बंगलादेशविरुद्ध दुई मैत्रीपूर्ण खेल खेल्दै नेपाल


नेपाली राष्ट्रिय फुटबल टोली आगामी दुई मैत्रीपूर्ण खेलमा घरेलु मैदानमा बंगलादेशसँग भिड्दैछ। दशरथ रंगशालामा हुने यी खेललाई प्रशिक्षक म्याट रसले साधारण मैत्रीपूर्णभन्दा बढी महत्व दिएको बताएका छन्।

शुक्रबार आयोजित प्रि–म्याच पत्रकार सम्मेलनमा रसले भने, “यो खेल हाम्रो तयारी र क्षमतालाई परीक्षण गर्ने सुनौलो अवसर हो। घरेलु दर्शक सामु उत्कृष्ट प्रतिस्पर्धा हुनेछ भन्नेमा ढुक्क छौं र जित्ने विश्वास पनि छ।” उनका अनुसार, जित मात्र नभई टोलीको आत्मविश्वास र सामूहिक तालमेल प्रस्तुत गर्नु पनि यस मैत्रीपूर्ण सिरिजको मुख्य उद्देश्य हुनेछ।

कप्तान किरण चेम्जोङले पनि टोलीको तयारीप्रति सकारात्मक धारणा व्यक्त गरे। “मैले सबै प्रशिक्षण सत्रमा सहभागी हुन सकिनँ तर टोलीले राम्रो तयारी गरेको छ। म पूर्ण रूपमा तयार छु। घरेलु मैदानमा खेल्न पाउनु उत्साहको विषय हो, र खेल रोचक हुनेछ भन्ने अपेक्षा छ,” उनले भने।

यता, बंगलादेशका प्रशिक्षक जेभियर क्याब्रेराले पनि नेपाली टोलीलाई सम्मान गर्दै चुनौतीपूर्ण खेल हुने बताए। “नेपाल आउनुअघि नै हाम्रो तयारी राम्रो थियो। यी खेलहरूले आगामी प्रतियोगिताका लागि राम्रो परीक्षण दिनेछन्,” उनले भने। साथै उनले लेसेस्टर सिटीका अनुभवी खेलाडी हम्जा चौधरी दायाँ खुट्टाको चोटका कारण अनुपस्थित हुने स्पष्ट पारे।

नेपाल र बंगलादेशबीच पहिलो खेल शनिबार साँझ ५:३० बजे हुनेछ भने दोस्रो खेल मंगलबार तोकिएको छ। दुई खेलको समग्र नतिजाबाट विजेता टुंगो लगाइनेछ। यदि दुवै खेल बराबरीमा टुंगिए भने दोस्रो खेलपछि पेनाल्टी सुटआउटमार्फत अन्तिम विजेता घोषणा गरिनेछ।

Comments