'गणेश थापा कानुन मिच्न एक नम्बर'
फुटबल क्लब समन्वय समितिका पदाधिकारीले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापा कानुन मिच्नमा माहिर व्यक्ति भएको आरोप लगाएका छन्। समितिले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी गणेश थापाले नेपालको अदालत, अख्तियार दुरुपयोय अनुसन्धान आयोग, सार्वजनिक लेखा समिति, खेलकुद मन्त्रालय लगायत निकायको अवज्ञा गरेको बताएका हुन्।
समन्वय समितिका संयोजक एवं सिम्रिक सरस्वती क्लबका अध्यक्ष शिक्षित पराजुलीले फुटबल विकासका लागि क्लबहरूले उठाएको जायज मागलाई बेवास्ता गर्दै एन्फा अध्यक्ष थापा प्रतिशोधमा उत्रिएको बताए। 'हामीले क्लबहरूले पाउने तयारी खर्च, पुरस्कार रकम, क्लबलाई आर्थिक रूपले आत्मनिर्भर बनाउने कुरा उठाएका थियौं। तर जायज माग राख्दा उल्टै कारबाही र धम्कीको कुरा गरिएको छ। नेपालमा थापाले विधिको शासनलाई मानेका छैनन्', पराजुलीले भने। उनले थापा नेपालको कानुभन्दा माथि रहेको बताउँदै केही समय लागे पनि नेपाली फुटबलमा कायपलट गरेर छाड्ने बताए।
समितिका सदस्य एवं हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्माछिरिङ शेर्पाले फिफा र एएफसीको विधान भन्दै क्लबलाई तर्साउने काम नगर्न थापालाई आग्रह गरे। 'एन्फाको उपाध्यक्ष समेत रहेका शेर्पाले भने-'२०५९ सालदेखि एन्फामा बसेको हैसियतले मलाई पनि फिफा, एएफसी र एन्फाको विधान मलाई पनि थाहा छ।
हामीले भित्रै बसेर पनि एन्फाको अनियमितताका विषयमा लड्यौं। राम्रो काम र उत्कृष्ट विधान बनाउने काम पनि गर्यौं। तर एन्फा नेतृत्व अधिनायकवादी ढंगले चल्दै गयो। बारम्बार आवाज उठाउँदा पनि अध्यक्ष थापा सुध्रिएनन्। उनी अझै पनि कानुनभन्दा आफू माथि रहेको व्यवहार देखाइरहेका छन्', शेर्पाले भने।
आफूहरूको आन्दोलन नेपाली फुटबलको विकासका लागि भएकाले एन्फाले चार क्लबलाई दिएको दुईहप्ते अल्टिमेटमका बारेका क्लबहरूले बेवास्ता गरेको समेत शेर्पाले बताए। लेखा समिति, अख्तियार, खेलकुद मन्त्रालय जस्ता निकायले आर्थिक अनियमितता विषयमा गरिरहेको छानबिन र निर्देशनलाई समेत थापाले अवज्ञा गरेको आरोप शेर्पाले लगाए।
फ्रेन्ड्स क्लबका अध्यक्ष रत्नशमसेर राणाले अदालतमा विचाराधीन रहेको मुद्दालाई फ्रेन्ड्सले कुनै पनि हालतमा फिर्ता नलिने बताए। 'नेपालमा बस्ने कुनै पनि नागरिक देशको कानुनभन्दा माथि रहन सक्दैन। तर एन्फाका अध्यक्ष थापाले फिफा र एएफसीको हवाला दिँदै अनौठो वितण्डा मचाएका छन्', राणाले भने। ए डिभिजन लिगका क्रममा अन्याय भएको भन्दै फ्रेन्ड्स क्लबले एन्फाविरुद्ध अदालतमा रिट दायर गरेको थियो। फ्रेन्ड्सको कार्यलाई एन्फाले फिफा र एन्फाको विधान विपरीत कार्य भएको भन्दै तीन साताभित्र फिर्ता लिन हालैमात्र आग्रह गरेको थियो।
एन्फा नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै हिमालयन शेर्पा, सरस्वती, मच्छिन्द्र र फ्रेन्ड्स क्लबका प्रतिनिधिले केही समयअघि क्लब समन्वय समिति गठन गरेका थिए। पत्रकार सम्मेलनमा राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक कृष्ण थापा, युवा प्रशिक्षक टोलीका सदस्य चेतनारायण श्रेष्ठ, आरसीटी, स्वयम्भू, ब्वाइज युनियन, युनाइटेड लगायत क्लबले समेत समन्वय समितिको कार्यक्रममा ऐक्यबद्धता जनाएका थिए।
समितिले क्लबको आत्मनिर्भरताका लागि दीर्घकालीन नीति बनाउन, लिग फुटबललाई व्यवस्थित र राउन्ड रोविनको आधारमा खेलाउन, क्लबहरूलाई तयारी खर्च २० लाखदेखि २ करोड १५ लाख बनाउन, क्लबलाई प्रशिक्षणका लागि मैदान उपलब्ध गराउन, प्रायोजनका लागि छुट्टै राष्ट्रिय नीति बनाउन, एजेन्डासहितको मिटिङ गर्न, अदातलको मर्यादा बाहिर रहेर धम्की र कारबाहीको चेतावनी नदिन लगायत १२ वटा माग मसेत गरेका थिए।
Comments
Post a Comment