ए डिभिजन नक आउट फुटबल भदौ १५ गतेदेखि हुने
अखिल नेपाल फुटबल संघ एन्फाले भदौ १५ गतेदेख २५ गतेसम्म ए डिभिजन नक आउट फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।
एन्फा पदाधिकारी र ए डिभिजन क्लबका प्रतिनिधिबिच भएको छलफलले ए डिभिजन नक आउट फुटबल प्रतियोगिता काठमाडौंको दशरथ रंगशालामा गर्ने निर्णय गरेको हो ।
बैठकमा यो प्रतियोगितामा सहभागी हुने टिमहरुलाई गत वर्ष सम्पन्न गोर्खा कप फुटबल प्रतियोगितामा उपलब्ध गराईएको सरह नै सुविधा एन्फाले दिने सहमति भएको छ । यो प्रतियोगितामा ए डिभिजनका क्लवहरुको सहभागिता रहने छ ।
यस्तै यसै वर्षदेखि होम एण्ड अवे पद्दतीमा आयोजना गरिने राष्ट्रिय लिग कात्तिक २१ गतेदेखि संचालन गर्ने निर्णय पनि बैठकले गरेको छ । राष्ट्रिय लिग फुटबल प्रतियोगिताको लागि आगामी असोज १ गते देखि खेलाडी दर्ता प्रक्रिया खुल्ला गरिने एन्फाले जनाएको छ ।
एन्फाको विरोधमा रहेका ४ क्लव उपस्थित भएनन्
एन्फाको काम कारवाहीप्रति असन्तुष्ट राख्दै आएका मछिन्द्र क्लब, फ्रेण्डस क्लब, हिमालयन शेर्पा क्लब र सरस्वती युवा क्लबका प्रतिनिधि भने बैठकमा सहभागी भएनन् ।
एन्फाको अनुरोध अनुसारको प्रतिवद्धता पत्र बुझाउँदै प्रतियोगितामा सहभागी हुन अनुरोध गरेमा नियम बमोजिम यी चार क्लवलाई पनि प्रतियोगितामा सहभागी गराउने एन्फाले जनाएको छ ।
एन्फाले दिने भनेको पुरस्कार रकम तथा प्रतियोगिताको तयारी खर्च नपाएको भन्दै यी चार वटा क्लवले एन्फाका सबै बैठक बहिष्कार गर्दै आएका छन् । एन्फाले यी चार क्लवलाई अन्तिम स्पष्टिकरण सोध्दै त्यसको चित्तबुझ्दो जवाफ नआएका प्रतिबन्ध लगाउने चेतावनी यसअघि नै दिइसकेको छ ।
Comments
Post a Comment