१७औं एसियाली खेलकुद: झरना पदक नजिक

उसुकी झरना गुरुङले नेपाललाई इन्चोन एसियाडबाट पदकको आशा दिलाएकी छन्। १७औं एसियाली खेलकुदको उसु सान्सौंमा विजयी सुरुआत गर्दै झरना ५२ केजी तौल समूहको क्वार्टरफाइनल पुगेकी छन्। अर्को खेल जिते झरनाले कांस्य पदक पक्का गर्नेछिन्।
पदक अपेक्षा गरिएकी झरनाले तुर्कमेनिस्तानकी आइगुल रहिमोभामाथि २–० अंकको साहसिक जित पाइन्। ‘मैले टेक्निकल्ली राम्रो खेलें। हाम्रो बीचमा २० र १० कै अन्तर थियो। दुई राउन्ड नै खेल नियन्त्रणमा राखेकाले सजिलो भयो,' गाङह्वा डाल्मेन्स जिम्न्याजियममा जितपछि उनले भनिन्, ‘अर्को खेललाई शक्ति संचय गरेकी छु। अहिले आनन्द महसुस गरिरहेको छु।'

दुई वर्षअघि भियतनाममा सम्पन्न एसियाली उसु च्याम्पिनसिपमा कांस्य जितेकी झरनाले सेमिफाइनल पुग्न इरानकी एलेह मन्सोरियनसमिरोमीसँग सोमबार प्रतिस्पर्धा गर्नेछिन्।
झरना एसियाली खेलकुदमा पहिलोपल्ट पदक जित्नेमा आशावादी छिन्। ‘मैले अझै मिहिनेत गर्नुपर्छ। म त्यसमै केन्द्रित छु,' उनले थपिन्, ‘सहज।'
झरना र ब्याडमिन्टनको पुरुष टोलीबाहेक सोमबार एसियाडका अरु नतिजा निराशजनक रहे। नेपाली ब्याडमिन्टनको पुरुष टिम इभेन्टमा मकाउलाई ३–० सेटले हराउँदै क्वार्टरफाइनल पुगेको छ।
घरेलु शीर्ष वरियताका रत्नजित तामाङसहितको टोलीले १७औं एसियाली खेलकुदमा नेपाललाई पहिलो जित दिलायो। अब नेपालले आइतबार पहिलो चरण वाई पाएको मलेसियासँग खेल्नेछ।
मकाउसँग रत्नजित तामाङले चि वाई वानलाई २१–१२, २१–१६ ले, विकास श्रेष्ठले यु ली उडलाई २१–११, २१–१६ को सोझो सेटमा हराए। उनीहरूको दाँजोमा साजनकृष्ण ताम्राकारको जित केही कठिन रह्यो। उनले होक मान लोउमाथि १२–२१, २१–४, २१–१८ को जित पाएका थिए।
उसुमै अमर सुनार शनिबार लाओसका खाम्ला सोउकाफोनसँग २–० अंकले पराजित भएका छन्। उनी सान्सौं ५६ केजीमुनि तौल समूहमा पराजित भएका हुन्।
जुडोका तीन खेलाडी, ब्याडमिन्टनको महिला टिम इभेन्ट, सेपाकटाक्रो, फेन्सिङ र उसुमा नेपालको प्रदर्शन खराब रह्यो। यद्यपि जुडोका प्रशिक्षक वीरेन्द्र रञ्जित खेलाडीको प्रदर्शनबाट सन्तुष्ट हुनुपर्ने बताउँछन्।
जुडोमा ६० केजीमुनि सरोज महर्जन, ६६ केजीमुनि रमेश मगर र महिला ५२ केजीमुनि देविका खड्का पहिलो खेलमै पराजित भए। डो वन जिम्न्याजियममा आफ्नो तौलका नम्बर एक सरोज उत्तर कोरियाका किम चुङ होकसँग इप्पोनमा पराजित भए। पछिल्लो ६ वर्षमा किमसँग सरोजको यो तेस्रो भेट हो। उनीसँग सरोज थाइल्यान्डको बैंककमा सन् २००९ मा भएको एसियन मार्सल आर्टस गेम्स र गत वर्ष एसियन च्याम्पियनसिपमा पनि पराजित भएका थिए। ‘यसअघि म उनीसँग केही सेकेन्डमै पराजित हुन्थें। तर यसपटक झन्डै दुई मिनेट खेल्न सक्नु व्यक्तिगत मेरा लागि सफलता हो,' सरोजले भने, ‘मलाई यति खेल्न सकँुला भन्ने लागेको थिएन। यसअघि दुईपटक खेलिसकेकाले त्यो अनुभव काम लाग्यो।'
अघिल्लो महिना रुसमा विश्व च्याम्पियनसिपको अनुभव बटुलेका सरोजले एसियाडमा आफ्नो प्रदर्शनबारे थपे, ‘बराबरीको स्थिति हामी दुवै ग्रिपका लागि प्रयास गरिरहेका थियौं। तर सफलता दुवैलाई मिलेको थिएन। त्यसबीचमा उनले ग्रिप लगाए, उनलाई जित मिल्यो।'
इप्पोन (नकआउट) मै पराजित भए पनि सरोजको प्रदर्शनबाट जुडो परिवार भने उत्साहित देखिन्थ्यो। नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले भने, ‘जित्ने अपेक्षा त हामीले पनि राखेका होइनौं। तर सरोजले जसरी खेले त्यसले खेलाडीको मनोबल बढेको र स्तर सुधार भएको प्रस्ट हुन्छ।' वज्राचार्य एसियाली जुडो पदाधिकारीका रूपमा इन्चोन आइपुगेका हुन्। उनले इन्चोन आनुअघि नै जुडोले पदक आशा नगरेको र जतिसक्दो राम्रो प्रदर्शनलाई प्रयास गर्ने बताएका थिए। 
जुडो प्रशिक्षक वीरेन्द्र रञ्जित नेपाली खेलाडीलै डेढ–दुई मिनेट खेल्न सक्नुलाई नै ठूलो सफलता मान्छन्। ५ मिनेटको खेलमा सरोज झन्डै दुई र रमेश दुई मिनेटभन्दा केही बढी टिके। रमेश एसियन च्याम्पियनसिपका स्वर्ण पदक विजेता तोमुरखुलिक डाबाडोर्ज पराजित भए। ‘उनका बारेमा राम्रो जानकारी थियो,' जुडोको भाषामा ओसाइकोमी (लगातार २० सेकेन्ड थिचेपछि ) मा पराजित रमेशले भने, ‘उनले कस्तो खेल्छन् भन्दा पनि मैले आफ्नो खेलमा बढी ध्यान दिएँ। सायद त्यसैले म लामो समय टिक्न सफल भएँ।'
पहिलोपल्ट अन्तर्राष्ट्रिय स्पर्धाको अनुभव बटुलेकी देविका कमनवेल्थकी स्वर्ण विजेता कल्पनादेवी थौदमसँग इप्पोनमा हारिन्। एसियाडको अनुभव भविष्यमा काम लाग्नेमा देविका आशावादी छन्। ‘पहिलोपल्ट अन्तर्राष्ट्रिय खेलमा अनुभवी खेलाडीसँग पर्दा नर्भस भएँ,' उनले भनिन्, ‘तर मैले यसबाट राम्रो पाठ सिकें। भविष्यमा आफूले सुधार गर्नुपर्ने पक्षबारे थाहा पाएँ।
जुडोमा दक्षिण एसियामा भारतपछि दोस्रो स्थानमा रहे पनि नेपालको प्रदर्शनमा सुधार गर्न धेरै प्रयास गर्नुपर्ने रमेशको तर्क छ। ‘विदेश पठाएर वा विदेशी प्रशिक्षक झिकाएर प्रशिक्षण गर्नुपर्छ,' उनले भने, ‘जतिसक्दो अन्तर्राष्ट्रिय खेलमा अनुभव बटुल्न लगाउने हो भने हाम्रा खेलाडीले एसियाडमा पदक जित्ने सम्भावना रहन्छ।' 
आइतबार फुपूल्हामु खत्रीले ६३ केजीमुनि तौलमा चाइनिज ताइपेइकी खेलाडीसँग प्रतिस्पर्धा गर्नेछिन्।
ब्याडमिन्टन : महिला टोली पराजित
ब्याडमिन्टनमा महिला टोलीको पुरुष टोलीको सुरुआत सुखद रहेन। रत्नजितकी दुई दिदी सरादेवी र नङ्सलादेवी तथा शिक्षा श्रेष्ठसम्मिलित टोली मलेसियासँग ३–० को सेटमा पराजित भयो। सरा ली ल्यान याङसँग २१–४, २१–११ र नङ्सलादेवी यिन फन लिमसँग २१–२, २१–७ को सोझो सेटमा भए। शिक्षाले केही चुनौती पेश गरे पनि चु सिन लिमसँग २१–१३,२१–९ को सोझो सेटमै पराजित भइन्। 

Comments

Popular Posts