क्रिकेटर बने सैनिक
त्रिभुवन आर्मी क्लबबाट क्रिकेट खेल्ने खेलाडीहरू सैनिक सेवामा आबद्ध भएका छन्। नेपाली सेनाले क्रिकेट खेलाडीलाई आफ्नो कर्मचारीकै रूपमा भर्ती गरेको हो। हाल १० जना राष्ट्रिय क्रिकेटरलाई कर्मचारीका रूपमा नियुक्त गरिएको सेनाको समारोह तथा खेलकुद प्रतियोगिता शाखा प्रमुख सेनानी प्रकाशजंग कार्कीले बताए।
क्रिकेट खेलाडीलाई सेनाको बन्दोबस्ती कार्य सिपाही पदमा नियुक्त गरिएको छ। यसरी नियुक्ति पाउने खेलाडीमा सागर पुन, नरेश बुढाऐर, राजेश पुलामी, अनिल मण्डल, महेश क्षेत्री, चन्द्र साउद, अविनाश कर्ण, राहुल विक, सोमपाल कामी र जितेन्द्र मुखिया छन्। विनोद भण्डारी र रूपेश श्रीवास्तव पनि भर्नाको तयारीमा रहेको क्लबले जनाएको छ।
यी सबै खेलाडीले थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा राष्ट्रको प्रतिनिधित्व गरिसकेका छन्। सागर, सोमपाल, जितेन्द्रलगायतका खेलाडी नेपालले पहिलोपटक बंगलादेशमा टीट्वेन्टी विश्वकप खेल्दा राष्ट्रिय टोलीका महत्त्वपूर्ण सदस्य थिए।
बन्दोबस्ती कार्य सिपाही पदमा नियुक्त भए पनि क्रिकेट खेलाडीलाई हालसम्म सेनाको तालिममा भने पठाइएको छैन। निकट भविष्यमा दक्षिण कोरियाको इन्चोनमा आयोजना हुने सत्रौं एसियाली खेलकुद प्रतियोगिताको तयारीलाई ध्यानमा राखी तत्काल क्रिकेट खेलाडीलाई तालिममा नपठाइएको क्लबले जनाएको छ। राष्ट्रिय क्रिकेट टोली अहिले एसियाडको बन्द प्रशिक्षणमा छ।
क्रिकेटर सागरले पनि आफू सेनाको जागिरमा प्रवेश गरेको स्वीकारे। 'सेनामा आबद्ध भएपछि हामी ढुक्क भएका छौं। अब आफ्नो सम्पूर्ण ध्यान क्रिकेटमा केन्द्रित गर्न सक्छौं', उनले भने, 'पहिले खेलका क्रममा घाइते हुँदा भविष्य अनिश्चित हुने डर रहन्थ्यो, अब त्यो समस्याबाट पनि मुक्त भएका छौं।'
अर्का खेलाडी अविनाशले पनि आफू सैनिक सेवामा प्रवेश गरेको पुष्टि गर्दै नेपाली सेनाले क्रिकेट खेलको विकासका लागि महत्त्वपूर्ण योगदान गरेको बताए। 'अब हामीले क्रिकेट मात्र खेल्छु भने हुन्छ, अन्य समस्यामा पिरोलिएर बस्नु पर्दैन। यसले क्रिकेट र करिअर दुवैलाई राम्रो भएको छ', उनले भने।
सेनाको क्रिकेट टोलीले आफ्नो पहिलो सहभागितामै राष्ट्रिय टीट्वेन्टी प्रतियोगिताको उपाधि जितेको थियो। आर्मी क्लबका अतिरिक्त सशस्त्र प्रहरी बलको एपीएफ क्लबमा पनि राष्ट्रिय क्रिकेट खेलाडी आबद्ध छन्। एपीएफ क्लबका अधिकांश खेलाडी भने करारमा छन्।
Comments
Post a Comment