गणेश थापा बचाऊ अभियानमा सागर र विमल
सार्वजनिक लेखा समितिले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापाको पद स्थगन गर्ने निर्णयविरुद्ध खेलाडी र प्रशिक्षक उत्रिएका छन् ।
राष्ट्रिय फुटबल टिमका क्याप्टेन सागर थापा, राष्ट्रिय महिला फुटबल टिमका क्याप्टेन चन्द्रा भण्डारी, राष्ट्रिय युवा टिमका क्याप्टेन विमल घर्ती मगर, राष्ट्रिय युवा फुटबल प्रशिक्षक बालगोपाल महर्जन र फिफा रेफ्री लव खत्रीले थापाको बचाऊ गरेका छन् ।
उनीहरुले गणेश थापाको कारबाहीले फुटबलका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तयारी र प्रतियोगिताहरु प्रभावित हुने भन्दै युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल र राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव युवराज लामालाई ज्ञापन पत्र बुझाएका छन् ।
'लेखा समितिको निर्णय कार्यान्वयन भए यसबाट विश्व फुटबल महासंघ (फिफा)को विधानको बुँदा १३ र १७ आकर्षित हुने र जसबाट नेपाल अन्तर्राष्ट्रिय फुटबलमा प्रतिबन्ध हुनेछ,' ज्ञापन पत्रमा लेखिएको छ, 'नेपाल प्रतिबन्ध भएमा एन्फाद्वारा पहिलोपटक सञ्चालन गर्न गइरहेको होम एन्ड अवेको अवधारणामा हुने राष्ट्रिय लिगमा पनि गम्भीर असर पर्न जानेछ ।'
ज्ञापन पत्रमा नेपाल अन्तर्राष्ट्रिय फुटबलमा प्रतिबन्ध भए खेलाडीहरु पलायन हुने र ह्रास आउनेप्रति सजग तुल्याइएको छ ।
खेलाडी तथा प्रशिक्षकहरुले फुटबलको भविष्यलाई तहसनहस पार्ने गरी हुने कारबाहीलाई पुनर्विचार गर्न माग गरेका छन् । यद्यपि उनीहरुले दोषि भएमा पदाधिकारीमाथि हुने कारबाहीमा भने आपत्ति नहुने उल्लेख गरेका छन् ।
ज्ञापनपत्रमा एन्फाले भौतिक पूर्वाधार निर्माण, खेल र खेलाडीको व्यवसायिकताका लागि थुप्रै काम गरेको भन्दै प्रशंसा गरिएको छ । 'फुटबलको माध्यमबाट आज हामीले मोटरसाइकल, कार, अपार्टमेन्ट र नगद पुरस्कार पाएका छौं,' भनिएको छ ।
ज्ञापनपत्रमा मुलुकको कानुनभन्दा माथि कोही नहुने भए पनि लेखा समितिका एकजना जिम्मेवार सदस्यले पूर्वाग्रही भएर खेल र खेलाडीप्रति अन्योल सृजना गरेको उल्लेख छ ।
सार्वजनिक लेखा समितिको असोज १२ गतेको बैठकले थापाको पद स्थगनको निर्णय गर्दै एन्फामा वैकल्पिक व्यवस्था गर्न निर्देशन दिएको थियो ।
Comments
Post a Comment