नेपाल सरकारको निर्देशनपछि मेटा कम्पनीले दर्ता प्रक्रियाबारे सोधपुछ गर्यो
नेपाल सरकारले आधिकारिक दर्ता नगरी सामाजिक सञ्जाल सञ्चालन गर्न नपाइने निर्णय गरेपछि फेसबुक सञ्चालन गर्ने कम्पनी मेटाले नेपाल सरकारसँग सम्पर्क गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार मेटाले नेपालमा कम्पनी दर्ता गर्न आवश्यक प्रक्रिया र प्रावधानबारे जानकारी मागेको हो।
मन्त्रालयका सूचना अधिकारी रविन्द्रप्रसाद पौडेलले जानकारी दिँदै भने, “मेटाले नेपालमा दर्ता हुन के के गर्नुपर्छ, दर्ता प्रक्रियाको प्रावधान के छ भनेर विवरण मागेको छ।” मन्त्रालयले मेटालाई आवश्यक विवरण उपलब्ध गराउने तयारी गरेको छ।
नेपाल सरकारले सामाजिक सञ्जाल नियमन गर्नका लागि सबै प्लेटफर्मलाई दर्ता गर्न निर्देशन दिएको थियो। सात दिनको समयसीमा दिइएपछि दर्ता नगरेका प्लेटफर्महरूलाई नेपाल टेलिकम्युनिकेशन प्राधिकरणमार्फत बन्द गर्ने प्रक्रिया सुरु गरिएको छ।
मेटाको यो कदमलाई नेपालमा सामाजिक सञ्जालको औपचारिक सञ्चालनतर्फको सकारात्मक संकेतको रूपमा हेरिएको छ।
Comments
Post a Comment