लीग हुने रे

काठमाडौ, फाल्गुन १ - वि.सं.२०६३ सालयता पहिलोपल्ट हुने सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको औपचारिक रूपमा शुक्रबारदेखि आयोजनाको ढोका खुलेको छ ।रेफ्री सुदिश पाण्डेलाई बल हस्तान्तरण गर्दै संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङले लिगको उद्घाटन गरे । उनले ११ औं दक्षिण एसियाली खेलकुदमा ऐतिहासिक रजतपदक जितेका नेपाली महिला फुटबल खेलाडीलाई बधाई स्वरूप पुष्पगुच्छा दिएका थिए । दशरथ रंगशालामा एन्फा एकेडेमीका बाल खेलाडीले प्रदर्शनी खेल पनि प्रस्तुत गरेका थिए ।लिगको उद्घाटन भए पनि प्रतिस्पर्धा फागुन ८ गतेदेखि मात्रै सञ्चालन हुन्छ । डिफेन्डिङ च्याम्पियन पुलिस र ब्वाइज युनियन लिगको पहिलो खेलमा भिड्नेछन् । एन्फा र क्लबबीच भएको व्यवस्थापन विवादले चर्को रूप लिएपछि दुई वर्ष लिग रोकिएको थियो । राष्ट्रिय फुटबल संघसमेत दुईवटा बनेको थियो । गत वर्ष मंसिरमा एन्फा र नेपाल फुटबल संघबीच विवाद टुंग्याउने सहमति भएको थियो ।नेपालको सर्वोच्च लिग तीन वर्षअघि खेलेका राजधानीका दर्जन क्लब पुलिस, आरसीटी, आर्मी, एपीएफ, मनाङ-मस्र्याङ्दी, संकटा, थ्री-स्टार, एनआरटी, फ्रेन्ड्स, जावलाखेल, ब्वाइज युनियन र मच्छिन्द्र नै यसपालि सहभागी हुनेछन् । लामो समय चल्ने लिगमा एकले अर्को क्लबसँग दुई-दुई खेल खेल्नेछन् ।विजेताले १० लाख रुपैयाँ पाउने लिगमा कुल नगद पुरस्कार ४२ लाख ५० हजार छ । त्यस्तै उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले एक-एक मोटरसाइकल तथा सर्वोत्कृष्ट खेलाडीले कार पुरस्कारका रूपमा प्राप्त गर्नेछन् ।

Comments

Popular Posts