आफ्नै कीर्तिमान तोड्ने तयारीमा तिलकराम

नेपाली एथलेटिक्स खेलाडीका लागि ओलम्पिक र एसियाली खेलकुद प्रतियोगिता (एसियाड) मा पदक जित्नु निकै ठुलो उपलब्धि हो। ओलम्पिक र एसियाडमा राम्रो गर्नसके त्यसको ऊर्जाले दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग गेम्स) मा पदक जित्‍न बल मिल्ने आशा खेलाडीको हुन्छ।

अहिले एसियाडको तयारीमा रहेका एथलेटिक्स खेलाडी तिलकराम थारू पनि एसियाडमा आफ्नो लक्ष्य कीर्तिमानमा सुधार गर्नु रहेको बताउँछन्। 'बन्द प्रशिक्षक सुरु भइसकेको छैन। तर डेढ वर्षदेखि एथलेटिक्सको राष्ट्रिय टोलीमा रहेका खेलाडीलाई विशेष प्रशिक्षण गराइँदै आएकाले तयारी राम्रै छ', तिलकरामले भने।

नेपाल एथलेटिक्स संघले डेढ महिनादेखि नै खेलाडीलाई विशेष क्याम्पमा राखेको छ। 'हरेक बिहान अभ्यास गर्दै आएका थियौं। राखेपले मंगलबारदेखि बन्द प्रशिक्षणमा राख्‍ने भनेको छ। अब दैनिक दुईपटक अभ्यास हुन्छ होला', तिलकरामले भने। सन् २०१२ को लन्डन ओलम्पिकमा समेत सहभागिता जनाएका तिलकरामले १७ औं एसियाडमा दुई सय र चार सय मिटर दौडमा प्रतिस्पर्धा गर्दै छन्।

'लन्डन ओलम्पिकमा मैले एक सय मिटर दौडमा भाग लिएको थिएँ। त्यसमा खासै राम्रो गर्न सकिनँ। तर दुई सय र चार सय मिटर मेरो आफ्नै विधा हो। दुवैमा मेरो राष्ट्रिय कीर्तिमान छ। यसलाई अझै सुधार गर्ने योजनाअनुसार मिहिनेत गरिरहेको छु', तिलकरामले भने। दुई सय मिटरको दौडमा २१.४१ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएका उनको नाममा चार सय मिटरमा पनि ४८.३२ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान छ।

तिलकरामले एथलेटिक्स खेल खेल्न सुरु गरेको तीन वर्षमै ओलम्पिकमा सहभागिता जनाएका थिए। एसियाडमा नयाँ कीर्तिमान रच्ने अभियानमा रहेका उनले दुवै विधामा सेमिफाइनलसम्म पुग्न सके कीर्तिमान भंग गर्न गाह्रो नहुने बताए। 'एसियाडलाई सकभर उपलब्धिमूलक बनाएर फर्कनेछु। तयारीका लागि अझै समय बाँकी रहेकाले आत्मविश्‍वास बढेको छ', उनले भने। एसियाडको तयारी र सहभागिताले आगामी साग गेममा पदक जित्‍ने विश्‍वास लिएको तिलकरामले बताए।

छैटौं राष्ट्रिय खेलकुद प्रतियोगितामा चार स्वर्ण र एक कांस्य पदक जितेका तिलकराम स्कुलस्तरीय प्रतियोगिताबाट दौडमा कहलिएका थिए। नवलपरासीका २२ वर्षीय तिलकराम प्रवेशिका परीक्षामा अनुत्तीर्ण भएपछि विभागीय टोलीको नेपाल पुलिस क्लबमा प्रवेश गरेका हुन्। पुलिस प्रवेशसँगै उनको दौडले नयाँ उचाइ लिएको थियो।

एसियाड सहभागिताका लागि नेपाल एथलेटिक्स संघले शुक्रबार मात्र ९ जना खेलाडी छनोट गरेको छ। जसमा ६ पुरुष र तीनजना महिला खेलाडी छन्। पुरुषतर्फ लितकराम सहित यामसाजन सुनार, हरि रिमाल, गोपीचन्द्र पार्की, कृष्णबहादुर बस्नेत र मुक्ति खड्का छन्। महिलातर्फ दिलमाया कार्की, कान्छिमाया कोजु र केशरी चौधरी छन्। छनोट भएकामध्ये यामसाजनले एक सय र दुई सय मिटर, हरिले पन्ध्र सय र पाँच हजार मिटर, गोपीचन्द्रले पाँच हजार र दस हजार मिटर, मुक्तिले आठ सय मिटर दौड र कृष्णबहादुरले म्याराथनमा प्रतिस्पर्धा गर्नेछन्। यामसाजन एक सय मिटरका कीर्तिमानी खेलाडी हुन्।

यसैगरी महिलातर्फ दिलमायाले दुई सय र चार सय मिटर, कान्छिमायाले पाँच हजार र दस हजार मिटर दौड तथा केशरीले लङजम्प र ट्रिपलजम्पमा प्रतिस्पर्धा गर्नेछिन्। दुई सय मिटरमा दिलमायाको नाममा पनि राष्ट्रिय कीर्तिमान छ। एसियाडका लागि एथलेटिक्समा राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहेका १२ खेलाडीबाट नौजना छनोट गरिएको संघले जनाएको छ।

Comments

Popular Posts