एसियाडलाई फुटबल टोली

अखिल नेपाल फुटबल संघ (एन्फा) ले एसियाली खेलकुदका लागि राष्ट्रिय टोलीका १० सहित २० खेलाडीको अन्तिम छनोट गरेको छ।
दक्षिण कोरियाको इन्चोनमा हुने एसियाली खेलकुदअन्तर्गत फुटबलमा यु–२३ ले प्रतिस्पर्धा गर्नेछ। युवा टोलीमा बढी उमेरका तीन खेलाडी राख्न पाउने प्रावधान छ।
ज्याक स्टेफानोस्कीले बढी उमेरका तीन खेलाडीमा राष्ट्रिय टोलीका कप्तान सागर थापासहित सन्दीप राई र विक्रम लामा समेटेका छन्। युवा टोलीमा परेका राष्ट्रिय टोलीका सदस्यमा रोहित चन्द, रविन श्रेष्ठ, जगजित श्रेष्ठ, प्रकाश बुढाथोकी, विमल घर्तीमगर, असिमजंग कार्की र गोलकिपर एलेन न्यौपाने छन्।
बन्द प्रशिक्षणका ३० मध्ये अन्तिम छनोटमा परेका अन्य खेलाडीमा भरत खवास, अमर डंगोल, सुशील केसी, हेमन गुरुङ, आदित्य चौधरी, अजित भण्डारी, रञ्जित धिमाल, दिनेश थापामगर र गोलकिपर विकेश कुथु छन्।
नेपाल ओलम्पिक कमिटी (एनओसी) मार्फत एन्फाले २० खेलाडीको अन्तिम नाम दर्ता गराइसकेको छ। टोली व्यवस्थापकमा एन्फाका केन्द्रीय सदस्य रमेश रायमाझी छन्।
यसैबीच नेपाली युवा टोलीसँग दुई मैत्रीपूर्ण फुटबलका लागि अर्को महिना बंगलादेशको यु–२३ टोली काठमाडौं आउनेछ।
एसियाली खेलकुदको तयारीमा रहेको युवा टोली र त्रिभुवन आर्मीबीच शुक्रबार सातदोबाटोमा भएको मैत्रीपूर्ण खेल २–२ को बराबरीमा टुंगिएको थियो।

Comments

Popular Posts