सहमति बिना अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता, अखिल नेपाल बुद्धिचाल संघको आपत्ति
अखिल नेपाल बुद्धिचाल संघले हालै रसियामा सम्पन्न पहिलो बुद्धिष्ट अन्तर्राष्ट्रिय चेस प्रतियोगिता तथा काजकिस्तानमा जारी वर्ल्ड कप्याड च्याम्पियनसिपमा नेपालको सहभागितासम्बन्धी विवादप्रति गम्भीर ध्यानाकर्षण गराएको छ।
महासंघका महासचिव अनिल शेर्पालीद्वारा हस्ताक्षरित शुक्रबार जारी विज्ञप्तिमा प्राविधिक समिति र छनोट समिति गठन नगरी सहमति बिना सहभागिता गराउने प्रवृत्तिप्रति कडा आपत्ति जनाइएको छ। विज्ञप्तिमा भनिएको छ, “खेलाडी छनोटको विषय प्राविधिक समितिबाट मात्र हुने स्पष्ट प्रावधान हुँदाहुँदै पनि पछिल्ला गतिविधिले उक्त अभ्यासलाई कमजोर बनाएको छ।”
संघले सहमति बिना अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता गराउनु खेलाडीको क्षमता र योग्यता मूल्याङ्कन गर्ने स्थापित प्रक्रिया विपरीत भएको बताएको छ। साथै, यस किसिमको अभ्यासले खेलाडीमाथि मानसिक दबाब सिर्जना गर्ने र ‘ब्ल्याकमेल’ प्रवृत्ति विकास गर्ने खतरा रहेको उल्लेख गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, “यसरी गरिएको विवादास्पद सहभागिताले नेपालको अन्तर्राष्ट्रिय छविमाथि नकारात्मक असर पर्न सक्नेछ। भविष्यका खेलाडी, आयोजक तथा चेससम्बद्ध पुस्ताले पनि यसबाट असर भोग्नुपर्ने अवस्था आउन सक्छ।”
संघले यस्ता गतिविधि दोहोरिन नदिन सम्बन्धित निकायलाई सचेत रहन आग्रह गरेको छ। साथै, बुद्धिचाल खेलको प्रगति र विश्वासनीयताको रक्षा गर्न सबै चेसकर्मीलाई एकजुट भई योगदान गर्न आह्वान गरिएको छ।
Comments
Post a Comment