपल्ट ह्याटि्रक गर्ने मौका गुमाए । दुवैपल्ट अविनाशले 'वाइड' बलिङ गरे । उनको १० विकेटसँगै वीरगन्जले बैतडीलाई १ सय ३५ रनले हरायो । पहिले ब्याटिङ गरेको वीरगन्जले ४६ ओभर ३ बलमा १ सय ९० रन जोडेको थियो ।
अविनाशको घातक बलिङसामु १२ ओभर १ बलमा बैतडी ५५ रनमै समेटियो । उनले चोभार 'इन्ड' बाट बलिङ गरेका थिए । पहिलो ओभरको दोस्रो बलमै विकेट लिन सफल भएका अविनाशले प्रत्येक ओभरमा विपक्षी ब्याट्सम्यानलाई आउट गरे । 'विपक्षी ब्याट्सम्यान आत्मविश्वासी देखिएका थिएनन् । उनले यसै वर्ष यू-१६ राष्ट्रिय क्रिकेटको फाइनलमा भैरहवाविरुद्ध ७ विकेट लिंदै वीरगन्जलाई उपाधि दिलाएका थिए ।
अन्तर्राष्ट्रिय क्रिकेटमा तीन खेलाडीले १० विकेट लिएर दुर्लभ कीर्तिमान राखेका छन् । भारतका स्पिनर अनिल कुम्बले र इंग्ल्यान्डका स्पिनर जिम लेकरले टेस्ट क्रिकेटमा एकै इनिङमा १० विकेट लिएका थिए । जिमले अस्ट्रेलिया र कुम्बलेले पाकिस्तानविरुद्ध कीर्तिमान रचेका हुन् ।
अर्को १० विकेट लिने कीर्तिमान नेपालका महबुब आलमको नाममा छ । महबुबले २००८ मा जर्सीमा भएको आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन-५ मा मोजाम्बिकविरुद्ध कीर्तिमान राखेका थिए । अन्तर्राष्ट्रिय वान-डे क्रिकेटमा १० विकेट लिने उनी पहिलो खेलाडी बने ।
वीरगन्जका प्रशिक्षक उमेश उपाध्यायले अविनाशको खुलेर प्रशंसा गरे । उमेशले नै उनलाई सानो उमेरदेखि 'ब्याट र बल' समाउन सिकाएका थिए ।
'हामीले सिकाउने हो । उसले मिहिनेत गर्नुपर्छ,' उमेशले भने । अविनाशले यो प्रतियोगितामा १५ विकेट लिएका छन् । उनले यसै वर्ष वीरगन्जको मिनिल्यान्ड इङलिस स्कुलबाट एसएलसी दिएलगत्तै भारत भ्रमण गरेका थिए । नयाँदिल्लीमा विजयदैया क्रिकेट एकेडेमीमा तीन महिना प्रशिक्षण गरे । पूर्वभारतीय विकेटकिपर ब्याट्सम्यान विजय दैयासँग प्रशिक्षण लिएका थिए ।

Comments

Popular Posts