नेपालका दुवै टोली पराजित

नेपाली टोली नर्वेमा जारी ४१ औं चेस ओलम्पियाडमा पराजित भएको छ। आइतबार भएको खेलमा नेपालको महिला र पुरुष दुवै टोली पराजित भएको हो। नेपाल पुरुष स्पर्धामा बोस्निया हर्जगोभिनासँग र महिला स्पर्धामा टर्कीसँग पराजित भयो। पुरुषतर्फ नेपाली टोलीमा सुजेन्द्रप्रसाद श्रेष्ठ, रिजेन्द्र राजभण्डारी, सजिन महर्जन र केशव श्रेष्ठ सहभागी थिए।

फिडे मास्टर (एफएम) सुजेन्द्रप्रसाद श्रेष्ठ ग्रान्ड मास्टर (जीएम) बोर्की प्रोदोजेभिक (२६ सय चार वरीयताप्राप्त) सँग सहजै पराजित भए। रिजेन्द्र पनि जीएम डालिवर स्टोजनोभिक (२५ सय तीन वरीयताप्राप्त) सँग पराजित भए।

यसैगरी युवा खेलाडी सजिनले अन्तर्राष्ट्रिय मास्टर (आईएम) डेनिस कादरिक (२४ सय ७३) सँग हार भोगे। उत्कृष्ट प्रदर्शन रहेका सजिनले २८ औं चालमा गरेको सामान्य गल्तीको फाइदा डेनिसले उठाए। नेपाल च्याम्पियन केशव पनि फिडे मास्टर खेलाडीसँग पराजित भए।

महिलातर्फ नेपाली खेलाडीले बलियो टोली टर्कीका प्रतिद्वन्द्वीसँग अंक जोड्न सकेनन्। नेपाली महिला टोलीमा संगीता जैसवाल, मोनालिसा खुम्बु, अस्मिता अधिकारी र विना जैसवाल थिए। संगीता जीएम कुँवरा ओज्टुकसँग र मोनासिला आईएम खायला इस्गान्दोवासँग हारे। यसैगरी अस्मिताले आईएम जेरा टोपल्कोसँग र विनाले करडेलनसँग पराजय भोगे। प्रतियोगितामा नेपाली महिला टोलीले सहभागिता जनाएको यो पहिलो पटक हो।

प्रतियोगिताको सोमबार हुने खेलमा नेपालले पुरु षतर्फ ग्वामसँग र महिलातर्फ पाराग्वेसँग प्रतिस्पर्धा गर्नेछ। यसअघि ४० औं चेस ओलम्पियाडमा नेपालले ग्वामलाई हराएको थियो। एक सय ८१ राष्ट्रको सहभागिता रहेको छ।

Comments

Popular Posts