एन्फा अध्यक्षको पद अनिश्चित कालका लागि स्थगन

क्रिकेटपछि अब नेपालमा फुटबलको नेतृत्वमा संकट देखिएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष लगायतका पदाधिकारीहरु भ्रष्टाचारको आरोपमा मुद्दा खेप्दै छन्  र निलम्बनमा छन्।

फुटबलमा पनि अध्यक्ष गणेश थापा लगायतका केही अन्य पदाधिकारीको पद अनिश्चित कालसम्म स्थगन गर्न संसदको सार्वजनिक लेखा समितिले खेलकुद मन्त्रालयलाई सिफारिस गरेको छ।
 
अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्षको हैसियतले अनिश्चित कालका लागि कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कुनै पनि कार्यक्रममा थापा सहभागी हुन नपाउने भएका छन्। उनले कुनै फुटबलको विषयमा एन्फा अध्यक्षका रुपमा कुनै निर्णय पनि गर्न पाउने छैनन्। समितिले एन्फा सम्बन्धि कामका लागि वैकल्पिक व्यवस्था गर्न समेत मन्त्रालयलाई निर्देश दिएको छ।

संसद्को सार्वजनिक लेखा समितिको आइतबारको बैठकले एन्फामा आर्थिक अनियमितता भएको देखिएकाले छानबिन अवधिभर अध्यक्ष थापाको पद स्थगनको सिफारिस गर्ने निर्णय गरेको हो। समितिले अनियमिततामा संलग्न अन्य पदाधिकारीको पनि पद स्थगन गर्न सिफारिस गरेको छ।

पद स्थगनसँगै थापाले एन्फाको तर्फबाट कुनै पनि संस्थागत तथा सार्वजनिक कार्यक्रममा भाग लिन पाउने छैनन्। यस्तै अन्तर्राष्ट्रिय फोरममा आयोजना हुने कुनै पनि कार्यक्रममा अध्यक्षका हैसियतले थापाले प्रतिनिधित्व गर्न पाउने छैनन्।

समितिले एन्फाको आर्थिक अनियमितता संलग्न अन्य पदाधिकारीलाई समेत छानबिन भइरहेको बिषयमा कुनै  निर्णय नगर्न पनि निर्देशन दिएको छ।

समितिले एन्फाका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, खेलकुद मन्त्रालय र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले छानबिन गरिरहेकाले छानबिन जारी रहेसम्म पद स्थगनको सिफारिस गरेको हो। छानबिन कहिले टुङ्गिने निश्चित भएकोले पद स्थगन पनि अनिश्चित कालसम्म लम्बिने छ।

एन्फामा अनियमितता ठहर

संसदको लेखा समितिले एन्फामा करोडौँ भ्रष्ट्राचार उजुरीका अाधारमा छलफल तथा अनुसन्धान पछि एन्फामा गम्भीर समस्या देखिएको ठहर गर्दै अनियमितताबारे थप अनुसन्धान गरी दुई महिना भित्र कारबाही अगाडि बढाउन निर्देशन दिएको छ। समितिले १६ वटा विभिन्न विषयमा थप अनुसन्धान गर्न खेलकुद मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई निर्देशन समेत दिएको छ। थप अनुसन्धान र छानबिन गर्न समितिले उठाएका विषय-
  • एएफसी अध्यक्ष गौरव थापाले लिएको एक लाख डलर
  • गोल प्रोजेक्टका लागि प्राप्त १७ करोड ४८ लाख ७० हजार रकम
  • नगरपालिकाहरुबाट प्राप्त २० प्रतिशत रकम बापतको ६४ करोड ६७ लाख अडिट नगराएको विषय
  • एएफसीबाट प्रशिक्षकहरुका लागि आएको रकम अडिट नगराएको
  • खेलाडी कल्याण कोषको ४० लाख र त्यसको आम्दानी र खर्च
  • साथी भन्ने स‌स्थालाई विना निर्णय विगत ६ बर्षदेखि २ हजार ५ सय डलर दिएको
  • गेट टिकटको रकम लेखापरिक्षणमा नदेखिएको र टिकट बिक्रि वापतकाे रकम आयमा समावेश नभएको
  • भवन निर्माण लगयातका सार्वजनिक खरीदसँग सम्बन्धित खरीद ऐन कानून पालना नपाएको
  • सरकारबाट उत्कृष्ट खेलाडी पुरस्कार वापत प्राप्त रकमको हिसाब किताब नराखेको
  • एन्फाको नाममा विभिन्न आर्थिक वर्षहरुमा प्राप्त बैङ्क ब्याज वापतका रकमहरु
  • विदेशी प्रशिक्षकहरुको पारिश्रमिक भुक्तानीमा अग्रिम कर कट्टी नगरेको र नेपालीहरुको पनि टिडीएस गरी राजश्व दाखिला नगरेको, विना भ्याट, पान विल सामान खरीद गरेको
  • पेश्की फछ्यौट नगरी थप पेश्की दिएको
  • विभिन्न निकायमा पेश गरिएको एउटै विषयका फरक प्रतिवेदनहरु
  • अपार्टमेन्ट खरीद गरी रकम भुक्तानी नगरेका विषयहरु
  • एन्फाको संगठन सञ्चालन, आर्थिक कारोवार, निर्माण लगायतका खरीद कार्य, जनशक्ति ब्यवस्थापन, प्रशिक्षक तथा खेलाडीहरुको पारिश्रमिक आदि सम्बन्धमा नियम र प्रक्रियाहरुको पालना नभएको
पद स्थगन गर्ने विषयमा राप्रपा नेपालको असन्तुष्टिबीच समिति सभापति जनार्दन शर्माले प्रस्ताव राखेका थिए। सभापतिको प्रस्तावमा कांग्रेस, एमाले लगायतका साना दलका सभासद्ले समर्थन गरेका थिए।

अध्यक्ष थापा हालै राप्रपा नेपालको कोटाबाट समानुपातिक सभासद् समेत भएका छन्। राप्रपा नेपालका अध्यक्ष कमल थापा एन्फा अध्यक्ष गणेश थापाका दाजु हुन्।  

छानबिन प्रक्रिया जारी रहँदासम्म पद स्थगन हुने समिति सभापति शर्माले बताए।

Comments

Popular Posts