सफल बद्री र मनीष
काठमाडौ, फाल्गुन ४ - नेपाल च्याम्पियन बद्रीलाल नेपाली र फिडे मास्टर मनीष हमालले मखन रेटिङ चेस प्रतियोगितामा सोमबार विजयी सुरुआत गरेका छन् ।स्विस लिगअनुसार सञ्चालित प्रतियोगिताको पहिलो चरणमा बद्रीले जीवन मैनाली तथा मनीषले मिलन रोकालाई पराजित गर्दै एक/एक अंक जोडेका छन् ।मखन चेस क्लबको आयोजनामा भएको प्रतियोगिताको पहिलो चरणमा पूर्व नेपाल च्याम्पियन सुरवीर लामासहित सुजेन्द्रप्रसाद श्रेष्ठ, गणेशमान दुवाल र पुन्यमान कर्माचार्यले पनि सफलता हात पारेका छन् । सुरवीरले हरिशचन्द्र चौलागाईं, सुजेन्द्रले नवीन जैसवाल, गणेशमानले अलि इलियासलाई हराए । प्रतियोगितामा सहभागी चार महिलाखेलाडीका लागि पहिलो दिन सुखद रहेन । उनीहरू सबैले पराजय बेहोरे । महिलातर्फ नेपाल च्याम्पियन मोनालिसा खम्बुलाई श्यामसुन्दर श्रेष्ठले हराए भने पहिलो महिला रेटेड खेलाडी तारा घलेलाई प्रचण्ड मालाकारले पराजित गरे । अस्मिता अधिकारी उत्तमराज थापासँग तथा विशाखा जैसवाल राजेन्द्र राजभण्डारीसँग पराजित बने ।अन्य खेलमा नवीन तन्डुकारले प्रसान भासिमा, निरज निरौलाले इन्द्र बस्नेत, राजन पुरीले रमेश भण्डारी, राजेन्द्रप्रसाद श्रेष्ठले सागर केसी तथा लबकुमार श्रेष्ठले सञ्जय महर्जनलाई हराउँदै एक/एक अंक जम्मा पारे । त्यस्तै ज्ञानेन्द्र श्रेष्ठ, दीपक महर्जन, रुपेश जैसवाल र मणिराज डाँगीले पनि पहिलोचरणमा सफलता पाए । प्रेमकृष्ण महर्जन र साजन पाण्डेलेमात्र बराबरी खेले ।प्रतियोगितामा रेटेड ३० र अनरेटेड १८ गरी ४८ खेलाडी सहभागी छन् ।
Comments
Post a Comment